नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो।
दुवै विधिबाट कुल १५ हजार ८०८ नमुना परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो। कुल परीक्षणमध्ये २४ प्रतिशत नतिजा पोजिटिभ देखिएका छन् ।
यस्तै गत २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् ।
काठमाडौं उपत्यकामा मात्र ८५९ जना संक्रमति थपिएकामा भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जना संक्रमित थपिएका हुन्।
प्रादेशिक स्तरमा गण्डकी प्रदेशमा संक्रमणदर उच्च देखिएको छ । कुल परीक्षणमध्ये ६२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। प्रदेश नं १ मा पनि संक्रमणको संख्या उच्च रहेको छ ।
त्यहाँ कुल परीक्षणको २७ दशमलब ०५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।
सक्रिय कोरोना संक्रमितको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ। सक्रिय संक्रमित मध्ये हाल होम आइसोलेसनमा २६ हजार ६५२ जना र संस्थागत आइसोलेसनमा २ हजार ७९२ जना गरी देशभर २९ हजार ४४४ जना रहेका छन्।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहेका मध्ये ६११ जना आइसीयू र १६८ जना भेन्टिलेटर र क्वारेन्टाइनमा ३४९ जना रहेका छन्।
पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएकाले कोरोना नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्नु आवश्यक रहेको डा अधिकारीको भनाइ छ।