विप्रेषण आप्रवाहमा १६.८ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा कुल विप्रेषण आप्रवाह रु.२८१ अर्ब ५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय जानकारीका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।
२०७९ साउन देखि अशोज मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भइ १,४७,९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु.३१० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा चालु खाता रु.३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई रु.२ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ ।