शनिबार, आश्विन १७ गते २०८३

पुराना निष्ठाबान र जाेधाहा याेध्दा कमरेड हर्ष स्याङ्बाे रहनु भएन

मंसिर ८, २०७९ बिहीबार
पुराना निष्ठाबान र जाेधाहा याेध्दा कमरेड हर्ष स्याङ्बाे रहनु भएन

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा पहिले नै कमरेड पुष्पलालसँग भेटेका र नेपाल कम्युनिष्ट पार्टी गठन गर्न सँगसँगै काम गरेका एक त्यागी जोधाहा योद्धा तथा अनबरत संघर्षशील कमरेड हर्ष स्यांबोको आज ९६ बर्षको उमेरमा सुकुम्बासी टोल मनोहरामा निधन भएकाे छ। उहाँ यही मंसिर १७ गते ९७ बर्ष लाग्दै हुनुहुन्थ्यो । अध्ययनशील र कबि समेत रहनु भएका कमरेड स्यांबो बर्तमान बिकृत बनेको नेपालको कम्युनिष्ट आन्दोलन देखेर आत्मग्लानी र पीडा अनुभव गर्नु हुन्थ्यो ।

Syanbo.jpg

ब्यक्तिगत पूँजी जाेड्ने र बैभव र बिलाशकाे बाटाे राेज्ने बर्तमान नेपालका कथित कम्युनिष्ट नेतृत्वकाे चाला देखेर पीडाकाे अनुभव गर्ने ती महान याेध्दा स्यांबाेकाे धर्म पत्नी बिद्या भाउजु पनि कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहेकाेमा उहाँ बडाे गाैरब मान्नु हुन्थ्याे । 

कम्युनिष्ट चरित्र र स्वाभीमानप्रति ब्यवहारतः निष्ठाबान कमरेड हर्ष सादा जीवन र उच्च बिचारकाे अभेद्य प्रतिमूर्ति हुनुहुन्थ्याे । उहाँ भक्तपुर मनाेहरा फाँटकाे एक सुकुम्बासी टाेलमा सानाे झाेपडीमा अन्तिम जीवन गुजार्दै हुनुहुन्थ्याे ।

उहासँग अक्टोबर क्रान्तिको शतबर्षिकीको बेला १९१७ मा भेट हुँदा  नेपालपत्र न्यूजडटकमका प्रधान सम्पादकसँग संक्षिप्त कुराकानी गर्दै नेपालको कम्युनिष्ट आन्दोलन लिकमा रहेन । कमरेड पुष्पलाल मात्र देश र जनताप्रति एक समर्पित नेता र योद्धा हुनुहुन्थ्यो भनेर उहाँले कमरेड पुष्पलालकाे सम्झना गर्नु भएको थियो ।

यो संसारबाट बिदा लिनु भएका कमरेड स्यांबोप्रति उच्च सम्मानकासाथ लाल सलाम तथा अलबिदा ! तपाईको श्रमशील र स्वाभीमानी संघर्षमय जीवन यात्रालाई बिर्सने छैनौं । अनि उहाँकी एक मात्र छोरीमा यस शोकको घडीमा गहिरो समबेदना प्रकट गर्दछाैं ।