देश र जनतालाई चौतर्फीरुपमा अर्थात राजनैतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिकरुपमा सबल बनाउने कुरालाई केन्द्रमा राखेर हिड्नु नै राजनीतिक सफलताको मूख्य र आधारभूत कसी हो । यी कुरा झिकिदिने हो भने अरु सबै कुरा फजुल र फिका हुन्छन् राजनीति गर्नेहरुका लागि । अहिलेको नेपालमा जेलाई राजनीति भनिन्छ त्यो राजनीति नै होइन । त्यो त कुर्सीको लागि अनन्त छल प्रपञ्चको खोक्रो र स्वार्थी खेल मात्रै हो र यस्तै कुराले नै नेपालमा हुने गरेका परिबर्तनले पनि कुनै ऊर्जा र उत्साह नपाएर देश र जनता निरीह र दीनहीन जस्तो पीडादायी अबस्थाबाट गुज्रिरहनु परेको र चौतर्फी संकटको घेरामा पर्नु परेको हो ।
हुन पनि नेपालका जन आन्दोलनहरु केवल मात्रात्मक स्तरमा मात्र सफल भएका हुन् । अहिलेसम्म ती कुनै आन्दोलनले पनि पूर्णता पाएर गुणात्मक परिबर्तन स्तरको सफलताको सिढी चढ्न सकेका छैनन् । त्यसले गर्दा जन आन्दोलनका ती सीमित उपलब्धीहरु पनि कमजोर अबस्थाबाट गुज्रिहेका हुन् । यस्तो स्थिति भएकाले नै केही सीमित शक्ति र तिनभित्र रहेका केही टाठाबाठा ब्यक्तिहरुले मात्र परिबर्तनको तर मार्न सफल भएका हुन् र आम जनताले परिबर्तनको कुनै सकारात्मक अनुभूति गर्न नपाएका या नसकेका हुन् । अहिलेको असन्तुष्टीको आधारभूत कारण नै यही हो ।
यस स्थितिले बस्तुत: फेरि पनि आमूल सामाजिक परिबर्तनको नै माग गर्दछ । टालटुले सुधारको कुरा होइन । उन्नत ढंगले त्यो दिशातर्फको अग्रसरता नै आजको राष्ट्रिय आवश्यकता हो । राजनैतिक कार्य दिशा बनाउदा यो कुरालाई केन्द्रियरुपमा गम्भीर किसिमले ध्यान दिइनै पर्दछ । अन्यथा त्यो कार्य दिशा बिगतमा जस्तै त्रुटीपूर्ण र अन्तत प्रत्युत्पादक हुन्छ ।
निश्चय नै संबिधानका कागजमा समाजबाद लेखेर ब्यवहारमा नबउदारबाद र नब फाँसीवादको बाटो हिड्ने प्रबृत्तिबाट देश र जनताका समस्या समाधान हुँदैनन् बरु अझ चर्किएर जटील बन्छन् । कुनै पनि सारभूत कुरा सफल तुल्याउन त्यसका सहायक र सहयोगी संरचना, संयन्त्र र सार्थक प्रयास चाहिन्छ । अन्यथा जहिले पनि जन साधारणलाई अल्मल्याउने कुरा नै बारम्बार दोहोरिने गर्दछ । अहिलेसम्म यस्तै हुने गरेको र जनताले 'जुन जोगी आए पनि कानै चिरेको' कटु अनुभब गर्नु परेको हो ।