शनिबार, आश्विन १७ गते २०८३

अमेरिकाले उइघुर मुस्लिम सम्वन्धमा चीनका बिरूध्द ल्याएकाे प्रस्ताव नेपाल समेतकाे मद्दतले असफल

आश्विन २३, २०७९ आइतबार
अमेरिकाले उइघुर मुस्लिम सम्वन्धमा चीनका बिरूध्द ल्याएकाे प्रस्ताव नेपाल समेतकाे मद्दतले असफल

काठमाडौं । अमेरिकाले चीनको शिनजिआङ प्रान्तका उगुर मुसलमानसम्बन्धी विषयमा  संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा ल्याएको प्रस्ताव पारित हुन सकेन ।

भारतले भने अमेरिकाको सो प्रस्तावमा मतदान गरेन । पाकिस्तानसमेत कतिपय मुस्लिम देशले अमेरिकाको यो प्रस्तावको विरोधमा मतदान गरे ।

राष्ट्र संघको मानव अधिकार परिषद्मा ७ अक्टोबरमा उगुर मुसलमान विरुद्धको मानवअधिकार हनन सम्बन्धि विषयमा छलफल गर्नुपर्ने माग राखी सो प्रस्ताव ल्याइएको थियो ।

यो प्रस्ताव प्रस्तुत गर्न अमेरिकालाई बेलायत, क्यानाडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडनजस्ता देशले साथ दिएका थिए ।

यो प्रस्तावमाथि ४७ सदस्य भएको यो परिषदमा मतदान हुँदा परिणाम चीनको पक्षमा गयाे ।अमेरिकाले ल्याएको यो प्रस्तावको विरोधमा १९ देश थिए । यसमा पाकिस्तान र इन्डोनेसियालगायत कतिपय मुसलमान देश सामेल थिए ।चीनको विरोधमा अथवा अमेरिकाको समर्थनमा १७ देशले मात्र मतदान गरे ।

चीनको समर्थनमा साथ दिने देशहरूमा बोलिभिया, क्यामरुन, चीन,क्युबा, इरिट्रिया,ग्याबन, इन्डोनेसिया, कजाकिस्तान, मारिटानिया,नामिबिया, नेपाल, पाकिस्तान,कतार,सेनेगल,सुडान, युएई ,उज्बेकिस्तान, आइभरी कोस्ट र भेनेजुएला छन् ।

यसैगरी अमेरिकी प्रस्तावको समर्थनमा चेक रिपब्लिक, फिनल्यान्ड,फ्रान्स, जर्मनी, होन्डुरस, जापान, लिथुआनिया, लग्जम्बर्ग,मार्शल आइसल्यान्ड,मोन्टेग्रो, निदरल्यान्डस्, पराग्वे, पोल्यान्ड, अमेरिका, ब्रिटेन, रिपब्लिक अफ कोरया र सोमालिआ रहेका छन् ।

भारत लगायत ११ देशले यो प्रस्तावको कुनै पनि पक्षमा मतदान नगरी तटस्थ बसेका थिए ।