शुक्रबार, कार्तिक ७ गते २०८३

    म कसलाई छानौं ?

कार्तिक १७, २०७९ बिहीबार
    म कसलाई छानौं ?
 
 
 
बलराम तिमल्सिना 
**********
अरे बाबा मलाई चोरी मन पर्दैन
मन पर्दैन भनेपछि पर्दैन पर्दैन
तिमीहरू
चोर छान्ने चुनाव गर्दै छौ
र एउटालाई जसरी पनि छान्नै पर्छ भन्दै छौ
तिमीहरू नै भन
चोरी मन नपर्ने मान्छे म
चोर चै कसरी छानौं ?
चोर छानिने चुनावमा
स्वस्तिक छाप कसरी हानौं ?
मलाई सडेको कुरा मन पर्दैन
सडेको कुरा सडेको दिमागले मात्र छान्छ
तिमी मलाई कर गर्छौ
एउटा सडेकै भए पनि छान कि छान भन्छौ
जसरी भए पनि छाप हान कि हान भन्छौ
तिम्रा कुरा कसरी मानौं ?
सडेको माललाई
अमृत हो भनेर छाप कसरी हानौं ?
लुटेरै लुटेराको भिडमा
डाकै डाकाको बगालमा
भ्रष्टै भ्रष्टको जमातमा
तिमी मलाई कुनै एउटा छान्न भन्छौ
त्यस्तो छनौटलाई उत्सव मान्न भन्छौ
आँखा चिम्लेर छाप हान्न भन्छौ
मलाई
लुटेराहरूबाट कुनै लुटेरा छान्नु छैन
डाकालाई आफन्त मान्नु छैन
भ्रष्टको दु:ख जान्नु छैन
भो कर नगर मलाई
म आफ्नै विवेकमा‌ बञ्चरो हान्दिन
तिमीले भनेको कुरा मान्दिन ।
दल दलमा देख्छु दलालै दलाल
कोही भारतका
कोही अमेरिकाका
कोही चीनका
कोही यूरोपका
जो दलमा‌ छैनन
ती पनि सद्दे देख्दिन
पञ्चायतका प्रेत छायाँ देखिन्छन् ती
जो बिहान बेलुका
ढोगिरहेका हुन्छन् श्रीपेच
जो जपिरहेका देखिन्छन्
"श्रीमान गम्भीर...." को गायत्री
यस्तो अत्यास लाग्दो मौसमलाई
तिमी उत्सव देख्छौ
म दलदल देख्छु !
म धेरै कुरा जान्दिन
तिम्रा ढाँट कुरा मान्दिन
रोऊ कराऊ
झम्ट, जे गर
म चोरलाई साधु मानेर
स्वस्तिक छाप हान्दै हान्दिन !
***
२०७९ कार्तिक १७
माइतीघर मण्डला , काठमाण्डौ