शुक्रबार, कार्तिक ७ गते २०८३

चीनमाथिको अमेरिकी घेराबन्दीले बिश्वलाई अबाञ्छित चूनौति

श्रावण २२, २०७९ आइतबार
चीनमाथिको अमेरिकी घेराबन्दीले बिश्वलाई अबाञ्छित चूनौति

foto2.jpg
लोकनारायण सुबेदी
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाकी अध्यक्ष नान्सी पेलोसीको ताइवान यात्राले बिश्वका दुइ प्रमुख महाशक्तिहरु अमेरिका र चीनका बीच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म बिश्वको सम्पूर्ण ध्यान यूक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरुले रुसका बिरुद्ध मोर्चा खोलिराखेका थिए । त्यो मोर्चामा अब गतिरोध या ठहरावकाको स्थिति बिकसित हुँदै गएको देखिदैछ । तर यता एशियाको जलक्षेत्र खाशगरी प्रशान्त जल क्षेत्र या चीन सागरमा  भने भयावह युद्धको आगो लाग्न थालेको छ । हुन पनि आज यूक्रेन र ताइवानलाई लिएर तेश्रो बिश्व युद्धको चर्चा निकै चर्कोरुपमा  हुन थालेको छ । यो कुरा निश्चित छ कि अहिले जे जति परमाणु हात हतियारको खलियो बिश्वमा लागेको छ त्यसको प्रयोगले बिश्व बिनाश बाहेक अरु केही हुुनेवाला छैन । त्यसर्थ कुनै पनि देश सर्बनाशको यो जोखिम उठाउन तयार छैन । त्यसैले गर्दा नै युद्ध टर्दै टर्दै आएको छ । युद्ध कसैले छेड्यो कि त्यो ‘भस्मासुरको बरदान’ जस्तो अपूर्ब र  अकल्पनीयरुपमा बिनाशकारी हुनजाने निश्चित छ ।
   अमेरिकामा नान्सी पेलोसी राष्ट्रपति र उपराष्ट्रपति पछिको बरियताको तेश्रो महत्वपूर्ण पद हो । यस हिसावले पनि नान्सी पेलोसीको ताइवान भ्रमणले ठूलो चर्चा पाएको हो । यो उनको नीजी भ्रमण त झन हुँदै होइन । कुरा के भने चीनलाई हिन्द–प्रशान्त क्षेत्र, खशगरी  चीन सागरको वरिपरीको क्षेत्रमा चलखेल गर्न नदिन र उसको भूमिकालाई सीमित तुल्याउन अमेरिका पहिलादेखिनै घेराबन्दीका अनेक हर्कत गर्दै आएको छ । त्यसैले पनि नान्सी पेलोसीको ताइवान यात्राको आकलन र त्यसको भावी परिणामका बारेमा  अमेरिकी रक्षा मन्त्रालयले अबश्य गरेको अुनमान गर्न माथापच्ची गरिरहनु नै पर्दैन ।उनको यात्राका बेला उनको सुरक्षामा कुनै किसिमको खतरा नरहोस् भन्नाका खातिर अमेरिकाले सैनिक उपाय पनि अबश्य गरेको थियो होला नैं । अनि त्यो यात्राको त सुरक्षित अबतरण भयो होला पनि । तर ताइबानलाई लिएर चीन जसरी अघि बढ्यो त्यो अमेरिकी अनुमानभन्दा फरक भएको हुुनु पर्दछ ।किनभने यतिबेला ताइवान वरिपरी चिनीयाँ सैनिक गतिबिधि तीब्रतम भएको कुरा सबैले देखिरहेका छन् र चीनले पनि यो लुकाए छिपाएको कुरा छैन । यद्यपि यी सबै गतिबिधिहरु ताइवानमाथिको चीनको सार्बभौमिकता, अखण्डता र स्वाधीनताको कुरा हो र ताइवान चीनको मातहतमा छ भन्ने कुरा दर्ज गर्नु हो र अमेरिकालाई १९७२ को एक चीन मान्यताको सम्झौता पुन: सम्झाउनु हो भन्ने कुरा पनि एकदमै प्रष्ट छ ।
 निश्चय नै चीनले यतिबेला अमेरिका सहीत सारा बिश्वलाई के कुरा प्रष्ट पारिरहेको छ भने चीनका लागि ताइवानको मुद्दा सबभन्दा प्रमुख र अन्तिम कुरा नै  ताइबान चीनको स्वशासित अंग हो भन्ने कुरा हो । यो कुरालाई नाघेर कोही पनि अघि बढ्न सक्तैन भन्ने नै चीनको अन्तिम सन्देश हो ।यस मद्दाको क्रममा चीनले अमेरिकासँग अन्य बिषयमा भइरहेका बार्ता प्रकृयाबाट पनि आफुलाई अलग राखिसकेको छ ।
   उता अमेरिकामा भने चीनको यो बिषयलाई लिएर रणनीतिकार र सैनिक बिशेषज्ञहरुकै दुइ फरक बिचार रहेको जस्तो देखिन्छ ।एउटा पक्षको के मान्यता देखिन्छ भने चीनलाई नियन्त्रणमा राख्नका लागि दूरगामी रणनीति अपनाइनु पर्दछ । यसका लागि सहयोगी देशहरुको गठबन्धन बनाइनु पर्दछ । यसै कुरालाई मध्यनजरमा राखेर गैर सैन्य संगठन ‘क्वाड’ र सैनिक संगठन ‘ओक्स’ बनाइएको औंल्याइन्छ । जे भए पनि अमेरिकी सभामुखको तत्कालीन ताइवान भ्रमणको परिणाम अहिले चिनीया नौसेना र अमेरिकी नौसेना एक अर्काको एकदमै सामुन्नेमा खडा हुन पुगेका छन् । यस्तो अबस्थामा अहिले कुनै युद्ध शुरु हुन्छ भने त्यो यी सम्मिलित देशहरुकै बीच सीमित रहन्छ भनिदैछ । यो संघर्षको दायरा पनि सीमित रहने बताइदैछ । अमेरिकाको सैनिक बिशेषज्ञहरुको अर्को तप्का के भन्दछ भने यदि चीन वास्तवमा सबैभन्दा खतरनाक देश हो भने कुनै बिलम्ब नगरिकन त्यससँग भिड्नु पर्दछ अरु कुनै  कुरा होइन । यसो गर्न जति बिलम्ब गरिन्छ त्यति नै चीन सबल हुँदै जान्छ भन्ने उनीहरुको तर्क छ । अबको एक डेढ दशकमा चीन बिश्वको सबैभन्दा ठूलो अर्थब्यबस्था बनिसक्ने छ । अनि उसको सैन्य क्षमता पनि धेरै अगाडि बढिसकेको हुनेछ । त्यतिबेला चीनलाई उसको प्रभाव क्षेत्रबाट हटाउने कुरा प्राय:असम्भव बन्न जाने अमेरिकी निष्कर्श छ ।
 यस सम्वन्धमा अमेरिकाका लागि सबैभन्दा कठिनाईको कुरा के छ भने उसले यूक्रेनमा पनि रुसका बिरुद्ध एउटा अर्को मोर्चा पहिलादेखि नै खोलिराखेको छ । केही समय पहिलासम्म अमेरिका यूक्रेनमा रुसको चूनौतिको सामना गर्नका लागि चीनको सहयोग लिन प्रयासरत रहेको देखिन्थ्यो पनि । अब भने चीनले अमेरिकालाई कुनै राहत देला भन्ने सम्भावना झीनु र नगन्य मात्रै रहेको उनीहरुको पछिल्लो निष्कर्श छ ।यति मात्रै पनि होइन, ताइवान मोर्चामा चिनका बिरुद्ध लामबन्दीमा रुसको सहयोग या तटस्थताको जुन गुञ्जायश हिजो देखिन्थ्यो त्यो पनि अब समाप्त भइसकेको छ । अहिले एकथरी बिश्लेषहरु के भनिरहेका छन् भने अमेरिकाले रुस र चीनको गठबन्धनलाई जान अञ्जानमा सबल बनाइदिएको छ । भारत पनि यूक्रेनमा जस्तै सतर्कताकासाथ कुनै मोर्चामा पनि नलाग्ने दिशातिर उन्मुख रहेको जस्तो गर्दैछ ।
तर बिश्वमा अहिले जुन दुइटा मोर्चा(यूक्रेन र ताइवान)मा बिश्व महाशक्तिहरुको संघर्ष केन्द्रित भएको देखिदैछ त्यसको सबैभन्दा गम्भीर र नकारात्मक असर भने बिश्व अर्थब्यबस्थामाथि पर्नेछ । यस बढ्दो र लम्बिदो संकटका कारण बिश्वमा खाद्य तथा ऊर्जा संकट ठूलो चूनौतिकारुपमा खडा हुुन पुग्ने छ । यसको सबैभन्दा बढी दुष्प्रभाव पनि यूरोपेली देशहरुमाथि पर्ने छ । त्यहाँ अहिले नै पनि आर्थिक मन्दीको ठूलो खतरा मडारिइरहेको छ । बिश्वको यो युद्धजन्य उथलपुथलबाट बिश्वका कुनै दुेशहरु पनि अछूतो रहन सक्ने छैनन् । त्यसमा पनि गरीब र बिकासशील देशहरुमाथि त यसको असर अझ चर्कोरुपमा पर्नेछ । यो स्थितिलाई फेर्न युद्धका कारक र कारणहरुको अन्त्य हुनु पर्दछ । असमानता, गरीबी, अभाव, शोषण र अन्यायको अन्त्य हुने बातावरण नबनेसम्म साना ठूला युद्धहरु र बिनाशलीलाहरु बिश्वले देख्नु र ब्यहोर्नु पर्ने स्थिति रहिरहन्छ ।