शनिबार, आश्विन १७ गते २०८३

डोटीमा लगातार भुकम्प, जनधनको क्षतिसँगै त्रास

कार्तिक २३, २०७९ बुधबार
डोटीमा लगातार भुकम्प, जनधनको क्षतिसँगै त्रास

बुधबार सबेरै २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किदा डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु भएको छ । त्यहाँ ८ घरमा क्षति पुगेको र केहि ठाउँमा पहिराे समेत गएकाे स्थानीयले जनाएका छन् । बझाङ जिल्लामा पनि उक्त भूकम्पका कारण केहि घरहरुमा क्षति पुगेको छ । 

खप्तड राष्ट्रिय निकुञ्ज वरपर केन्द्रबिन्दु बनाएर गएको साे भूकम्प ६.६ रेक्टर स्केल मापन गरिएको छ । त्यस क्षेत्रमा मंगलबार राति पनि दुईवटा कम्पन रेकर्ड गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । पहिले राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्पले धक्का दिएको थियो । ती दूइ कम्पनले कुनै क्षति नभएपनि त्यसपछि बिहान २ बजेर १२ मिनेटमा भएको कम्पनले जनधनको क्षति भएको हो । 

कम्पन सूदुर पश्चिमी जिल्लाहरुका साथै भारतको राजधानी दिल्ली सम्म महशुस गरिएको थियो । भूकम्प मापन केन्द्रले यी कम्पन ७२ साल बैशाख १२ गतेको महाभुकम्पको पराकम्पन भएको र भूकम्पका नयाँ श्रृंखला भएको जनाएको छ । त्यसैगरी बाजुराकाे कान्दामा बिहान ३ बजेर ५८ मिनेटमा ३.९ म्याग्निच्युडकाे भुकम्प गएकाे छ । 

लगातार आइरहेको भूकम्पका कारण स्थानीय बासी त्रसित बनेका छन् । अहिले घटनास्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयको टोली उद्धारमा खटिएका छन् भने राहत सामग्री पु¥याउन शुरु गरिएको छ ।