शनिबार, आश्विन १७ गते २०८३

वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले बढाए निक्षेपको ब्याजदर, बचतमै १०.१३ प्रतिशत

भाद्र ३१, २०७९ शुक्रबार
वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले बढाए निक्षेपको ब्याजदर, बचतमै १०.१३ प्रतिशत

 

निक्षेपकर्ताले पाउने ब्याज बढेको छ । बैंक तथा वित्तीय संस्थाले झण्डै ६ महिना पछि ब्याजदरमा परिवर्तन गरेका हुन् । असोज १ गतेबाट लागुहुने गरी बैंकहरुले निक्षेपको ब्याजदर बढाएको योजना सार्वजनिक गरेका छन् । 

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले वृद्धि भएको छ । जसअनुसार उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ र रेमिट्यान्समा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपमा १२.०३ प्रतिशत, संस्थागतमा १०.०३ प्रतिशत र रेमिट्यान्समा १३.०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

वाणिज्य बैंकहरुले पछिल्लोपटक गत फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए । त्यसपछि बैंकहरुले लगातार ६ महिना अर्थात भदौसम्म सोही ब्याजदरनलाई निरन्तरता दिँदै आएका थिए।

विकास बैंकहरुले पनि आफ्नो ब्याजदर वृद्धि गरेका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएका हुन् ।

फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । शुक्रबार अर्थात् भदौको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रकाशन गरी ब्याजदर बढाएको जानकारी गराएका हुन् ।