शुक्रबार, कार्तिक ७ गते २०८३

बृटेनको बर्तमान राजनीतिक संकट र समाधानको बाटो

कार्तिक ५, २०७९ शनिबार
बृटेनको बर्तमान राजनीतिक संकट र समाधानको बाटो

LN subedi.jpg
लोकनारायण सुबेदी

संसदीय प्रणालीको जननी मानिएको बेलायतको राजनीतिक इतिहासमा यस्तो संकट पहिलो पटक देखापरेको छ कि त्यहाँ चार महिनाका बीचमा तेश्रो प्रधानमन्त्रीको खोजी हुँदैछ । पछिल्लो प्रधानमन्त्रीको पद सम्हालिरहेकी लिज ट्रसले राजीनामा दिए पछि यो संकट आएको हो ।  आफुले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको ४४ दिनमै लिज ट्रसले राजीनामा दिएकी छन् र अब अर्को प्रधानमन्त्रीको बहाली नहुञ्जेल उनी त्यसमा बहाल रहने छिन् । अहिलेसम्मको बृटेनको इतिहासमा उनी सबैभन्दा कम समय प्रधानमन्त्री पदमा रहेको स्थिति बन्न पुगेको छ । यही बर्ष गएको जुलाईको पहिलो साता बोरिस जोन्सनले प्रधानमन्त्री पदबाट राजीनामा दिए पछि दुइ महिना मित्र नयाँ प्रधानमन्त्री चुनिएको थियो तर यस पटक भने आठ दिन भित्रै अर्को नयाँ प्रधानमन्त्री बृटेनले प्राप्त गर्ने भनिएको छ ।
 स्पष्ट छ कि यो कसरत राजनीतिक अस्थिरताको संकटबाट देशलाई जोगाउन गरिन लागेको बताइदैछ । कर कटौतिलाई मूख्य मुद्दा बनाएर सत्तामा पुगेकी लिज ट्रसने केवल डेढ महिना पुग्दै गर्दा पहिला त आफ्नो क्याबिनेटबाट अर्थ मन्त्रीलाई हटाइन्, त्यसपछि गृहमन्त्रीको राजीनामा आयो र उनको सरकार थप संकटमा पर्दै गयो । हुन त लिजले आफ्नो बचाउमा बिरोधीहरुलाई जबाफ दिदै राजीनामा गर्नुभन्दा एक दिन पहिला आफु ‘फाइटर रहेको क्वीटर’ होइन अर्थात संघर्ष गर्ने तर नछोड्ने भनेकी थिइन् । तर त्यस्तो घोषणा गर्ने लडाकुले संघर्षको मैदान नै छोडिन् । गएको अगस्टको अन्तिम सातामा जतिबेला लिज ट्रस कर कटौति योजनाको प्रचार गर्दै थिइन् उनलाई कडा टक्कर दिइरहेका प्रधानमन्त्री पदका अर्का दाबेदार ऋषि सुनकले बिभिन्न मञ्चमा बोल्दा भनेका थिए कि लिजको यो आर्थिक नीति देशका लागि भयावह साबित हुनेछ । बृटेन यतिबेला बितेको आधा शताब्दी यता सबैभन्दा नाजुक आर्थिक कालखण्डबाट गुज्रिरहेको बताइन्छ । महँगीले आकाश छोएको छ र देश आर्थिक संकट सँगसँगै राजनैतिक अस्थिरताको दलदलमा अहिले फँसेको छ ।
 अहिले चार महिनाभन्दा कम समयमा बृटेनले पाँचौ अर्थमन्त्री पाउँदैछ त्यो पनि यस्तो बेलामा कि जतिबेला देश ब्रेग्जिट(यूरोपियन यूनियनबाट बाहिर निस्कदाको)को मारबाट अझै ठिकसँग तंग्रेन सकेको छैन ।प्रमुख बिपक्षी दल लेबर पार्टीसँगै अरु सबै बिरोधी दलहरुले पनि आम चुनावको माग गर्न थालेका छन् । स्पष्ट छ कि बहुमत लिएर सत्तामा आएको बर्तमान सत्तासीन कञ्जरभेटिभ पार्टीमा यदि नेतृत्वलाई लिएर यस्तै लडाई भइरहन्छ भने बिपक्षीहरुलाई अवसर मिल्छ नै  आम जनतलाई पनि लाग्नेछ कि सत्तासीन पार्टीका नेताहरुमा सामाञ्जस्य हुदैन भने तिनले सत्तामा रहने के अधिकार हुन्छ र ! त्यसैले यो पटक आठ दिनमै अर्को प्रधानमन्त्री चुन्ने कुरा निर्धारण गरिएको बताइदैछ । बृटेनको संसदीय लोकतन्त्रमा पार्टी नेता चुन्ने प्रकृयामा पहिला पार्टीका सांसदहरु सामेल हुन्छन् र फेरि त्यस दलका सदस्यहरु । गएको जुलाई अगस्टमा यो प्रकृया एक पटक भइसकेको छ । त्यतिबेला सांसदहरुका बीचबाट १३७ मतको समर्थन पाएर ऋषि सुनक पहिलो स्थानमा थिए तर जब सदस्यहरुको मत दिने पालो आयो झण्डै ८० हजार जति मत लिज स्ट्रसलाई र ६० हजार मत सुनकलाई प्राप्त भयो । प्रष्ट छ कि सांसदहरुका बीच सुनक र सदस्यहरुका बीच लिज पहिलो स्थानमा रहे । यस पटक चाँही के निर्धारण गरिएको छ भने जुन सांसदलाई कम्तिमा एक सय सांसदहरुका मत प्राप्त हुनेछ उसैले प्रधानमन्त्रीको उम्मेद्वारको नामाङ्कन गर्न पाउने छ । बृटेनमा ६५० सांसद रहेको सदनमा कञ्जरभेटिभ पार्टीसँग ३५७ सांसद रहेका छन् ।

rishi-sunak-13.webp
 यस पटक भने प्रधानमन्त्री पदका लागि बढीभन्दा बढी तीनजना दाबेदार हुने भनिदैछ । यदि दुइ या तीन दाबेदार भ एभने सदस्यहरुका लागि अनलाइन प्रकृयाबाट मत दिने प्रकृया अबलम्बन गरिनेछ जसले गर्दा समयमै अर्को प्रधानमन्त्री चुनिन सक्नेछ । प्रधानमन्त्री बन्ने दाबी गर्न पर्सि सोमबार अर्थात २५ अक्टोबरसम्मको समय रहेको छ । हुनसक्छ कुनै एउटै मात्र सांसदको नाममा सहमति बन्यो भने सोमबार नै अर्को प्रधानमन्त्री बन्ने छ । तर यसको कमै सम्भावना देखिएको बताइदैछ । अनि सबैलाई एक गरेर लैजान सक्ने त्यस्तो सांसद मिल्ला र स्थिति सम्हालेर लैजाला भन्ने कुराको आशा पनि कमै छ । यो नै अहिलेको ठूलो चूनौति बनेको छ । जतिबेला लिज स्ट्रसले पहिला अर्थमन्त्री हटाएर जेरमी हटलाई नयाँ अर्थमन्त्री बनाएको थियो त्यतिबेलै अनुमान गर्न थालिएको थियो कि लिजको पार्टीमाथिको पकड कमजोर हुँदै गएको छ । जेरेमी हन्टले लिजको कर कटौति नीतिलाई खारेज गरिदिए र जे जे घोषणा गरिएको थियो त्यसको बिपरीत नीतिमा ‘यू–टर्न’ भयो । त्यसको अर्को दिन नै मन्त्रीको आचार संहीताको उल्लंघनलाई आधार बनाएर गृहमन्त्री सुएल ब्रेबरम्यानले राजीनामा गरिन् । लिजले नै उनीसँग राजीनामा मागेको कुरा पनि प्रकाशमा आएको थियो । सुएलाको राजीनामापछिदेखि बिपक्षी नेताहरुले लिजको धरमर प्रबृत्तिामाथि प्रश्न उठाउन शुरु गरे र सदनलाई पटक पटक घेर्न थाले । पार्टी भित्र पनि लिजका बिरुद्ध असन्तुष्टी प्रकट हुन थाल्यो । किन पनि भने अधिकांश सांसदहरु ऋषि सुनकका समर्थक थिए र उनलाई प्रधानमन्त्रीकोरुपमा देख्न चाहन्थे । यसका अतिरित्तकm सुएलाको राजीनामापछि जुन सांसद गेड शाप्सलाई लिजले बृटेनको नयाँ गृहमन्त्री बनाइन् ती पनि सुनककै खेमाका हुन् । अब नयाँ प्रधानमन्त्रीका लागि जुन नामहरु त्यहाँ चर्चामा रहेको बताइदैछ सुनक, पेनी मार्डेट र पुन: बोरिस जोन्सनको नाम पनि छ । पूर्ब प्रधानमन्त्री जोन्सन यतिबेल परिबारसँग छुट्टी मनाइरहेका छन् ।
यद्यपि यतिञ्जेल कुनै नेताले पनि आफ्नो उम्मेद्वारीको दाबी गरेका छैनन् । सुनक पनि बितेको ४५ दिनदेखि मौन साधेर बसेका तर बिकसित सारा परिस्थितिमाथि आँखा लगाइरहेका बताइन्छ । यस्तो स्थितिमा अर्को साता कञ्जरभेटि पार्टीले अर्का कुनै नेतालाई देशको प्रधानमन्त्रीको रुपमा प्रस्तुत त  गर्ला तर तिनका लागि पनि बृटेनको बिग्रदो आर्थिक तथा राजनीतिक स्थिलिताई सही दिशा र गति दिन अर्थात् पटरीमा ल्याउन कम चूनौतिपूर्ण रहेको छैन । बृटेनमा आउँदो २०२४ मा अर्को आम चुनाव हुने कुरा निश्चित छ । यदि सत्तासीन कञ्जरभेटिभ पार्टीको यो आन्तरिक किचलो थामिएन भने संसदीय चुनाव त्योभन्दा अगाडि पनि सर्न सक्छ । अनि बृटेका जनता पनि शायद बिग्रदो स्थितिमा त्यस्तै बिकल्प चाहाँदा होलान् । संसदीय प्रणाली भित्र योभन्दा अर्को बाटो पनि देखिदैन । जनता नजागेसम्म अर्काे बिकल्प नदेखिनु स्वाभाबिक नै हो ।