शुक्रबार, कार्तिक ७ गते २०८३

पर्यटकको अभावले होटल व्यवसाय घाटामा, बैंकको सावाँ ब्याज बुझाउने समय थप्न माग  

कार्तिक १८, २०७९ शुक्रबार
पर्यटकको अभावले होटल व्यवसाय घाटामा, बैंकको सावाँ ब्याज बुझाउने समय थप्न माग  

 

होटल तथा पर्यटन उद्योगमा अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न नसकेको व्यवसायीले बताएका छन्। होटल संघ नेपालद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै संघकी अध्यक्ष सृजना राणाले प्रयाप्त पर्यटक नआउँदा होटल व्यवसाय    दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको बताईन् ।

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो बर्ष ६ लाख पु¥याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको जनाउँदै अध्यक्ष राणाले  व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले  बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता रहेको बताइन् । बैंकको ब्याजदरका कारण देशैभरका होटल व्यवसायीहरु आन्दोलित भइरहेको हुँदा   होटल व्यवसायकोको संरक्षण गर्न गभर्नर  अधिकारी समक्ष उनले आग्रह गरिन् ।

गर्भनर अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै  लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज  तिर्ने  व्यवसायीको  जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने आफुहरुको माग रहेको उनले सुनाईन  । कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरुबाट लागू गरिएको हालको बढ्दो व्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनु पर्ने व्यवसायीको माग रहेकोमा धान्नै नसक्ने गरी अधिक व्याज बढ्ने समाचारले समग्र व्यवसायी त्रसित भई आन्दोलित हुने अवस्थामा पुगेको गुनासो उनको छ ।
 
यता नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले व्यवसायीलाई त्रसित नहुन र यस बारेमा सकारात्मकता प्रस्तुत  हुन आग्रह गर्दै  मौद्रिक नीतिको पुनरावलोकन तथा नीतिगत व्यवस्थापनमार्फत उचित मागहरुको सम्बोधन  गर्ने बताए ।