अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) द्वारा प्रकाशित एक रिपोर्टले विश्वभरको अर्थतन्त्रले ठूला चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था आएको जनाएको छ । आइएमएफको प्रक्षेपणअनुसार यो वर्ष विश्वव्यापी अर्थतन्त्रको बृद्धि ३.२ प्रतिशतमा रोकिएको छ । गत जुलाईमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत कम हुँदै आगामी वर्षको आर्थिक बृद्धि पनि २.७ प्रतिशतमा संकुचित हुने आइएमएफको प्रक्षेपण छ ।
युक्रेनमा भएको रुसको आक्रमण, मुद्रास्फीतिमाथिको फराकिलो दबाब र चीनमा अपेक्षा अनुसार आर्थिक वृद्धि नहुनुजस्ता कारण विश्वव्यापी रुपमा अर्थतन्त्रमा ठूला चुनौती ल्याएको आइएमएफले बताएको हो ।
आइएमएफले सन् २०२३ मा फराकिलो किसिमले आर्थिक मन्दी देखिने बताएको छ, जसमा विश्वको अर्थतन्त्रको एक तिहाई हिस्सा ओगट्ने देशहरु यो वर्ष वा अर्को वर्षसम्ममा थप संकुचित हुने देखिएका छन् । कोरोना महामारीपछि आंशिक रुपमा सुधार भएको अर्थतन्त्र पुनः संकुचित अवस्थामा आउने र धेरैभन्दा धेरै मानिसले आगामी वर्ष २०२३ मा आर्थिक मन्दी महसुस गर्ने आइएमएफले जनाएको छ ।
आइएमएफका अनुसार अमेरिकामा संकुचित मौद्रिक तथा वित्तीय अवस्थाका कारण आगामी वर्ष आर्थिक बृद्धि १ प्रतिशतले कम हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, चीनमा निरन्तर भइरहेको लकडाउनका कारण आर्थिक वृद्धि ४.४ प्रतिशतमा संकुचित हुने अनुमान गरिएको छ ।