शनिबार, आश्विन १७ गते २०८३

आइएमई  र पतञ्जलीबीच सम्झौता, दश हजार आउटलेटबाट नेपालमा पैसा पठाउन सकिने

भाद्र १५, २०७९ बुधबार
आइएमई  र पतञ्जलीबीच सम्झौता, दश हजार आउटलेटबाट नेपालमा पैसा पठाउन सकिने


पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका हुन् ।

हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो । समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परम पूज्य स्वामी रामदेवले  साझेदारीले भारत–नेपालवीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको जनाए ।

आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रसन्नता जनाए । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने आचार्य बालकृष्णले बताए ।

हरेक वर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन्, जसमध्ये रोजगारी मुख्य कारण हो । प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य छन । आउटलेटहरूमा सजिलो पहुँचको कारण भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्नेछन् ।