शनिबार, आश्विन १७ गते २०८३

 परिसंघ अध्यक्ष र आईएमएफ नेपालका प्रतिनिधिबीच भेट, अर्थतन्त्र सुधारका लागि चाल्नु पर्ने कदममा छलफल

कार्तिक १८, २०७९ शुक्रबार
 परिसंघ अध्यक्ष र आईएमएफ नेपालका प्रतिनिधिबीच भेट, अर्थतन्त्र सुधारका लागि चाल्नु पर्ने कदममा छलफल


नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भयो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताए । उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताए । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । एकै पटक सबै सुधारका उपकरणहरु लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा उनको छ ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताए । यद्यपी उहाँले विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको बताए । नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनको भनाई थियो ।