
चन्द्रमणि गाैतम
नयराज पन्तको जन्म १९७० साल साउन २६ गते काठमाडौंको महाबौद्धमा भएको थियो । पण्डित कृष्णदत्त त्यस जमानामा विद्वानमण्डलीमा सुविख्यात थिए । काठमाडौंदेखि कासीसम्मका विद्वानगणमा उनको बराबर चर्चा हुन्थ्यो।
पन्तले फुटकर रुपमा कविता र प्रबन्ध लेखे । धेरैचाहिं उनले इतिहास नै लेखे । उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए । साथै ज्योतिष विषयक कृतिहरू मात्र दसवटा र संस्कृत वाङ्मयका एउटा कृति पनि प्रकाशित भए । २०५९ साल कात्तिक १८ गते काठमाडौंको आर्यघाटमा उनको स्वर्गारोहण भयो ।
नयराज पन्त जन्मेको डेढ वर्षमा नै कृष्णदत्त स्वर्गीय भए। त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन् । त्यही नै नयराज पन्त हुर्के, बढे र पढे । मामाघरमै १३ वर्षमा पन्तको जनकराज पण्डित (पाण्डे) की छोरी १२ वर्षी बुधकुमारीसँग विहे भयो । पन्त दम्पत्तिबाट दुईछोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो ।
वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे । उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले वाल्यकालदेखि इतिहासमा चासो राखेका थिए । आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिं उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए । उनी स्रेस्ता पाठशाला पनि पुगे । पर्ढाई रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो ।
पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानाहरूलाई पनि सिकाउँथे । उनी फकाईफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिदैन थिए ।
पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए । त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए । वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए । साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए । अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो।
आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा ज्योतिषको अध्यापक थिए । त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले ।
पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो । त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भएर त्यहाँ झन्नै सत्र वर्षसेवा गरे, त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत अन्वेषणमा पसे, खगोल गणित ज्योतिषमा संलग्न भए । उनी झन्नै पन्ध्र वर्षम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा आबद्ध भए ।
यिनको समेत पहलमा २००९ सालमा संशोधन मण्डलको स्थापना भयो । त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे । दिनेशराज पन्तका अनुसार त्योभन्दा अघि नेपालमा विशुद्ध इतिहास लेख्ने चलनै थिएन ।
उनले त्रिभुवन प्रज्ञापुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कारलगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घसंस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे । उनी लोभानी र पापानीमा पनि कहिले लागेनन् । साथै अहम्, आडम्बर र घमण्डमा पनि उनी कहिले फसेनन् ।
(नई प्रकाशनको वेब साईटबाट)
उनको उपरोक्त भनाई २००८ सालदेखि ००८ साल अन्त्यसम्मको "पिताजीको डायरी पल्टाउँदा" शिर्षकमा उनकै छोरा महेशराज पन्तले दैनिक नयाँ पत्रिकामा ०७५ चैत २३ शनिबारको अंकमा लेखेको पूरा पृष्ठको लेखमा उल्लेख छ ।
कान्तिपुर दैनिकमा राजकुमार बानियाँ लेख्छन्, "नयराजका ४१ शिष्य–प्रशिष्यमध्ये धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्तसहित २४ जना त लेखककै रूपमा चिनिए । उनीहरू प्राचीन, मध्यकालीन र आधुनिक इतिहासका अध्ययनका खम्बा मानिन्छन् । उनको बेनामे पाठशाला इतिहासका भ्रम र अशुद्धि औंल्याउने स्रोतसंस्थाका रूपमा न्वारान भयो, संशोधन–मण्डल ।"
"काठमाडौं मजिस्ट्रेट अफिसमा विधिवत् दर्ता भएको संशोधन–मण्डलका संस्थापक भोलानाथ पौडेल, धनवज्र वज्राचार्य, देवीप्रसाद भण्डारी, रामजी तेवारी, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, नयनाथ पौडेल र दिनेशराज पन्त हुन् । भनिएको थियो, ‘संशोधन—मण्डलको उद्देश्य देशको शुद्ध र सर्वांगीण इतिहास निर्माण गर्दै जानु हो, कसैको मान या अपमान गर्नु होइन ।’"
"२००९ देखि २०२५ सम्म ‘इतिहास–संशोधन’ का ६८ संख्या र २०१३ देखि २०३८ सम्म छापिएका ३१ वटा ‘सावधान–पत्र’ ले लोक सनसनी फैलाए । त्यसपछि ‘अभिलेख संग्रह’ त्रैमासिक १२ अंक छापिए भने २०२१ मा इतिहासप्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’ को प्रकाशन थालनी भयो ।"
"संशोधन–मण्डलबाट यसबाहेक नेपालको इतिहास, गणितज्योतिषको इतिहास, संस्कृतसाहित्य, व्याकरण र पञ्चांग संशोधनका साना–ठूला दर्जनौं कृति प्रकाशित छन् । कौटल्य अर्थशास्त्रको ऐतिहासिक व्याख्या पनि भयो । गोर्खाको चार भागको इतिहास पनि यसकै आर्जन हो । लिच्छविकाल, मध्यकाल र शाहकालका १४३ वटा अभिलेख पनि प्रकाशित भए ।"
"समयक्रममा संशोधन–मण्डलका शिष्य–प्रशिष्य जतिसुकै काम गरे पनि जीवनवृत्ति चलाउन नसकेर लाखापाखा लागे ।...."(इतिहासको गुरुकिल्ली शीर्षक लेख, शनिबार, १७ आश्विन ०७७)
साभार - चन्द्रमणि गाैतमजीकाे मुहार पुस्तिका