ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरित हाइड्रोजन ऊर्जाको विकासमा नेपालले विश्वमै अग्रणी भूमिका निर्वाह गर्नसक्ने बतााएकी छिन् । ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘नेपाल ग्रीन हाइड्रोजन समिट’ उद्घाटन गर्दै उनले नेपालमा हरित हाइड्रोजन उत्पादन र निर्यातका लागि प्रचुर सम्भावना रहेको बताइन् ।
‘हाइड्रोजनको व्यावसायिक प्रयोग नवीनतम प्रविधि हो । यसको व्यापार सहज भइसकेको छैन । पर्याप्त जलस्रोत उपलब्ध भएकाले नेपालमा यसको सम्भावना अन्य देशको भन्दा बढी छ’, मन्त्री भुसालले भनिन्, ‘हाइड्रोजन ऊर्जा उत्पादन र व्यापारमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्छ ।’हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको बताउँदै उनले विभिन्न विकसित मुलुकले यसको उत्पादन र उपयोगबारे नीति निर्माण, प्रविधिको अनुसन्धान र अन्वेषणलाई तीव्रता दिएको उल्लेख गरिन् । मन्त्री भुसालले हाइड्रोजन ऊर्जाका विषयमा नेपाल छिट्टै नीति निर्माण गरी अगाडि बढ्ने जानकारी गराइन् ।
जलस्रोतलाई जलविद्युत्मा परिणत गर्ने र जलविद्युत्को प्रयोग गरी जलस्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि, पर्यावरणीय सुरक्षा, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासका दृष्टिले निकै गहन हुने उनको भनाइ थियो । मन्त्री भुसाले ऊर्जाको स्रोतका रुपमा जलविद्युतलाई प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाउने साथै जलविद्युत्लाई हाइड्रोजन ऊर्जा, एमोनिया र युरिया मल उत्पादनमा समेत प्रयोग गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन् । सो लक्ष्य पूरा गर्नका लागि मन्त्रालयले कार्यदल गठन गरी जलविद्युत्को प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको उनले बताइन् ।