नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार २०७९ असोज २३ देखि असोज २९सम्म ५७ शहरका ६० बजार क्षेत्रका २०४० व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो ।
सर्वेक्षणमा सहभागी ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने बताएका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको छ । खाद्य र खाद्य वस्तुको सबै उपसमूह;, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह; तथा घरजग्गा (आवास)समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ ।
खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार,२०७९ को तुलनामा केही घटेको छ ।
तीन महिना पछिको मध्य र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० ,प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन। नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिन्छ ।