नेपाल विद्युत् प्राधिकरणले विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले मुख्य कार्यालय परिसर रत्नपार्कमा आज सो स्टेशनको उद्घाटन गर्दै सञ्चालनमा ल्याएको हो ।
अहिले प्राधिकरण देशका प्रमुख शहर तथा राजमार्गका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसनको निर्माणको तयारीमा जुटेको छ । जसमध्ये केही स्टेसनहरू सञ्चालनमा आउँने तयारीमा छन् भने केही स्टेसनको निर्माण तथा जडानको कार्य भइरहेको छ । ५१ वटा चार्जिङ स्टेसन मध्ये पहिलो स्टेसन प्राधिकरण परिसर निर्माण भइ सञ्चालनमा आएको हो ।
पछिल्लो एक वर्षको बीचमा विद्युतीय खपत २५ प्रतिशतले बढेको ऊर्जा तथा जलस्रोत मन्त्रालयकी मन्त्री पम्फा भुसालले बताइन् । उनका अनुसार रुस र युक्रेन युद्ध प्रकरणका कारण विश्वमा ऊर्जा क्षेत्रमा ठुलो संकट आएको छ । ‘संसारका धेरै देशमा यस्ता चार्जिङ स्टेसन सञ्चालन गर्ने मौंका छैन, हामीले गर्व गर्नु पर्छ, किनभने देशमा नै भएको जलस्रोतबाट पर्याप्त मात्रामा ऊर्जाको उत्पादन गर्न सक्छौं,’ उनले भनिन् ।
मन्त्री भुसालका अनुसार काठमाडौंबाट एउटा विद्युतीय सवारीबाट सिन्धुलीसम्म पुग्दा ३ सय रुपैयाँ मूल्य बराबरको विद्युत खपत हुन्छ भने डिजेल र पेट्रोलको गाडीमा सो ठाउँ सम्म पुग्दा ४ हजार रुपैयाँ खर्च हुन्छ । विद्युतीय सवारी प्रयोग गर्दा १० गुणा यात्रा सस्तो पर्न जाने उनको भनाइ छ ।
एउटा चार्जिङ स्टेसन निर्माण गर्नको लागि प्राधिकरणले अनुमानित एक करोड २० लाख रुपैयाँ बजेट छुट्याएको दी–गो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन रायमाझीले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालयमा निर्माण गरेको उक्त चार्जिङ स्टेसन ८० लाख रुपैयाँको लागतमा तयार भएको हो ।
चाइनिज कम्पनीको स्टार चार्जर ब्राण्डको प्रविधि प्राधिकरणले जडान गरेको हो । स्टेसनमा २६ वटा जीबीटी चार्जर र २५ वटा सीसीयस चार्जर रहेका पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसको लागि आवश्यक राष्ट्रिय सेवा प्रदायक प्रणालीको विकास गरिएको छ । एनएसपी मार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछ । चार्जको रकम भुक्तानीको लागि प्राधिकरणको मोबाइल एप्स प्रयोग गर्न सकिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डिसी, २२ किलोवाट एसी रहेको छ । यद्यपि सो स्टेसनमा १ सय २० किलोवाट डिसीसम्म पनि सिङ्गल डिसीका गाडीहरू पनि चार्ज गर्न सकिन्छ । नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा देखि १ घण्टासम्ममा चार्ज पूर्ण भइसक्ने दाबी प्राधिकरणले गरेको छ ।
विद्युतीय चार्ज स्टेसनमा गाडी चार्ज गर्दा कारहरूमा औसत सत्तरी पैसा, यसयुभीहरुमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ बिस पैसा प्रति किलोमिटर खर्च लाग्ने प्राधिकरणले जनाएको छ । यो स्टेसनमा २ वटा डिसी र एक वटा एसी चार्जर रहेको छ ।
चार्जको लागि प्राधिकरणले समय अनुसारको इनर्जी शुल्क निर्धारण गरेको छ । चार्ज गर्दा कारहरुका औसत ७० पैसा, एसयुभीहरुमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ। समय अनुसार इनर्जी शुल्क फरक फरक रहेको छ।
मझौला भोल्टेज ३३ के भि का इभीका गाडी साँझको ५ देखि ११ बजेसम्म ८ रुपैयाँ ८० पैसा, राति ११ बजे देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ बजे देखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ६० पैसासम्म प्रति किलोवाट शुल्क लाग्ने छ प्राधिकरणले जनाएको छ ।
यस्तै, मझौला भोल्टेज ११ केभी सम्मका इभीका गाडी चार्ज गर्नु परेमा साँझको ५ बजेदेखि रातीको ११ बजेसम्म ८ रुपैयाँ ६० पैसा, ११ बजे देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र ५ बजे देखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ७० पैसासम्म लाग्ने छ । यसै गरी तल्ला भोल्टेजका इभीका गाडीहरूको साँझको ५ बजे देखि रातको ११ बजेसम्म ८ रुपैयाँ ७० पैसा, ११ बजेदेखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा र ५ बजेदेखि बेलुका ५ बजेसम्म ६ रुपैयाँ ९० पैसासम्म शुल्क लाग्ने प्राधिकरणले जनाएको छ ।
केही दिनपछि नै उपत्यका भित्र ५ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारीका साथ प्राधिकरण अगाडि बढेको छ । जसमा बल्खु, साँगा, नक्साल, खुरकोट आदि ठाउँमा सञ्चालनमा आउँने दिगो कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन रायमाझीले बताए । बाँकी क्रमशः चार्जिङ स्टेसनको निर्माण गर्दै जाने उनको भनाइ छ ।