स्मरणज्यातिलाल बन
महाभूकम्प (२०७२/०१/१२) गएको लगभग २ महिनापछि अर्थात २०७२ साल असारको कुनै दिन विहान ८ बजेतिर म पाटन कृष्णमन्दिरभन्दा केही पूर्व
बखुम्बहालमा रहेको सत्यमोहन जोशीको घरमा पहिलो पटक पुगेको थिएँ ।
उहाँको घर जानुमा ‘कुमारी प्रथाको ऐतिहासिक पृष्ठभूमि र यसको सांस्कृतिक महत्व’ का बारेमा उहाँसँग जानकारी लिने उद्देश्य रहेको थियो मेरो ।
नेपालका एक सर्वश्रेष्ठ संस्कृतवीद र विशिष्ट व्यक्तित्वको घर पक्कै एउटा सुन्दर पक्की भवन होला भन्ने सोच्दै उहाँको घर पुगेकोे थिएँ म । तर मेरो सोचाइविपरित उहाँको घर त परंपरागत नेवारी शैलीको निकै सामान्य स्तरको पो थियो।
घर सामनेको आँगनमा पाल टाँगिएको थियो । पालभित्र विक्षाउनासहित २।३ टा खाट राखिएका थिए । बेलाबेलामा भुँइचालाको पराकम्प गैरहने भएकाले सायद त्यस बखत जोशी परिवारले त्यही पालभित्र रात विताउथे होलान् भन्ने अनुमान गरेको थिएँ मैले ।
घरको पिँडीमा सुकुल विक्षाइएको थियो । सत्यमोहन सुकुलमा बसेर नेकपा (माओवादी) का एक नेता दिनानाथ शर्मा लिखित पुस्तक (मैले पुस्तकको नाम ख्याल गरिन) बढा ध्यान दिएर पढ्दै हुनुहुन्थ्यो र पहेँलो रङ्गको हाइलाइटरले कतिपय हरफहरुमा हाइलाइट पनि गर्दै हुनुहुन्थ्यो । उहाँ बसेको ओरीपरी विभिन्न दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु पनि रहेका थिए । सरसरती पत्रपत्रिकाहरु पढिसकेपछि उहाँ दिनानाथको पुस्तकतिर एकाग्र बन्न थाल्नु भएको होला भन्ने अनुमान गरेको थिएँ, मैले त्यतिबेला ।
“त्यो कितावमा किन हाइलाइट गर्नु भएको ?” भनेर सोधेँ मैले ।
“मैले विमोचन गर्नु पर्ने भनेको छ । विमोचन गर्नुपरेपछि त यस भित्रका सार कुरा पनि बताउनै पर्छ । त्यसैले सम्झिनलाई हाइलाइट गरेको ।”
सहजतापूर्वक यस्तो जवाफ दिनु भएको थियोे, उहाँले ।
म मलगभग ६ वर्ष (२०५०–२०५५) पाटनको ईखाक्ष्य टोलमा बसेँ । त्यहाँ बस्दा म दिनहुजसो बिहानीपख र कहिलेकही बेलुकी पनि मंगलबजार दरबारपरिशर पुग्थेँ र प्रायः भेटिरहन्थेँ सत्यमोहन जोशीलाई । सदासर्वदा एकनासे पोषाक (घुरमैलो कमिज वा दौरा सुरुवाल, कोगटे रङ्गको टोपी र प्रायः कालो रङ्गको सामान्य खालको कोट) लगाउने जोशी निकै रफ्तारका साथ हिँडी रहेको देख्थेँ म । सुन्थे – ‘उहाँ नितान्त आवश्यकता परेको बखत बाहेक गाडी चड्नु हुन्नथ्यो । कुनै कार्यक्रमा सहभागि हुन कसैले उहाँलाई ल्याउन गाडी पठायो भने, यदि त्यो कार्यक्रमस्थल उहाँको आवासबाट धेरै टाढा छैन भने उहाँ गाडीलाई फिर्ता पठाएर आँफू हिडेरै त्यस कार्यक्रम स्थलमा पुग्नु हुन्थ्यो ।’
विश्व परिदृष्य (वर्ल्डभ्यू) कोनेपालले २०६९ चैत्रमा काठमाडौं त्रिपुरेश्वरस्थित वोर्ल्ड ट्रेडसेन्टरमा सांस्कृतिक सम्पदासम्बन्धमा एउटा कार्यक्रमको आयोजना गरेको थियो ।वर्ल्डभ्यूको कल्चर एम्वेस्टर समेत रहनु भएका सत्यमोहन जोशी सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । म पनि उक्त कार्यक्रममा सहभागि हुन गएको थिएँ ।
खाना खाने बखत सत्यमोहन जोशी र म एउटै टेबुलमा प¥यौं । जोशी ले आफ्नो प्लेटमा खानाका साथै मासु (चिकेन) को परिमाण पनि अलिक धेरै नैै लिनु भएको थियो । त्यस बखत ९३ वर्ष पुग्न थालेका जोशीले मासुमा रहेको हड्डीसमेत चपाएर आफूले लिएको सप्पै खाना बडा मिठोगरी चाटचुट पारेर खाइसक्नु भयो ।
खाना खाई सकेपछि मैले– “यस्तो पाको उमेरमा पनि तपाइँ यति स्वस्थ्य रहनुको कारण के हो ?” भनेर सोधेपछि – “म पिर चिन्ता लिन्न, लेख्ने पढ्ने, सोच्ने जस्ता काममा लागि रहन्छु, जथाभावी खान्न, समयमा खान्छु र सकेसम्म धेरै हिड्डुल गर्छु । सायद यस्तै कारणले हो कि !” भनी जवाफ दिनु भएको थियो, उहाँले ।
उहाँ १०० वर्ष पुग्दासम्म उहाँको प्रमुख आतिथ्यमा आयोजित कतिपय कार्यक्रममा सहभागि हुने अवसर पाएको छु मैले । उहाँ पट्यार नमानिकन, कत्तिपनि नछट्पट्टिई धैर्यतापूर्व बस्नुहुन्थ्यो । आफ्नो बोल्ने पालो आउदा सरदर १५/२० मिनेटसम्म धैर्यवान युवावक्ताले जस्तै कत्ति पनि नलक्पकाई स्पस्ट लवजमा आफ्नो मन्तव्य राख्नु हुन्थ्यो ।
कतिपय बखत गलत पक्षहरुका बारेमा नरम भाषामा केही टिप्पणी गरे तापनि उहाँले कहिल्यै पनि कसैलाई अमर्यादित किसिमले उत्तेजित भएर कटु आलोचना गरेको मैले कहिल्यै सुनिन । लोकतन्त्र, मानवमर्यादा र मानवअधिकारका बारेमा सदा आस्थावान रहेपनि उहाँ कुनै राजनीतिक दलविशेशको निकट, प्रशंशक वा आलोचक भएको पनि मैले थाहा पाइन । मेरो बुझाइमा उहाँ एक पूर्ण सकारात्मक सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो ।
मैले सत्यमोहन जोशीका बारेमा गहिराइमा गएर अध्ययन गरेको छैन । तर मेरो सतही बुझाइमा उहाँले सय वर्षको उमेर नाघ्दा समेत आफूलाई सदा सक्रीय बनाइरहन सक्नु र सर्वमान्य व्यक्तित्वका रुपमा स्थापित हुन सक्नुमा उहाँका मुख्य पक्ष यी हुन सक्छन् भन्ने ठम्याई रहेको छ मेरो ।
१. ‘नेपालको सांस्कृतिक इतिहासको अध्ययन÷अन्वेषण, सास्कृतिक संम्पदाको खोज र संरक्षण तथा लेखन’ लाई जीवनको प्रमुख लक्ष बनाउनु, यसैमा एकाग्र भएर निरंतर लागि रहनु ।
२. कसै प्रति दुराग्रह नराख्नु, द्वेष र इर्साबाट टाढा रहनु, सकारात्मक सोच राख्नु ।
३. कुनै राजनीतिक दलविशेशको पक्ष विपक्षमा नलाग्नु ।
४. जीवनलाई सदा क्रियाशील बनाउनु र नियमित हिड्डुल गर्नु ।
५. खानपिनमा नियमितता र अनुशासन कायम राख्नु ।
३१ असोज २०७९