शनिबार, आश्विन १७ गते २०८३

बिउ राेपेपछि केही बर्षसम्म फल्ने सदाबहार धानकाे खेती चीनमा शुरू

मंसिर २५, २०७९ आइतबार
बिउ राेपेपछि केही बर्षसम्म फल्ने सदाबहार धानकाे खेती  चीनमा शुरू

काठमाडौं । यतिबेला चीनमा हजारौं किसानहरुले नयाँ प्रकारकाे धान लगाउन शुरु गरेका छन् । यसले चीनमा पुराना वैज्ञानिकहरूको सपना साकार पारिदिएको जनाइएकाे छ । यो एक सदाबहार प्रकृतिकाे बिशेष धान हो । यसलाई हरेक सिजनमा लगाउनु पर्दैन । माटोमा रहेका पुराना जराबाटै वर्षौसम्म वर्ष धान फलिरहन्छ । गज्जबकै जातकाे धान छ याे ।

जनबादी गणातन्त्र चीनकाे कुनमिङस्थित युनान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले यस्ताे प्रकारकाे धान उमार्न दुई दशकभन्दा बढी समयसम्म काम गरेका थिए । यसबारेकाे सफल कथा  नेचर सस्टेनबिलिटी जर्नलमा सार्वजनिक गरिएको छ ।

अर्काे महत्वकाे कुरा के छ भने  यो सदाबहार धानका लागि खासै धेरै मेहनत गर्नु नपर्ने जनाइएकाे छ । यसले सोही परिमाणमा धान उत्पादन गर्न कृषकहरूले गर्नुपर्ने मेहनतलाई पनि नाटकीय ढंगले घटाउँछ । धानको वर्षौ पुराना जराको वातावरणीय लाभ पनि छ । तर यो लाभ पूष्टि गर्न वैज्ञानिकहरुलाई थप डेटा चाहिनेछ । 

वास्तवमा नै याे साच्चै एउटा ठूला चमत्कारिक विषय भएको अमेरिकाकाे इलिनोइस विश्वविद्यालयका वनस्पति अनुवांशिकीविद् एरिक स्याक्सले बताएका छन् । यसले हाम्रो कृषिसम्बन्धी परम्परागत सोचाईको नै बदलिने उनको भनाई छ । नयाँ अध्ययनमा स्याक्सले चिनियाँ वैज्ञानिकहरुसँग सहकार्य गरेका थिए । स्याक्स समेत केही वैज्ञानिहरुले यसले कृषि क्षेत्रको भावी परिदृश्यलाई परिवर्तन गर्ने सदाबहार धान बालीको कल्पना साकार पार्ने आशा गरिएको छ ।

यसकाे अर्काे बिशेषाता के पनि छ भने यसले कमजोर माटोलाई जोगाएर राख्ने छ र प्राकृतिक पर्यावरणलाई पनि समृद्ध बनाउनेछ । तर गहुँ र मकै जस्ता अन्य प्रमुख अन्न बालीमा यो सफलता दोहो¥याउन सकिनेमा भने अन्य केही वैज्ञानिकहरुले शंका व्यक्त गरेका छन् ।

यस प्रकारकाे सदाबहार धानकाे सम्बन्धमा चिनियाँ वैज्ञानिकहरुले सन् १९७० को दशकमै विकास गर्न खोजेका थिए । तर उनीहरु त्यतिबेला असफल भए । क्रस पोलिनेशन गरेर उनीहरुले सन् १९९६ मा महत्वपूर्ण ‘ब्रेक थ्रु’ भने  हासिल गरेका थिए । तर त्याे धानकाे बिउ जोगिएन ।

ती वैज्ञानिकहरुले यसबाट नयाँ हाइब्रिड धानको बोट उमार्न टिस्यु कल्चर नामक प्रयोगशाला विधिको प्रयोग गरे । यो धानको बोटमा स्थायी भएर लामो समयसम्म बाँच्ने जरा थियो । तर यसलाई अन्य धानको बोटसँग क्रसब्रेड पनि गर्न सकिन्थ्यो ।

चीनकाे युनान विश्वविद्यालयका अनुसन्धान समूहका नेता शिलाई चाङ र उनका  सहकर्मीहरुले हाइब्रिडाइजेशनबाट धानका हजारौं बिउ निकाले । उच्च गुणस्रोतको पर्याप्त धान फलाउन सकिने सदाबाहार धानको बिउ निकाल्ने कोशिश गरे । यस क्रममा उनीहरु पटक पटक असफल भए । वैज्ञानिहरुले धान नभएर झार मात्रै रोपिरहेको हो कि भनेर स्थानीय किसानहरुले सोच्न समेत थालिसकेका थिए ।

तर चार बर्ष अघि सन् २०१८ मा अन्ततः सदाबहार धानको प्रजाति हात पर्यो । यसलाई चीनका किसानहरुमाझ बाँडियो । अन्य जातका धान चाँहि २ वर्षपछि बजारमा गए । अनुसन्धाताहरूका अनुसार सन् २०२० यता झन्डै ११ हजार साना किसानहरूले ९ हजार एकड क्षेत्रफलमा सदाबहार धान रोपेका छन् । एक वर्षपछि नयाँ जातको धान लगाउने किसानको संख्या चौब्बर भयो अनि धान खेति गरिएको क्षेत्र  बढेर ३८ हजार एकडमा पुग्यो ।

बैज्ञानिक चाङका अनुसार कम मिहेनत लाग्ने भएकोले कयौं किसानहरू सदाबहार धान खेतिप्रति आकर्षित भएका छन् । चीनको केही धान उत्पादन गर्ने क्षेत्रमा युवाहरू धान खेतिबाट टाढिरहेका छन् । बाँकी सबै किसान बुढा छन् । सदाबहार धान खेतीले उनीहरुलाई धान खेतिका लागि गर्नु पर्ने मेहनत घटाउन अनुमति दिएको छ ।

हरेक वर्ष धानको ब्याड राख्ने, बिउ खेतमा लगाउनु पर्ने झन्झट र यसको लागि गर्नु पर्ने खर्च घटेको छ । यसले धान खेति गर्ने खर्च आधा कम गर्ने युनान विश्वविद्यालयका अनुसन्धाताहरु बताउँछन् ।

तर नयाँ धानले सधैं पर्याप्त उत्पादन भने नगर्ने देखिएको छ । खेतमा गरिएको परीक्षणहरुमा धान फल्न थालेको चार वर्षपछि उत्पादन घट्न शुरु हुने पाइएको छ । यो भनेको आठ सिजनको धान खेति हो । अर्थात् हरेक ४–४ वर्षमा भने किसानहरुले धानको बिउ फेरि लगाउनु पर्ने हुन्छ ।

चीनको कूल धान खेतिमा सदाबहार धान खेतिको हिस्सा गन्नै नसक्ने गरी कम छ । यसको खेति कति व्यापक होला भनेर अहिले नै अनुमान गर्नु अति नै छिटो हुने चाङको भनाइ छ । पानी टन्नै भएको ठाउँमा यो सजिलो फल्छ । कम पानी भएको ठाउँमा पनि यो बच्छ । तर हिउँ नै जम्ने चिसोमा भने यी धानका बोट बाँच्दैनन् । सिँचाई कम भएका पहाडी क्षेत्रका लागि यो सबैभन्दा ठूलो वातावरणीय वरदान हुन सक्छ । – एजेन्सीहरुको सहयोगमा