काठमाडाैं । सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकले आकलन गरेको छ ।डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी बृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।
यसभन्दा पहिला अन्तर्राष्ट्रिय मुद्रा कोषले ‘वल्र्ड इकनोमिक आउटलुकस् काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ रहने सार्वजनिक गरेको थियो । बर्तमान नेपाल सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
सन् २०२२ को मुद्रास्फीतिदर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालु आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
यसवर्ष कृषि, उद्योग र सेवा क्षेत्रमध्ये उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः २, ८.९ र ५.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
यसरी नै सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ /२०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।