शनिबार, आश्विन १७ गते २०८३

भारतको मुथुट फिनकर्प र आइएमईबीच रेमिट सम्झौता

भाद्र १७, २०७९ शुक्रबार
भारतको मुथुट फिनकर्प र आइएमईबीच रेमिट सम्झौता


मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवर्धन गर्ने उद्देश्यसहित भएको सम्झौतामा भारतको मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन् । 

भारतमा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मुथुट फिनकर्प लिमिटेडका सीईओ साजी वर्गीसले ३६०० शाखामार्फत् भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्वपूर्ण हुने धारणा राखे । 

यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले भने, मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने र ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्ने जनाए । 

नेपाली आप्रवासीहरूले मुथुट फिनकर्प लिमिटेडको ३६०० भन्दा बढी शाखाहरू मध्ये कुनै पनि शाखाबाट  नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् । 

विशेष गरी नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३% योगदान गर्दछ । नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान रहेको छ ।