शनिबार, आश्विन १७ गते २०८३

लघु बीमा कम्पनी स्थापना सम्बन्धी निर्देशिका जारी, छिट्टै लाइसेन्स दिइने

भाद्र ७, २०७९ मंगलबार
लघु बीमा कम्पनी स्थापना सम्बन्धी निर्देशिका जारी, छिट्टै लाइसेन्स दिइने

 

बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्नका लागि लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको छ । बीमा समितिले दुई वर्षको समय लगाएर लघु बीमकको लाइसेन्स खुला गर्ने तयारी पुरा गरेको हो ।

निर्देशिका अनुसार लघुबीमकको रुपमा दर्ता हुन प्रचलित कानुन बमोजिम सीमित दायित्व भएको पब्लिक लिमिटेड कम्पनीका रुपमा समितिको पूर्व स्वीकृतिमा संस्थापना र दर्ता भएको हुनुपर्ने छ।

बीमकको चुक्ता पुँजी समितिले तोके अनुसार हुनुपर्ने छ। लघुबीमा व्यवसायको प्रमाणपत्र लिनको लागि संस्थापक समुह कम्तीमा ५१ प्रतिशत हुनुपर्ने छ। सर्वसाधारण बिक्रीको लागि खुल्ला गरिएको कम्तीमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै लघु बीमकले आफ्नो कर्मचारी निम्ती चुक्ता पुँजीको बढीमा ५ प्रतिशत छुट्याउन सक्नेछ।

लगानीकर्ता संगठित सस्था भएको खण्डमा भने पुँजी वा जगेडा कोषमा लगानी योग्य रकम हुनुपर्ने छ। त्यसै गरी संस्थापकका एकाघर परिवार, सस्था वा संस्थागत समुहको कुल चुक्ता पुँजीको १५ प्रतिशत वा सोभन्दा कम शेयर स्वामित्व हुनुपर्ने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख गरिएको छ।

त्यसैगरि प्रस्ताविक बीमकको आधारभूत सेयरधनी सोही प्रकारणको अन्य आधारभूत सेयरधनी हुन पाउने छैन। लघु जीवनबीमा र निर्जीवन बीमा व्यवसाय गर्नेको लागि छुट्छुटै आवेदन दिनुपर्ने छ। लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा क्रस होल्डिङ भए त्यस्तो लगानीकर्ता सस्थापक रहन पाउने छैन।

निर्देशिले प्रस्ताव मूल्याङ्कनका  ७ वटा  आधारहरु तय गरेको छ । जस अन्तर्गत, व्यवसायिक सम्भाव्यता अध्ययन प्रतिवेदन लघुबीमा व्यवसाय सम्बन्धमा स्पष्ट अवधारणा, वस्तुगत विश्लेषण सहित विस्तृत व्यवसायिक कार्ययोजना, विदेशी लघुबीमा कम्पनीसँग संयुक्त लगानीमा व्यवसाय गर्ने सम्ब्नधी विषयका साथै प्राविधिक सहयोग सम्बन्धी विषय, प्रडक्ट डिजाइन, प्राविधिक पुष्ट्याई तथा व्यवसाय विकास सम्बन्धी विषय, संस्थागत लगानी सम्बन्धी विषय, लघुबीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालमा यस्तो व्यवसाय स्थापना र संचालन गर्न आवस्यक हुने विषय, लघुबीमा व्यवसायसँग सम्बन्धित आवश्यक विविध पक्ष, समितिले उपयुक्त ठानेका अन्य विषयहरु रहेका छन् । 

लघु बीमा कम्पनी खोल्नका लागि प्रस्ताव पेश गर्ने प्रस्तावकको मूल्याङ्कनका लागि समितिले छुट्टै उपसमिति बनाउनेछ । यहि मूल्याङ्कनका आधारमा उक्त उपसमितिले अंक प्रदान गर्नेछ । सबैभन्दा धेरै अंक ल्याउने प्रस्तावकलाई लाइसेन्स दिइने समितले जनाएको छ ।