शुक्रबार, कार्तिक ७ गते २०८३

भोक र पोल्याण्ड

कार्तिक १०, २०७९ बिहीबार
भोक र पोल्याण्ड

- सन्तोष कुमार पोखरेल

सोवियत संघ आर्थिक रुपमा मन्दीको मार खेपिरहेको थियो- आफ्नो सुन बेचेर पूर्वी योरोपका समाजबादी मुलुकहरूलाई गहुँ किनेर ख्वाउनु थियो उसले I प्रिबाल्टिकका तीन साना राज्यहरू छुट्टिन खोजिरह्रेका थिए सोवियत संघबाट, अनि लिथुआनियाकी नेत्री प्रुन्स्किएन् सोवियत संघबाट छुट्टिन पाउँ भनी बेला बेला क्रेमलिन धाउँदै थिइन्, उनी १९९० तिर त्यहाँ की प्रधान मन्त्री थिइन् I गर्भाचोव एक्लैले त्यो सार्वभौमसत्ता हस्तान्तरण गर्न गाह्रो थियो I ७३ वर्ष पुरानो समाजबादी देश टुक्रिन खोज्दै थियो I हुन त बाल्टिकका तीनै राज्य द्वितीय विश्वयुद्धमा जर्मनको हार पछि सोवियत गणराज्यमा विलीन भएका थिए तेर्हौं चौधौं र पन्ध्रौँ समाजबादी गणराज्यका रुपमा I

बर्लिनको दिवाल पनि भख्खरै ढालिदिएका थिए जर्मन जनताले-पूर्वी र पश्चिमी बर्लिन मिसिएका थिए अहिले I अघिल्लो पटक पूर्वी बर्लिन शान्त थियो, सस्तो थियो अनि अहिले पश्चिमी बर्लिनले मान्छेको लर्कोलाई यहाँबाट आफूतिर तानिरहेको देखिन्थ्यो I
म पोल्याण्डको वार्सावामा पुगेको थिएँ I

१९८९-१९९० तिर लेख वालेंसा ट्रेड युनियनिस्ट नेता थिए र मजदूर हडतालको नेतृत्व लिइरहेका थिए I तिनताक पोल्याण्डमा आर्थिक शंकट चुलिएको थियो, सोवियत रुसले पूर्वी योरोपका समाजवादी मुलुकहरूलाई आफ्नो आर्थिक शंकटका कारण दिंदै आएको सहयोग रोकेको अवस्था थियो I पूर्वी योरोपका समाजबादी मुलुकहरू दोस्रो  विश्वयुद्धपछि सोवियत संघको नेतृत्वमा हिटलरको आतंकबाट स्वतन्त्र भएका थिए- सबै समाजबादी बनेका थिए तर आर्थिक शंकटले गर्दा समाजबाद यी दिनहरूमा हार खाइरहेको थियो I

यी मुलुकहरूमा पोल्याण्ड, पूर्वी जर्मनी, चेकोश्लोभाकिया, युगोस्लाभिया, हंगेरी, र रोमानिया थिए I पोल्याण्डका विट होल्ड यारुज़ेल्सकीको सत्ता हल्लिरहेको थियो I ट्रेनमा एउटा पोलिश भेट हुन्थ्यो, उसले मद्यपान गरेको थियो- मीठा कुरा गर्थ्यो तर म उसको भाषा बुझ्दिनथें । उ भन्थ्यो हाम्रो देश अब छिट्टै बिकसित हुनेछ अनि म तलाई बोलाउँला अनि दुवै भाई रेस्टुराँ जाम्ला I उ बेला बेला रेस्तावरासिया भन्थ्यो म चैं यो रेस्टोरेशन भनेको होला भनी बुझ्थें तर उसले रेस्टुराँ भनेको कुरो पछि बुझें I

ट्रेनमा खाने कुरोको नाममा बिस्कुट र जूस बाहेक केही थिएन I बिस्कुट र एक गिलास जूसका लागि पोलिश रुपियाँ हजार हजार ज्लोती तिर्नुपर्थ्यो, उनीहरूको मुद्राको निकै अवमुल्यन भएको थियो I ट्रेन पोल्याण्डको राजधानी वार्सा आइपुग्यो  I म यात्राबाट थाकेको थिएँ I एक जना साइप्रसको साथीसित ट्रेनमा परिचय भएको थियो, हामी प्राहा भन्ने बजारमा आइपुग्यौं I प्राहा बजार घरेलु उद्द्योग र सहकारीका उत्पादनले सजिएको थियो, साना साना जस्ताले ठड्याइएका पसल टन्टलापुर घाममा शोभायमान बनेर ग्राहक तानिरहेका देखिन्थे, तिनका पसले र पसल्नी हरू सुन्दर हाव भाव देखाइरहेका थिए सबै मुस्कुराइरहेका देखिन्थे तर भित्र सबै रोइरहेका थिए शायद I पोल्याण्डमा भोकमरी थियो I

दिउँसोको १ बजिसकेको थियो, एउटा खाना खाने क्यान्टिन पुग्यौं I यस क्यान्टिनमा खाना खाँदाको एउटा घटनाले मेरो भोकप्रतिको दृष्टिकोण जीवनभरका लागि बदलिदियो I निकै भोक लागेका बेला धेरै खान नसकिँदो रहेछ भन्ने कुरो त्यस दिन थाहा भो मलाई -मैले ट्रेभरी खानाका बिभिन्न परिकार लिएँ, साइप्रसको साथीले पनि लियो अनि हामी क्यान्टिनको मध्यभागमा एउटा टेबलमा बस्यौं र खान थाल्यौं I मलाई आफूले खाएका बेला अरु कसैले क्वारक्वार्ति हेरेको सहज लाग्दैन I मेरा आमा (वहाँलाई स्वर्गमा शान्ति मिलोस!) भन्नेगर्नुहुन्थ्योखाका बेला अरुले हेरे चोखे लाग्छ I

अन्दाजी ३२ बर्ष जतिको एउटा पोलिश हामीलाई घरिघरी हेरिरहेको थियो, उ सभ्य  देखिन्थ्यो, उसले जुँगा पालेकोथियो जसलाई बेलाबेला मुसार्थ्यो I उसले नयाँ नीलो जिन्स पाइन्ट र घ्यु रंगको टी शर्ट लगाएको थियो र ठूलो डायलको घडी आफ्ना ठूला नाडीमा बाँधेको थियो I उ एकछिन नजर अर्कातर्फ लाउन्थ्यो र फेरि हामीतिर हेर्थ्यो I मलाई रीस उठिसकेको थियो उसको पटकपटकका हेराईले I मैले झटपट खाना खाएँ तर सबै  खान सकिनँ- उ सरासर हाम्रा टेबुलतिर आयो, उसका हाथमा एउटा ठूलो प्लेट र एउटा चम्मच थिए, उसले हामीतिर हेरेन, अनि मेरा झुठा प्लेटहरू उठाउंदै तिनमा बाकि रहेका खाना सबै आफ्नो प्लेटमा राख्यो र सीधा आफ्नो टेबुलमा गएर बस्यो I म यो सब कौतुहलताकासाथ हेरिरहेको थिएँ I उ भकाभक त्यो जूठो खाना खान थाल्यो I

मेरो रीस मरिसकेको थियो यस बेलासम्म, मभित्र करुणा पलाएर आयो I मैले मेरी आमाले भनेको सम्झें –“हे अन्न तिमी धन्न, तिमी नभए म रहन्न”I यो भोकले त्यो पोलिश नागरिकलाई आज मेरो जूठो ख्वायो अनि मैले अहिले सम्झें मेरो मुलुकमा पनि यस्ता हजारौं परिवार छन् जो मीठो पाए अरुको जूठो खान तयार हुनेछन् – यो लेख्दै गर्दा मैले मेरो देश सम्झें, मेरो देशको पहाड अनि मधेश सम्झें अनि सम्झें अफ्रिका, ल्याटिन अमेरिका र रूसमै त्यस बेला शंकटमा परेका सर्वसाधारण नागरिकहरूको अवस्था I यसै क्रममा मैले नाइजेरियाकी एउटी केटी सम्झें जसले मेरा कविताहरू फ्रेन्चमा अनुवाद गरेकी थिई र उनीहरूको भोक भोकै मर्ने अवस्थाको बारेमा भनेकी थिई I

एकपटक उसले मलाई नेपालमैं बस्छूं मलाई नेपाल बोलाउनु पनि भनेकी थिई I मैले यो जीवनमा पेटको भोकमाथि लेखेका धेरै कविताहरू सम्झें, मैले बाउले राजनीतिमा लागेर हाम्रो परिवारले दुख पाएको र बाल्यकालका केही बर्ष राम्रो खान नपाएको सम्झें I यसै क्रममा मैले फेरी उसै बेलाका पोल्याण्डकी एवा दान्कोव्सका र उसकी ममतामयी आमालाई सम्झें जसले सक्छस् भने दश डलर पठाइदे सन्तोष, यहाँ त्यसको ठूलो महत्व छ भनेकी थिइन् तर जो मैले पठाउन सकिनँ I उनले मलाई उपहार पठाइदिएको ऊनीको न्यानो शर्ट र ज्याकेट सम्झें, शर्ट त मैले पाएँ तर ज्याकेट रूसी नागरिकले लुकायो I सम्झनामा आएका सबैप्रति मेरो प्रेम अनि यस लोकबाट हिंडिसकेकाहरू प्रति अश्रूपुरित भावूक श्रद्धान्जली !

भोकले मर्नुभन्दा जुठै भएपनि खाएर बाँच्नु बुद्धिमानी हो, यो नै अस्तित्वबादको आधार हो किनभने ज्यानै नरहे कुनै तर्क र वाद हुनसक्दैन जस्तो मलाई लाग्दछ- नित्से, शार्त्र र भगवत्शरणको अभ्याश भन्दा आमाको अस्तित्ववाद महान हो जसले सन्तानको लालन पालनमा आफ्नो अस्तित्व समाहित गरेकी हुन्छिन् -अहिले फेरि मैले मेरी आमालाई सम्झें I यसैले होला हाम्रो संस्कारमा देवी दुर्गाको महिमा आमाको रूपमा गरिन्छ – देवी प्रपन्नार्तिहरे प्रसीद , प्रसीद मातार्जगतो अखिलस्य I प्रसीद विश्वेश्वरी पाहि विश्वम, त्वमीश्वरी देवि चराचारस्य I आफ्नो ज्यान जोगाउनु अस्तित्वबाद्को पहिलो पाठ हो I

अहिले पोल्याण्डले उन्नति गरेको सुनेको छु, पोलिश जनताले सुख पाउन्- उनीहरूप्रति मेरो मायाँ I कानपुरका भिखारीहरूलाई समझंदै छु हाथमा भिक्षाटनको पाला लिएर सडकमा ढन्मनिएका मात्री पैतालाहरूलाई सम्झें, अनि फेरी त्यो पोलिश नागरिकलाई सम्झिरहेको छु जसले भोक र अन्नप्रतिको मेरो अनुराग बढाइदियो I

२०२२, नेपाल I