
लोकनारायण सुबेदी
देशले पछिल्लो राजनीतिक परिबर्तन पछि पनि कुनै सकारात्मक कोल्टे फेर्न सकेन । बरु संकट पछि संकट थपिने तथा देश र जनताको अबस्था अझ दारुण र सकसपूर्ण हुदै जाने अस्वीकार्य स्थिति बिकसित भएको छ । यसको खाश कारण भने उपरी ढाँचा अर्थात अधिरचना(सुपरस्ट्रक्चर)मा मात्र सामान्य परिबर्तन भएको र आधार(बेस)मा कुनै तात्विक परिबर्तन हुन नसकेको अबस्था नै हो । हिजो जुन बर्गले शासन र शोषण गर्दथ्यो भिन्नरुपमा त्यही बर्गले आज पनि शासन र शोषण गरिरहेको छ । आम श्रमजीबी जनताको अबस्थामा कुनै पनि परिबर्तन आउने र ल्याउने कुनै आमूल परिबर्तनका कदमहरु चालिएका छ्रै्रनन् । चालिने कुनै संकेत र छाँटकाँटसम्म पनि देखा परेको छैन । बरु जनता र देशलाई गरीबी, अभाव, असुरक्षा, बढ्दो ऋणको बोझ, अशिक्षा, बेरोजगारी, अन्धबिश्वास, कुरीति, पाखण्ड तथा बाह्य हस्तक्षेप लगायतका अनेक असैह्य र अमान्य समस्याले आक्रान्त पारेको छ र यो क्रम अझ बढेको छ ।
परिबर्तनका बाहक भनिएका शक्तिहरुमा आएको चौतर्फी परनिर्भरता, नैतिक स्खलन, अपचलन र निहीत स्वार्थले गर्दा देशमा अजंगका भ्रष्टाचार, कमिशनखोरी, सुदखोरी, तस्करी, कालोबजारी ब्याप्त छ । तिनको बोझले थिचिएका जनताले तिनबाट त्राण पाउने निकट सम्भावनाको कुरै छाडौ यस्तै यथास्थितिमा सुदूर भबिष्यमा पनि यस स्थितिको अन्त्य होला भनेर आशा गर्न नसकिने स्थिति बिकसित भएको छ । बिकास निर्माणका कार्यहरु, योजना परियोजनाहरु अत्यन्तै महँगा, कमसल, बोझिला र अबिश्वसनीय बनेका छन् । जसले गर्दा जनताले हिजो र आजमा कुनै तात्विक फरक पाउन र परिबर्तनलाई पत्याउन सकेका छैनन् । बरु उनीहरुले ‘जुन जोगी आए पनि कानै चिरेको’ कटु अनुभव दिनानु दिन गरिरहनु परेको अबस्था छ । यो स्थिति जनताका निमित्त ‘मुटुमाथि ढुंगा राखेर हिड्नु सरह’ छ ।
यस बिचमा सरकार, संसद र न्यायपालिका कुनै पनि क्षेत्रले जनता र राष्ट्रको हितमा काम गरेर आशलाग्दो उदाहरण बनेको एउटा पनि आधार कतै खडा हुन सकेको छैन । बरु तिनका बीचमा एक वा अर्को किसिमको ‘सेटिङ्ग’ चलेको र सर्बत्र ऐन कानुनको उल्लंघन भइरहेको आरोप एकले अर्कोलाई लगाएको र लगाइरहेको स्थिति छ । वास्तवमा यो घोर अराजक र अबिश्वसनीय स्थिति हो । यसले ब्यवस्था खराब छ र त्यसले अबस्था पनि खराबतम तुल्याउदै लगेको छ भन्ने कुरा नै झल्किरहेको र देखिइरहेको छ ।
जनताले न सरकार, न संसद न अदालत कतै पनि बिश्वास गर्ने, न्याय पाउने र बर्तमान सुरक्षित तथा भबिष्य आशाप्रद र उज्वल हुने स्थिति देखिरहेका छैनन् । यस भयावह स्थितिमा चुनावलाई जतिसुकै प्रजातान्त्रिक भनेर ढोल पिटिए पनि त्यसको औचित्यता सावित हुन सक्तैन र सत्यापन हुँदैन । त्यसमा पनि चुनाव अत्यन्तै खर्चिलो, महँगो र अपारदर्शी बनेको कुरा राजनीतिक दल, सरकार, सांसद र स्वयं निर्वाचन आयोग सबैले यथार्थ औंल्याइरहेका छन् । यस अबस्थामा चुनावले पनि कुनै समाधान दिने स्थिति बन्दैन । यो आजको यथार्थ र कटु सत्य कुरा हो ।
यस अबस्थामा चुनावमा पुरानै प्रबृत्ति, पुरानै शक्ति, पुरानै ब्यक्ति र पुरानै गतिबिधि दोहोरिने कुरा प्राय: निश्चित छ, नयाँ कोही आइहाले पनि दलको नीति कार्यक्रम र कार्यनीति पुरानै राखेर कुनै फरक र बिश्वासिलोपना आउने कुरामा बिश्वास गर्ने आधार खडा हुँदैन । गलतको स्थानमा सही आउने कुरा यदाकदा एक दुइ अपबाद मात्र भएर रहन्छ । किनभने चुनावलाई प्रभाव पार्ने जुन तत्वहरु छन् ती अबैध पैसा, प्रभाव, दबाव र जनताको निरीहताबाट फाइदा उठाउने कुरा नै हुने गरेका छन् । अनि अनतर्राष्ट्रि दता राष्ट्र र संस्थाहरुको समेत प्रत्यक्षा परोक्ष प्रभाव पर्ने गरेको कुरा पनि त्यत्तिकै सत्य छ । तिनलाई छेकबार लाउन सक्ने र लाग्ने कुनै स्थिति बिल्कुलै बनेको छैन । जसले गर्दा फेरि पनि त्यसै प्रबृत्तिका मानिसहरु चाहे ती जुनसुकै दलबाट किन नहुन् ब्यवस्थापिका र कार्यकापालिकामा पुग्ने कुरा निश्चित प्राय: रहेको छ ।
कुरा यहाँ यूवा पिढी र उमेर ढल्केका बृद्ध बीचको हुँदै होइन, पात्र र प्रबृत्तिको मूल कुरा छ । पात्र र प्रबृत्ति उही रहे पछि तिनले ल्याउने परिणाममा कुनै फरक पर्दैन । प्रष्ट छ, अबैध श्रोत साधन भएका सण्डमुण्डहरुकै फेरि पनि मनमरी चल्ने स्थिति कायम रहन्छ र बन्छ । चुनाव तिनकै प्रभावमा जान्छ । आर्थिक क्षेत्रमा जसरी सर्बत्र बिचौलियाहरुको रजगज छ त्यसरी नै राजनीतिक क्षेत्रमा पनि परोक्ष प्रत्येक्ष तिनले आसन जमाएर बसेका हुन्छन् र तिनकै फूर्तिफार्ती चुनावमा प्रभावी हुन्छ । जनताले त्यस्तैलाई चुने के गर्ने त भनेर पञ्छिने क्रम उपक्रम चलाएर कुरा सामसुम पार्ने बाहेक अरु केही हुने अहिलेसम्म देखिएको छैन ।
यसरी संसदीय चुनाव चाहे स्थानीय, प्रादेशिक र संघीय जुनसुकै स्तरको होस् त्यसमा उत्पन्न गरिएका बिषाक्त गतिबिधि र प्रबृत्तिले चूनौति नै चूनौति पहाड खडा गरिदिएको छ । त्यसलाई आम जन समुदायले छिचोल्न कठिन छ । तथापि कतै लाटोको खुट्टा बाटोमा परिहाल्यो भने पनि त्यो अरण्य रोदन सरह मात्र भएर रहनेछ । यथार्थ यही नै हो ।
यस्तो स्थितिमा चुनाव एउटा कर्मकाण्ड मात्र भएर रहनजान्छ । केवल एउटा ‘चुनावी मेलाको ठेलम ठेला’मा परिणत हुन्छ । संबिधान बमोजिम चुनाव भयो भन्ने भजन गाउने कुरा मात्र हुन्छ । यसले समस्याको सही समाधान दिदैन । यसले गर्दा देश र जनताको बिग्रदो र दारुण अबस्था फेर्ने कुरा मात्रै होइन ब्यवस्था नै आमूलरुपमा फेर्नु पर्ने कुरामा पुग्नु पर्ने हुनजान्छ र त्यसका लागि ब्यापक, गहन र जिम्मेवारीपूर्ण बिचार बिमर्श चलाउनु र अग्रगामी सही निष्कर्शमा पुग्नु ऐतिहासिक राष्ट्रिय आवश्यकता बन्न जान्छ । आन्तरिक र बाह्य कारणले जुन यथास्थितिलाई दशकौंदेखि च्यापेर चल्ने निराशाजनक प्रबृत्ति र मनोबृत्तिका साथ अहिलेसम्म चल्ने गरिदै आएको छ त्यसले अब काम गर्दैन । कि देश अब अझ तीब्ररुपमा थप अधोगतिमा धकेलिन्छ कि अग्रगतिको बाटोमा जाने निष्कर्शमा पुग्नै पर्दछ । योभन्दा अर्को कुनै बिकल्प छैन । चुनाव परिणाम जे जस्तो आए पनि यो कुरामा बुद्धि लगाइएन भने त्यो ‘श्राध्दमा बिरोलो बाध्ने’ पुरानो कथा दोहोरिएको बाहेक अरु केही ठहरिदैन ।