नेपाल हस्तकला महासंघले २०२२ को सेप्टेम्बर ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने नवौं संस्करणको इक्जिम बजार २०२२ प्रदर्शनीमा सहभागिता जनाउने भएको छ । परम्परागत, समकालिन लगायत हस्त शिल्पकला, हस्तकला लगायत विभिन्न कला उत्पादनमा संलग्न उद्यमी व्यवसायी, कलाकार एवं कलाकर्मीहरुलाई प्रदर्शनी एवं बिक्री कार्यक्रमको माध्यमबाट बस्तु एवं बजार प्रबद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले सो इक्जिम बजार प्रदर्शनी भारतको विभिन्न शहरहरुमा आयोजना हुँदै आई रहेको छ ।
यस पटक भारतको इक्जिम बैंकको आयोजनामा नयाँ दिल्ली स्थित नेशलन क्राफ्ट्स एण्ड हस्तकला अकादमीमा हुन लागेको सो प्रदर्शनीमा नेपाल हस्तकला महासंघबाट मैन मुर्ति कलाकार मनोज शाक्य, रिपोसे र फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्र बहादुर शिल्पकार, रेशा जन्य बस्तु विधाका कलाकार तथा उद्यमी रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदिप शाक्यले प्रतिनिधित्व गर्नेे भएका छन् ।
हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालिगढहरको सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एक अर्काको सीप, प्रविधि अनुभव आदान प्रदन गरी व्यवसाय प्रवर्धनका लागि महासंघबाट समयसापेक्ष पहल एवं आवश्यक क्रियाकलाप सञ्चालन हुँदै आएको छ । प्रदर्शनीको माध्यमबाट सहभागी कलाकारहरुमा भारतको बजारमा आफ्ना कलाकृति, उत्पादनहरुको प्रदर्शनी गरी व्यवसाय प्रवर्धन गर्न थप प्रोत्साहन मिल्ने अपेक्षा महासंघको छ ।