शनिबार, आश्विन १७ गते २०८३

शाश्वत सत्य

कार्तिक २८, २०७९ सोमबार
शाश्वत सत्य
Xi-Biden.jpg
इन्द्रनारायण सुबेदी
(शार्दूलविक्रीडित)
================================
नेताकापछि लाग्न मानिस निकै घट्दै गएको बुझेँ
नेता होइन पातकी असुर ती एक्लै भएको बुझेँँ
बाटामा अनुहार हेर्न तिनको मान्दैन कोही अब
हुन् यी देश बनाउने घरमुली ठान्दैन कोही अब ।१।
 
कत्रो पेट छ निल्दछन् मुलुकका खोला नदी पर्वत
हुन् यी नग्न चरित्रहीन भतुवा आएर माग्छन् मत
लज्जा बोध हुँदैन हुन् नकचरा पस्रेर गोडामनि
माग्छन् भोट गरी अनेक नखरा झन् सन्त जस्तै बनी ।२।
 
छिट्टै घुम्दछ पाँच वर्ष यिनले सिन्को नभाँचे पनि
बेची नैतिकता लुटेर दुनियाँ निर्लज्ज नाचे पनि
ढ्याङ्ग्रो बज्छ चुनाव आइरहँदा घुम्छन् मगन्ते बनी
छानिन्छन् छलछामबाट जनता ढाँटी फकाई पनि ।३।
 
खुल्छन् कर्तुत एक एक र सबै निर्बाङ्ग बन्छन् जब
जुम्राले पनि लास छोड्छ जसरी छोड्छन् सबैले तब
हो यो लक्षण भोलि पर्सि कहिले फर्किन्छ त्यस्तो दिन
के त्यस्तो छ दिमागभित्र यिनको फिर्दै नफिर्ने किन ।४।
 
के प्रस्ताव र योजना छ यिनको हुन् मूर्ख ढोँगीहरू
गर्छन् आपस ङार्रङुर्र पदका हुन् लिप्त भोगीहरू
चिन्छौँ फेरि गुलामझैँ अझ तिनै हामी सकार्छौँ किन
अर्को मार्ग नयाँ बनाउन अझै हामी नकार्छौँ किन ।५।
 
यो दासत्व विरुद्ध उठ्न जनता चाहन्छ देऔँ बल
यो निर्वाचन कर्मकाण्ड यिनको हो भित्र छोप्ने खल
जित्तैनन् जनता जनार्दन भने के गर्नु त्यस्तो मत
सारा पद्धतिमा छ खोट त्यसको यो सत्य हो शाश्वत ।६।