शनिबार, आश्विन १७ गते २०८३

निर्जीवन बीमा व्यवसाय संकुचनमा, अटोमोबाइल लोन प्रवाह नहुँदा असर

मंसिर २०, २०७९ मंगलबार
निर्जीवन बीमा व्यवसाय संकुचनमा, अटोमोबाइल लोन प्रवाह नहुँदा असर

 

आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा निर्जीवन बीमा व्यवसायमा संकुचनमा गएको छ । बैंकिङ कर्जा प्रवाहमा ह्रासले समग्र अर्थतन्त्र संकुचनमा गएकोले त्यसको प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो । पछिल्ला तथ्याङ्क अनुसार अटाेमाेबाइल बजारमा ७८ प्रतिशतसम्मले माग घटेको छ भने स्टिलको माग ६१ प्रतिशत घटेको छ ।

निर्जीवन बीमा कम्पनीको बजार प्रमुख रूपमा अटोमोबाइल बिजनेसमा आश्रित छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चय घट्न नदिन सवारी आयातमा कडाइ गरेकाले याे व्यवसाय स्थिर बनेकाे छ । अटो मोबाइलकाे मागमा भारी गिरावट आउँदा प्रत्यक्ष असर बीमा कम्पनीमा पर्छ । अर्को तर्फ बैंकले कर्जा प्रवाह नगर्दा आवासिय घर तथा अपार्टमेन्टको निर्माण ठप्प छ । जसले गर्दा स्टिल सिमेन्टको मागमा पनि गिरावट आएको छ । बैंकहरुले घर कर्जा प्रवाह गर्दा घरको अनिवार्य बीमा गराउने गर्दछन् । 

यी कारणहरूले चालु आर्थिक वर्षका लागि २५ प्रतिशत वृद्धिको लक्ष्य राखेका कम्पनीहरुको वृद्धिदर ५ प्रतिशत आसपास मात्र रहेको छ । अघिल्लो आर्थिक वर्षको कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीले २ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यस वर्षको कार्तिकमा २ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीहरूले गएकाे असोजमा ३ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।