
लाेकनारायण सुबेदी
देशमा संघीय संसद र प्रदेश सभाको दोश्रो निर्वाचनको कर्मकाण्ड सकिएको छ । केही ठाउँमा पुनः निर्वाचन गराउन पर्ने स्थिति आएकोले निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कुनै दलले पनि बहुमतको सरकार बनाउन नसक्ने स्थिति भने प्रष्ट भइसकेको छ । चुनावी गठबन्धन र प्रतिगठबन्धनप्रति जनताको यो बिकर्षण र केही नबोदित दलहरुको अप्रत्याशित लाग्ने उदय समेतले आउँदा दिनमा देशको राजनीति कसरी चल्छ भन्ने संकेत दिन्छ र पूर्र्वानुमान गर्न आधार प्रदान गर्दछ ।
यसबीच निर्वाचनको परिणाम आइनसक्दै बिभिन्न शक्ति राष्ट्रका राजदूतहरुको नेपालमा बढ्दो सक्रियता र चासो देखिनाले पनि देशको अबको राजनीति कसरी तरंगित हुन गइरहेको छ भन्ने दर्शाउँदछ । खाशगरी भारतीय राजदूत नवीन श्रीबास्तवको नेपालका बिभिन्न किसिमले चर्चित तुल्याइने गरेका तथा सरकार चलाइसकेका र चलाइरहेका नेताहरुसँगको सक्रिय भेटघाटले नेपाली राजनीतिमा बढ्दो बाह्य प्रभाव र दबावको हिजोदेखिकै निरन्तरतालाई आज पनि थप गति दिइरहेको देखिन्छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीबास्तवले गएको २५ जूनका दिन नेपालमा आफ्नो कार्यभार सम्हालेका थिए । भारतले उनलाई चीनियाँ कूटनीतिको नाडी छाम्न सक्ने मान्दछ र नेपालमा चीनको प्रभाव कम गराउन उनले भूमिका खेल्नसक्ने खेलाडि ठान्दछ । उनी भारतका लागि अमेरिकाको वाशिङ्गटन डीसीदेखि यता पूर्र्वमा कम्योडियाको न्होम्पेन तथा चीनको शंघाईसम्म भारतको कूटनीतिक जिम्मेवारीको भूमिका सफलताकासाथ सम्हालेका परराष्ट्र प्रतिनिधि मानिन्छन् । उनले गर्दा नंै नेपालका लागि चीनीयाँ राजदूत हउ याञ्छीको काठमाण्डौं प्रभाव निष्कृय तुल्याएकोसमेत भारतीय विश्लेषहरु उल्लेख गर्ने गर्दछन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीबिका सम्वन्धि देश र जनताले लामो समयदेखि खेप्दै र व्यहोर्दै आएका समस्या जसमा हाम्रो देशमा मूलतः किसान वर्गका बिभिन्न तह र तप्काका राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक समस्या पर्दछन् तिनको निराकरण गर्नु जरुरी छ । यी कुराहरुलाई छोडेर पराश्रितरुपमा गरिने बिकल्पको कुरा एउटा खोक्रो र अव्यवहारिक कुरा मात्र भएर रहन्छ भन्ने कुरा अहिलसम्मको इतिहास र अनुभवले प्रष्ट पारिसकेको र पारिरहेको छ ।
नेपालमा सम्पन्न संघीय संसदको चुनावमा दृष्य अदृष्य हिन्द–अमेरिकी प्रभाव रहेको र मूलतः परिणाम त्यसै अनुकूल आएको पनि एकथरी विश्लेषकहरुको निश्कर्ष छ । हुन पनि नेपालका अमेरिका र भारतसँग सम्वन्धित गम्भीर महत्वका विषयहरु मूलधारका सत्ताधारी प्रतिपक्षी दलहरु र तिनका सहयोगी दलहरुले यो चुनावका बेला उठाएनन् र कताकति उठाएको भए पनि खसै महत्व दिएनन् । त्यसले गर्दा पनि चुनावमा बाह्य प्रभाव र त्यसको परिणाम प्रभावित भएर आएको अर्थ निकालिँदैछ । नेपालको राजनीतिमा अस्थिरता, अन्यौल र अनिश्चयका लागि जुन जुन भित्री र बाहिरी कारक तत्वहरु छन् तिनको निराकरणका कुरा चुनावका बेला नउठ्दा त्यसले चालु यथास्थितिकै पक्षपोषण गर्दछ र जसले जिते पनि हुने केही पनि होइन भन्न निश्कर्षका लागि आधार प्रदान गर्दछ ।
विश्वमा आजको चौतर्फी फैलँदो चीनको अत्यन्तै बिस्मयकारी विकासको शक्तिले गम्भीर महत्वको प्रभाव पाररहेको छ भने नेपाल लगायत यसका वरिपरीका छिमेकी देशहरुलाई पनि चीनको यस्तो प्रभावले अछुतो राख्ने कुरा भएन । यसै कुरालाई मध्यनजरमा राखेर यतिबेला पश्चिमा–हिन्द शक्तिहरु नेपालमाथिको प्रभावलाई अझ बढाउन र चीनसँग अर्थ–राजनीतिक कूटनीति लगायतका लडाई लडाउन र बढाउन चाहन्छन् ।
यतिबेला नेपाल बाह्य शक्तिको अखडा बन्न गइरहेको परिप्रेक्ष नै यही हो । यसलाई नेपालले आफ्नो राष्ट्रिय हितमा स्वाधीन किसिमले सदुपयोग गर्न सक्ने स्थिति पनि बन्न सकेको छैन । फलतः अरुको अखडा बन्ने र तिनकै आधारमा चल्ने वातावरणलाई निम्ता दिइने कुरा निश्चित प्रायः छ । पछिल्लो समयमा परराष्ट्र सम्वन्धमा आएको बिचलनले पनि यही वास्तबिकतालाई खुलाशा गर्दछ ।
विकसित हुँदै गएको यस प्रकारको बाह्य र आन्तरिक बस्तुस्थितिले नेपालको स्वाधीनता, राष्ट्रियता, आत्मनिर्भरता, सुशासन, सबै कुरा प्रभावित हुने र अझ अप्ठ्यारोमा पर्ने खतराको सम्मुखमा देश पुगिसकेको छ । यस्तो अवस्थामा बन्ने कुनै पनि प्रकारको कमजोर गठबन्धन सरकारले नेपाली समाजको विकास र प्रगतिका लागि स्थिरता, राजनैतिक स्थायित्व तथा मुलुकलाई सही दिशा र गति दिन सक्ने झिनो आशा पनि गर्न सकिने ठाउँ बन्दैन र रहँदैन । अनि जनतामा असन्तुष्टी, रोष र अराजकता बढ्ने र फैलने खतरा उत्पन्न हुनु अनिवार्य छ । यस्तो अवस्थामा सही बिकल्पको विकास हुन सकेन भने देश र जनताले झन बढी कठिनाई र अनिश्चितताको सामना गर्नु पर्ने हुन्छ ।
त्यसैले बिगतदेखिका राष्ट्र र जनताका समाधानबिहीन भएर रहेका समस्याहरुको सही समाधान दिने तत्त्कालीन र दीर्घकालीन सही नीति र कार्यक्रमकासाथ बिकल्पको खोजी गरिनु अत्यावश्यक छ । केही मानिसहरुका अनुहार फेरेर समस्याको समाधान हुनेवाला छैन ।
यसर्थ, राष्ट्रियता, जनतन्त्र र जनजीबिका सम्वन्धि देश र जनताले लामो समयदेखि खेप्दै र व्यहोर्दै आएका समस्या जसमा हाम्रो देशमा मूलतः किसान वर्गका बिभिन्न तह र तप्काका राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक समस्या पर्दछन् तिनको निराकरण गर्नु जरुरी छ । यी कुराहरुलाई छोडेर पराश्रितरुपमा गरिने बिकल्पको कुरा एउटा खोक्रो र अव्यवहारिक कुरा मात्र भएर रहन्छ भन्ने कुरा अहिलसम्मको इतिहास र अनुभवले प्रष्ट पारिसकेको र पारिरहेको छ ।
