
इन्द्रनारायण सुबेदी
(तोटक छन्द)
-------------------------------------------------------------
बस मौन विधायकका गण हो
डस गोमनका विषका फण हो
पुज, मालिकको बन दास तिमी
हुन सालिक पत्थर लास तिमी।१।
गतिहीन असक्षम नायक हौ
मतिहीन अदक्ष विधायक हौ
जनतासँग दूर भएर बस
मुख फोर्नु हुँदैन पिएर रस।२।
जति घातक निर्णय गर्नु परोस्
जति नीच बनी तल झर्नु परोस्
बन लाज विहीन र नग्न तिमी
च्युत नैतिक बन्धन भग्न तिमी।३।
पद लायक हैन परन्तु तिमी
बन राक्षस हिंसक जन्तु तिमी
बुझ मालिकको मन तेल घस
अनि आसनमाथि जमेर बस।४।
नरहे पनि देश रहन्छ धन
किन लाउनु अन्त लगेर मन
बन नित्य उपासक दुश्मनको
चुस मूल नशा सब निर्धनको।६।
जनशक्ति विदेश गएर बिकोस्
रचनात्मक कार्य यहाँ नसिकोस्
हरिलट्ठक मात्र बसून् घरमा
अनि हुन्छ रजाइँ यहाँ तरमा।७।
जब नाटक हुन्छ चुनाव हुने
जनमानसको मत त्यो दुहुने
तब भोज भतेर विशाल कि त:
छलछाम गरेर चुनाव जित।८।
जनता अति दीन दरिद्र बनून्
घरभित्र अवाञ्छित छिद्र बनून्
त्यस निम्ति विषाद नराख तिमी
बरु बन्धक राख लगेर जिमी।९।
अति जीर्ण हुँदैछ पुरानु थलो
रहँदैन कि लाग्छ किलो र बलो
जति सांसदको पद टिक्छ यहाँ
उति देश दुही रस झिक्छ यहाँ ।१०।