
चन्द्रमणि गौतम
देश–विदेशबाट श्रोताहरूले पठाएका गीतको फर्माइस हेर्दा नारायण गोपाल अत्यन्त लोकप्रिय गायक भएको स्वतः बुझिन्थ्यो । त्यसमाथि उनलाई आजको प्रख्यातीमा पुर्याउनमा प्राध्यापक/लेखक/पत्रकार मित्र श्री पुरुषोत्तम दाहाल र उहाँको टीमले २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना सँगै रेडियो नेपालबाट साँझ ७.२० बजेतिर प्रसारित गर्ने (हालसम्म चालु) कार्यक्रम ‘घटना र विचार’ को अद्वितीय भूमिका रह्यो । उनी बिमारी भएर अस्पताल भर्ना भएदेखि नै सो कार्यक्रबाट दिनहुँजसो उनको स्वास्थ्यस्थितिबारे जानकारी दिईन्थ्यो । त्यसबखत ‘घटना र विचार’ को लोकप्रियता नेपालभित्रमात्र नभई भारत, सिक्किम, भूटान, बर्मालगायतका नेपाली समुदायमा व्यापक थियो । रेडियो प्रशारण सुनेदेखि नै दार्जिलिङ् र सिक्किमतिरका धेरै नेपाली काठमाडौं आए । शवयात्रामा दार्जिलिङ्बाट आएको ठूलो समुहमध्ये एउटा ग्रुपले बोकेको प्लाकार्डमा लेखिएको थियो, ‘स्वर सम्राट नारायण गोपाल, तिमी नेपालमात्र होइन सम्पूर्ण नेपाली जातीका तानसेन हौ ! दार्जिलिङ् श्रद्धाञ्जली दिन्छ !’ ससुराली गाउँ परेकोले पनि हो कि !
** **
प्रज्ञा भवनबाट करिब १ बजेतिर शव उठाएपछि शबको मुनि राखिएका ईंटा एक भलाद्मीले रुँदै बटुल्नथाले । किन रहेछ भनी बुझ्दा नारायण गोपालको नाममा अर्केस्ट्रा बनाउने र संगीत कोष, इन्स्टिच्यूट, पुरस्कार गुठी जस्ता काम गर्ने भवन बनाउन तिनै ईंटाद्वारा शिलान्यासको लागि भन्ने उत्तर आयो । ती व्यक्ति थिए बसन्त चौधरी । नारायण गोपालको उपचारमा पनि उनले धेरै रकम सहज हार्दिकताका साथ खर्च गरेका रहेछन् । २०४५ सालतिर प्रज्ञा भवनमा आयोजित ‘संगीत साँझ’ को आयोजनामा पनि बसन्त चौधरीको योगदान थियो, जसलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको प्रबन्ध मिलाए, नारायण गोपालका मित्र टीभीका कार्यकारी अध्यक्ष नीर शाहले । मैले देखेको उनको यो नै पहिलो र अन्तिम ‘संगीत साँझ’ थियो ।
** **
बडोदा (भारत) मा संगीत पढ्दैरहेको अवस्थामा नारायण गोपालले, दार्जिलिङ् की आफ्नी पत्रमित्र (शिक्षिका) पेमालासँग बिहे गर्दा लमी भईदिए, उनले 'मितज्यू' भन्ने गरेका संगीतकार गोपाल योञ्जन र उनका दाजु कर्मा गोपाल योञ्जन। नारायण गोपाल दार्जिलिङ जाँदा बस्ने गरेको घर पनि योञ्जन निवास नै रहेछ । पहिलो भेट कुनै पार्कमा गराईदिएर एकान्तमा छोडिदिए पछि योञ्जन दाजुभाइले रुखको बुटामा छलिएर दुवैको प्रेमालाप सुनेछन्, "कस्तो रीस उठ्यो भने के....!" भन्दै नारारान् दाई फिस्स हाँसेको सम्झन्छु। बिहेमा मदनमणि दीक्षितको दामी क्यामेरा छोरा विनोद दाईले नारायण गोपाललाई दिएको, तर बिहेमै हराएको कुरा पनि सुनाउँथे, "तर बुढो (मदनमणि) ले उस्तो नराम्रो मानेन ।"
** **
नारायण गोपाल जति राम्रो स्वरका धनि थिए, उनको स्वभाव त्यस्तै घमण्डी, सन्काहा, स्वेच्छाचारी खालको थियो । उनको लामो मित्रता कायम रहेको कमैमात्र होला । रत्न शम्शेर थापा, गोपाल योञ्जन, तारा देवी लगायतका धेरै सँग उनको असमझ्दारी र सम्पर्क टुटेको अवस्था थियो ।
** **
आठवटा गीतको सेट ‘गीती यात्रा–१’ मा रानी ऐश्वर्यको रचना, ‘एउटा मान्छेको मायाले कति.......’ गाएपछि उनलाई दरबारबाट प्रधानमन्त्री मरिचमान मार्फत कदरको व्यवहार हुनथालेको हो । उनले सो गीतमा धेरै गम्भीर मिहिनेत गरेको देखेर दीपक जङ्गम तीन छक्क परेको बताउँछन् । ऐश्वर्यद्वारा रचित उक्त गीतमात्र उनले रेडियो नेपाललाई ‘बजाएर तैं खा’ भनी दिएका रे ! रेडियो नेपालले ‘गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला....’ जस्ता उनका कतिपय गीत प्रशारणमा प्रतिबन्ध लगाएको थियो । उनी पनि रेडियो नेपालसँग निकै रिसाएको कुरा गर्थे । उनी जँड्याहादेखि माग्ने (भीखारी) सम्म सबैका भावना समेट्ने गीत गाउन चाहन्थे । गीतहरू त्यस्तै (सबै समुदायलाई समेट्ने खालका) नै छन् ।
** **
नारायण गोपाल गायकमात्र होइन, राम्रा संगीतकार पनि थिए । बम्बै जाँदा उनले त्यहाँ गरेको रियाजमा स्वर–प्रतिभा सुनेर आसा भोंसले आश्चर्यचकित भएको कुरा सिनेमा निर्माता (राष्ट्रिय खेलकुद परिषद् मा सदस्यसचिव र आफ्नै थाङ्का आर्ट व्यवसाय पनि) युवराज लामाले बताएका थिए। त्यो बाहेक इतिहासका ज्ञाता, साहित्यका अनुरागी, चेस खेल्न रुचि राख्ने गर्दथे । अघिपछि बोल्दा उच्चारणमा नेवार भाषाको प्रभाव आउँथ्यो, तर गाएको बेलामा त्यसको छनक समेत पर्दैनथ्यो । उनको पालामा सांस्कृतिक संस्थानको ‘बागिना’ (वाद्य, गीत, नाच) पत्रिका प्रकाशित हुनेगरेको थियो ।
** **
नारायण गोपाललाई स्वर–सम्राट भन्ने उपाधि सुनेपछि ०४७ तिरै ने.क.पा. (एमाले) ले पनि जे.बी. टुहुरेलाई धेरै दिनसम्म ‘स्वर सम्राट’ भन्ने देखासिकी चलायो । तर कम्युनिस्ट पार्टीमा को हुन्छ सम्राट भनेर उल्लीबिल्ली पारेपछि त्यो काम हरायो । नारायण गोपाललाई कसैले स्वर–सम्राट माने पनि आपत्ती छैन, तर म स्वर–सम्राट भन्दिनँ । तर कसैकसैले त उनको नाम भन्दा पनि ज्यादा वाक्यैपिच्छे ‘स्वरसम्राट का स्वरसम्राट’ भन्याभन्यै गरेर साह्रै कुरीकुरी लगाउँछन्, यो चाहिँ मलाई पनि बड्तै लाग्छ ।
साभार : गाैतमजीकाे मुहार पुस्तिका