Indra.jpg
इन्द्रनारायण सुबेदी
छन्द:- दिक्पाल
---------------------------------------------------------------
आमा र देश उस्तै पर्यायझैँ बुझिन्छन्
आराध्य जिन्दगीका सद्भावले पुजिन्छन्
बुझ्नेहरू कहन्छन् आस्था र वन्दनामा
आमा र देश हुन्छन् हाम्रा नसा नसामा।१।
 
धर्ती सदैव बोक्छिन् थापेर बोझ छाती
आमा सदैव रोक्छिन् पीडाहरू नजाती
आश्चर्य लाग्छ देख्दा यो व्यग्रता र धामा
आमा र देश हुन्छन् हाम्रा नसा नसामा।२।
 
आमा भएर हामी संसार देख्न सक्छौँ
माटो रहेर हामी संसार टेक्न सक्छौँ
संयोग सृष्टिको यो अस्तित्व सिर्जनामा
आमा र देश हुन्छन् हाम्रा नसा नसामा।३।
 
जो प्रेम गर्न सक्छन् सम्झेर भित्र देश
जो मातृभक्त बन्छन् तल्लीन भै अशेष
हुन् पार गर्न सक्ने ती मात्र दुर्दशामा
आमा र देश हुन्छन् हाम्रा नसा नसामा।४।
 
आमा र देश दुख्दा जो खेल्छ अस्मितामा
मिल्दैन शान्ति चाहे जल्दै गरोस् चितामा
अस्तित्व पूर्ण गर्ने ब्रह्माण्डको विधामा
आमा र देश हुन्छन् हम्रा नसा नसामा।५।
 
मान्छेहरू धराको खाएर अन्नपानी
बन्छन् सदैव आमा पाएर स्वाभिमानी
हुन् स्तुत्य गर्व गर्ने राखेर सम्झनामा
आमा र देश हुन्छन् हाम्रा नसा नसामा।६।
=================================
समस्या साभार:-प्रतिभा निकुञ्ज