
लोकनारायण सुबेदी
आखिर किन संघीय गणतन्त्र नेपालको एक थान संबिधान निर्माण गरेर निर्बाचन पछि झण्डै दुइ तिहाईको सरकार बने पनि मुलुकुले स्थिरता र समाजले स्थायित्व पाउन सकेन यो आजको अत्यन्तै महत्वपूर्ण र ज्वलन्त यक्ष प्रश्न हो । यस प्रश्नले सही उत्तर नपाएसम्म फेरि पनि सार्थक र अग्रगामी दिशामा देशको बर्तमान र भबिष्यको यात्रा होला भन्ने कुरामा निश्चिन्त र ढुक्क हुनसक्ने स्थिति देखिदैन । अनि देशमा पछिल्लो परिबर्तन आएको डेढ दशक बित्न लागे पछि आफैले बनाएको भनिएको र निकै गुणगान गाएको संबिधानप्रति स्वयं सत्तामा खाइखेली गरेका दल र तिनका नेताहहरु नै यस बारे प्रश्न उठाइरहेका छन् र प्रश्न खडा गर्ने स्थिति बनाइरहेका छन् । सतहमा जे जस्ता अबस्था बिकसित भए जस्तो देखिएको छ त्यसले परिबर्तनको प्रतिनिधित्व गरेको छैन र यही तरीकाले गर्न पनि सक्तैन भन्ने कुरा भने शतप्रतिशत सत्य छ । किनभने बाहिर निकै ठूलो परिबर्तन भएको जस्तो देखिएको भए पनि यसको भित्री तहमा भने पुरानै यथास्थितिमाथि उपरी ढाँचामा सामान्य परिबर्तन मात्र आएको हो । एक किसिमले भन्ने हो भने पुरानै चीजलाई नयाँ रंगरोगन गरे जस्तो स्थिति मात्र हो । त्यसैले सतहमा ठूलो परिबर्तन जस्तो देखिए पनि त्यो भावनात्मक र कागजी मात्र रह्यो । यथार्थ जीवनमा परिणत जीबन्त हुन सकेन ।
हुन पनि जनताले हिजो ०७ साल पछिको आरम्भिक बहुदलीय कालमा पहिलो पटक मतादेश दिएकै हुन् । त्यसको रक्षा गर्न र त्यस आधारमा जनता र राष्ट्रलाई सही बाटोमा अग्रसर गराउन नदिने पुरानै तत्वको बर्चश्व रहेको अबस्थमा त्यस बेलाको सतही परिबर्तन पनि त्यो पुरातन शक्तिलाई सैह्य भएन । त्यसपछिको झण्डै तीन दशकका निर्दलीय कालमा पनि मत दान हुने गरेकै हो । त्यसले कुनै अधारभूत परिबर्तन ल्याउन सक्ने थिएन नै । ल्याएन । बिकासका रंगीचंगी कुराहरु भए गरिए । तर आधारभूत जनताको जीवनमा कुनै तात्विक अन्तर आउन सकेन र आउन सक्ने थिएन । फलतः राष्ट्र पनि कमजोर हुँदै गयो । अनि बहुदलका लागि आन्दोलन उठ्यो र सतही परिबर्त पुनः आयो । तर त्यो पनि जनता र राष्ट्रका निमित्त सही बिकल्प साबित हुन सकेन । पुनः बिकृति र बिसंगतिको डंगुर लाग्यो । त्यसको आडमा प्रतिगमनका बाछिटाहरु आए । त्यसका बिरुद्ध उठेको आन्दोलनले गणतन्त्रसम्मको यात्रा तय गर्यो ।
तर यो गणतन्त्रात्मक ब्यवस्थामा पनि पुरानै अर्थ–सामाजिक धरातलमा खडा गरिएको हो । फलतः त्यसले पनि जनता र राष्ट्रमा कुनै नबीन ऊर्जा र उत्साह पैदा गर्न सकेन अनि नब जीवन र नबाचार दिन सकेन र सक्ने पनि थिएन । परिणामतः यसमा पनि अनेक बिकृतिहरु उत्पन्न भए र नयाँ आबरणमा पुरानै कुरा चलाउने कसरत गरियो र गरिदैछ । त्यसले कुनै नबीन राजनीतिक सँस्कृति, मूल्य, मान्यता र परिपाटीको सृष्टि गर्न सकेन र सक्ने आधार पनि थिएन । किनभने पुरानै धरातलमा खडा भएको उपरी ढाँचा पुरानै बर्चश्वशाली रहँदै आएको बर्ग र शक्तिकै वरिपरी घुम्ने बाहेक अरु कुनै हुन सक्तैनथ्यो र भएन । त्यसले गर्दा हिजोको भन्दा राम्रो काम गर्न नसके पनि हिजोकोभन्दा खराब काम नगर्दिए हुन्थ्यो भन्ने झिनो शुभ भावनाले केही हुने थिएन र भएन । त्यसैले ‘गाँसेगुँसे एकै नासे’ भन्ने जनताको पुरानो उखान मात्र चरितार्थ हुँदै आयो र जनताले एउटै निष्कर्श निकाले – ‘जुन जोगी आए पनि कानै चिरेको’। यो जनोक्तिलाई सत्तामा खाइखेली गरिरहेका र गरिसकेकाहरु सबैले राम्रैसँग चरितार्थ गरिसकेका र गरिरहेका छन् ।
राजनीतिक परिबर्तन पछिका मूख्य मुद्दा जे हुनु पर्ने थियो नेपालका मूख्य उत्पादक शक्तिहरु मूख्यतः किसान बर्गका बिभिन्न तह र तप्कालाई केन्द्र बिन्दूमा राखेर त्यतातिर पटक्कै ध्यान दिइएन । बरु पहिलादेखि नै अर्थ–राजनीतिक बर्चश्व जमाउदै आएकाहरुलाई नयाँ आवरणमा राजनीतिको केन्द्रमा राखेर सतहमा पात्र फेरेजस्तो गर्ने तर पुरानै कुरा बोकेर हिड्ने परिपाटी र सँस्कृति नै बसालियो । सत्तामा पुगेपछि अग्रगामी लोकतान्त्रिक परिवर्तनका पक्षधर दाबी गर्ने दलहरुको मति पनि भ्रष्ट हुदोरहेछ भन्ने कुरा पटक पटक प्रष्ट भयो । यसरी मति बिग्रेपछि गति पनि बिग्रने कुरा स्वाभाविकै हो । अनि सत्ताले यसरी भ्रष्ट बनाए पछि देश र जनतालाई परिवर्तनकामी शक्तिको आँखाले होइन, हिजोकै राजा महाराजा, राणा र पञ्चहरुकै आँखाले नै हेर्ने र ब्यवहार गर्ने गर्दारहेछन् भन्ने फर्जी राजनीति पनि देखियो । अनि यस्तो नक्कली राजनीतिको प्रतिफल राष्ट्र र जनताको परिवर्तनको चाहना र अपेक्षा अनुरुप हुने कुरै हुदैन । अहिले हामीले देखिरहेको राष्ट्रिय राजनीतिका दृष्य परिदृष्यहरु करीब यस्तै यस्तै खालका हुन् । अनि जनता निराश र आक्रोशित किन नहुन् । देश अधोगतिमै किन नजाओस् । यो स्थितिबाट मुलुकलाई बाहिर निकालेर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्त नबीन धरातल निर्माण गर्न अग्रसर शक्ति र बिकल्प आजको आबश्यकता बनेको छ ।अन्यथा नयाँ नयाँ आवरण्मा नक्कली फर्जी राजनीति नै फेरि पनि देशमा चलिरहने कुरा एकदमै निश्चित छ ।