आज सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत गणना भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । याे प्रारम्भिक डाटा भएकाेले पूर्ण जानकारी आएसम्म केही प्रतिशत थप हुने आयाेगले जनाएकाे छ । सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । निर्वाचन सम्पन्न भएपछि साँझ ७:४५ बजे पत्रकार सम्मेलन गर्दै ४ जिल्लाका १५ वटा मतदान केन्द्रमा स्थगित हुन पुगेकाे प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जनाए । सकेसम्म २ दिन भित्र स्थगित भएका स्थानमा मतदान गर्ने वातावरण मिलाईने उनले जनाए । केही मतदानस्थलमा प्रतक्ष्य र समानुपातिक मतपत्र मतपेटिकामा खसाल्दा मिसिएकाे सुचना आएकाे भन्दा थपलियाले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरि गणनाक्रममा छुट्टाइने र सम्बन्धित मतमा नै गणना गरिने बताए । मतपेटिका ढुवानी भइरहेकाेले काठमाडाैमा आजैबाट गणना शुरु गर्ने सम्भावना रहेकाे प्रमुख थपलियाले जनाए । बाजुरा जिल्लामा निर्वाचनका क्रममा झडप हुँदा सुरक्षाकर्मीले चलाएकाे गाेली लागि एकजनाकाे निधन भएकाे र केही घाइते भएकाे जानकारी दिइयाे ।