उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको विज्ञप्ति निकालेका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उपराष्ट्रपति पुनले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीको आलोचना गरेका हुन् । संविधानको दायराबाहिर जाने छुट कसैलाई नभएको विज्ञप्तिमा उपराष्ट्रपति पुनले जनाएका छन् ।
‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन्, यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो, संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’, विज्ञप्तिमा उल्लेख छ ।
संविधानको संरक्षक राष्ट्रपतिबाटै संवैधानिक दायरा नाघिनु दुःखद भएको आरोप छ । संविधानबमोजिम सबैबाट आआफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
