चिनियाँ कम्युनिष्ट पार्टीका महासचिब तथा देशका राष्ट्रपति शी जिनफिङले चीनलाई एक आधुनिक समाजवादी मुलुक बनाउन आगामी पाँच वर्ष महत्वपूर्ण हुने बताउनुभएको छ । बेइजिङ्गमा चिनीयाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय अधिबेशनमा आफ्नो प्रतिवेदन पेस गर्दै शीले चीनमा गएका १० वर्षमा भएका परिवर्तनहरु नयाँ युगका लागि कोशेढुंगा बनेको पनि उल्लेख गर्नु भएकाे छ।
प्रतिवेदनमा उहाँले आफ्ना प्रमुख उपलब्धिहरूको चर्चा गर्नु हुँदै शून्य कोभिड नीतिको पनि बचाउ गर्नुभयो । त्याे नीतिले चिनीया जनताको जीवनलाई प्राथमिकतामा राखेको बताउँदै त्यस नीतिका कारण मानिसको ज्यान बचेको बताउनुभयो । ‘शून्य कोभिड नीति भाइरसलाई रोक्ने जनयुद्धकाे संज्ञा दिनु भएकाेथियो ।
यसरी नै उहाँले गरिबी निवारणलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा अघि सार्नु हुँदै गरिबी निवारण कम्युनिष्ट पार्टीको प्रमुख लक्ष्यमा पर्छ भन्नु भयो । जसअन्तर्गत चीनले करोडौंलाई चरम गरिबीबाट मुक्त गरेको यथार्थ पनि उल्लेख गर्नु भयाे ।
शी जो सेनाको सुप्रिम कमाण्डर पनि हुनु हुन्छ, उहाले सेनालाई थप बलियो बनाउने बाचा गर्दै भन्नुभयो, ‘अहिले जनमुक्ति सेनाको नयाँ छवि र नयाँ संरचना छ ।’
उहाँले पछिल्लो समय भएका वैज्ञानिक प्रगतिको प्रशंसा गर्नुभयो । समग्रमा गुणस्तरीयमा विकासमा बिशेष जोड दिने उहाँको भनाइ थियो ।

‘विकास चीनको सबैभन्दा शीर्ष प्राथमिकता हो । समाजवादी बजार अर्थतन्त्र र खुलापनतर्फको सुधार कायम रहने कुरा उहाँले दोहोर्याउनु भयो । आफ्नो सम्बोधनमा सीले ताइवानको मुद्दा उठाउनुभएको थियो ।
शीले ताइवान–चीनको हिस्सा भएको र यसलाई पूर्णरूपमा गाभ्नका लागि बल प्रयोगलाई नकार्न सकिँदैन भन्ने कुरा पनि प्रष्ट पार्नु भयो । उहाँले ‘देशको पूर्ण एकीकरण आवश्यक छ र हुनेछ,’ भन्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय महाधिबेशन बेइजिङस्थिति ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ । विश्वकै ठूला राजनीतिक संगठनमध्ये एक सिपीसीको यो अधिबेशनलाई निकै महत्वका साथ हेरिन्छ । हरेक पाँच वर्षमा हुने र नीति र नेतृत्वमा समेत परिबर्तन हुन सक्ने भएकोले् यस्ता महाधिवेशनहरुलाई निकै ठूलो महत्वका साथ हेरिन्छ यसपटक पनि यसै यसै कारणले यसको महत्वप छ– यो पार्टीको शीर्ष नेतृत्वमा व्यापक फेरबदल हुँदैछ ।
यो महाधिवेशनमा देशैभरीबाट २३ सयभन्दा बढी प्रतिनिधि आएका छन् । कोभिडको जोखिमका कारण अत्यन्त कडाइका साथ सुरु भएको यो महाधिवेशनमा राष्ट्रपति सीले गएको पाँच वर्षका उपलब्धिहरू समेटिएको प्रतिवेदन पेस गर्नुभएको छ ।