(यो व्यङ्ग्यात्मक टिप्पणी लेखिएको र ‘जनआन्दोलनका छर्राहरू’मा छापिएको अहिले होइन, धेरै पहिले हो, २०४७ सालमा । यसपाला, कतिकति वर्षपछि, मलाई यो टिप्पणीको झल्याँस्स याद आयो । स्मरणको प्रसङ्ग थियो पुष्पलाको स्मृति दिवस । र, स्मरण गराउने तत्त्व थियो, कान्तिपुर कोसेलीमा छापिएको एउटा लेख । लेखको शीर्षक थियो– ‘पुष्पलाललाई गद्दार भन्नु भुल थियो ।’ लेखक थिए– मोहनविक्रम सिंह, पहिलेका ‘घर्ती’ । पुष्पलाललाई गद्दारको फत्तुर लगाएको आनन्दबहादुरले थियो । यो गुप्त नाम खासमा कमरेड माहेनविक्रम सिंह ‘घर्ती’ले पुष्पलालमाथि छद्म भेषमा प्रहार गर्ने मनसायले पहिरिएको छलकारी आवरण थियो । ‘गद्दार’को यो फत्तुर जब प्रकाशमा आयो, निर्मल लामा दुःखी भए । उनले भने– पुष्पलाललाई गद्दारै भन्नुचाहिँ ज्यादती हो । ज्यादतीकर्ता थिए, मोहनविक्रम सिह ‘घर्ती’, जसलाई ऊबेला कम्युनिस्ट वृत्तको एउटा समूहले नेपालका माओ भन्थ्यो, र मोहनविक्रमका सहयोद्धा निर्मल लामालाई नेपालका चाउ एन लाई मान्थ्यो ।
नक्कल गर्नु कम्युनिस्ट नेताहरूको विछट्टको विशेषता वा घातक रोग हो । रुसका लेनिनले काउत्स्कीलाई ‘गद्दार’ भने । चीनका माओले लिउ साव चीलाई ‘गद्दार’ भने । नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरूले आफ्नो कद लेनिन वा माओको जत्रै नठाने पनि लेनिनका छातीछातीसम्म र माओका कुमकुमसम्म आउने त पक्कै ठान्दा हुन् । त्यसैले तिनले गुरु लेनिन र माओको नक्कल गर्दै सहयात्री कमरेडको गद्दार नामले न्वारान गरिदिने पुरेत्याइँ सम्पन्न गरे । चौथो महाधिवेशनका मोहनविक्रम सिंहले पुष्पलाललाई ‘गद्दार’ भने, मालेका नेताहरूले पुष्पलाल, मोहनविक्रम र मनमोहनलाई ‘गद्दार’ भने । पवित्र बागमतीको फुकिढल पुलमुनि कतिकति गन्धे पानी बगेर गयो । यो जलप्रवाहसँगै मालेका नेताहरूले ‘गद्दार’ पुष्पलाललाई गुरु पुष्पलाल मान्न थाले । पुष्पलालको यो मानमनितो वास्तवमा श्रद्धा वा कृतज्ञताको द्योतक किमार्थ थिएन । यो त केवल जे पनि बेचिखाने उपभोगमुखी राजनीतिक धन्दामा बिकाउ वस्तुका रूपमा पुष्पलालका नामको चलाखीयुक्त उपयोग थियो ।
मोहनविक्रम भने यति लामो समयसम्म पुष्पलाललाई प्रदान गरिएको ‘गद्दार’को पगरीमा अडिग रहे । अर्थात् जसले जे भनोस्, पुष्पलाल गद्दारै हुन् । तर, यसपाला आफ्नो बोलीलाई अपरिवर्तनीय ब्रह्मवाक्यसरह ठान्ने मोहनविक्रमले सविनय भुल स्वीकार गरे– ‘पुष्पलाललाई गद्दार भन्नु भुल थियो ।’ वास्तवमा मोहनविक्रमले कर्मद्वारा भुल स्वीकार गरेको त २०४६ सालको संयुक्त जनआन्दोलनमै हो । यसको सबुत हो, २०४७ सालमा लेखिएको मेरो व्यङ्ग्यात्मक टिप्पणी, जुन यहाँ प्रस्तुत छ ।)
यस धर्तीमा पुष्पलाल उभिएको आकाश रित्तो भएको निकै भइसक्यो । ‘संयुक्त जनआन्दोलन’ भन्दाभन्दै उनी बितेर गए । उनको विचारलाई ऊबेला न कांग्रेसीहरूले सुने, न कम्युनिस्टहरूले टेरे । तर, यसपाला पञ्च दानवविरुद्धको धावामा वाम, काङ एकता भयो र पुष्पलालले चिताएको संयुक्त जनआन्दोलन भएरै छाड्यो । पुष्पलालको विचारले साकार रूप लिँदा पञ्चपशुहरू पछारिए । तर, पुष्पलालको सम्झना त्यति नजिक भएको कतै देखिएन । आन्दोलनकालमा कि त हुङ्कार सुनियो, कि गालीका पर्रा सुनियो, कि त गणेशमानको चर्चा सुनियो । आन्दोलनमा पुष्पलालका विचारको उपस्थिति सर्वत्र थियो, तर उनको सम्झना भने एकाध अन्तरकुन्तरमा बाहेक कतै गरिएन ।
पुष्पलाल जीवित छँदा एउटा गोप्य लिखत छापिएथ्यो । त्यसको नाउँ थियो– ‘गद्दार पुष्पलाल’ । यसपाला आन्दोलन हुँदा एउटा अचम्मको दृश्य देखियो । पुष्पलालकै विचारको झोला बोकेर आन्दोलन अघिल्तिर लम्क्यो । पुष्पलाललाई ‘गद्दार’को फत्तुर लाउने कामरेड पनि यस धावामा हाजिर भए । हाजिर त भए, तर पहिलो पंक्तिमा होइन, दोस्रो पंक्तिमा । ‘गद्दार पुष्पलाल’को विचार आन्दोलनको अघिअघि, ‘गद्दार’को फत्तुर लाउने कामरेड आन्दोलनको पछिपछि । इतिहासको यो कति मजाको मजाक !
आखिर पुष्पलालका सपनाले साकार रूप लियो– संयुक्त जनआन्दोलन भएरै छाड्यो । आन्दोलनको चिम्टाको एक खुट्टो पुष्पलाल थिए, अर्का थिए गणेशमान । गणेशमान जीवित छन्, त्यसैले होला, उनको स्तुति अस्ति नै सुरु भइसक्यो । पुष्पलाल यस धर्तीमा छैनन्, त्यसैले होला उनलाई सम्झने फुर्सद कसैलाई छैन ।
एक साधारण मानिसमा हुन सक्ने दुर्बलताहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए, म जान्दिनँ । एक साधारण नेतामा हुन सक्ने दुर्बलताहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए, म जान्दिनँ । एक साधारण चिन्तकमा हुन सक्ने समयका सीमाहरू पुष्पलालमा पनि हुँदा हुन् । ती के थिए, म जान्दिनँ । उनका बारेमा म एउटै कुरा जान्दछु । त्यो के भने, विचार बेची खाने काम उनले कहिल्यै गरेनन् । आफ्नो आदर्श र निष्ठाका निम्ति सतीसालको रुखझैँ उनी हर्दम खडा रहे । र, निष्ठारक्षाको निर्मम संघर्षमा उनी सगर्व ढलेर गए ।
‘गद्दार’ नाउँले पुष्पलालको न्वारान गर्ने कामरेडले एउटा फत्तुरपत्र लेखेथे । फत्तुरको सार के थियो भने जनताले तत्काल हिँड्ने बाटो पुष्पलालले पहिल्याउन सकेनन् रे । राजनीतिको भाषामा यस्तो बाटोको नाउँ रहेछ– तत्कालीन कार्यक्रम । अनि भयो के रे भने जाने दिशाको पत्तो नहुँदा पुष्पलालझैँ भित्ते घडीको पेण्डुलम हुनाको दुःखबाट जोगिन भनेर क्रान्तिकारी कामरेडले नयाँ बाटो ठम्याए । त्यस बाटाको नाउँ थियो– ‘देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार’ ।
आठ–दश वर्षसम्म धुइँपत्ताल खोजी भयो । तर न कतै देशभक्त फेला पर्यो, न कतै जनतान्त्रिक हात लाग्यो । ‘हनुमान चालिसा’ जपेझैँ त्यो नयाँ मन्त्र जपियो । तर, त्यसबाट न क्रान्तिको दृष्टि खुल्यो, न जनताको बाटो सोझियो । आखिर सही दिशा ठम्याउन भनी रचिएको त्यो सूत्र रचनाकारकै हातले दिसाको रासमा मिल्काउन कर लाग्यो । सूत्र त मिल्काइयो, तर पुष्पलालका थाप्लाको ‘गद्दार’को पगरी भने ज्युँका त्युँ रह्यो ।
पुष्पलाल अब हाम्रो माझमा छैनन् । तर, व्यवहारको जाँचमा उनको विचार जीवनको सत्य ठहरियो । उनका विचारको सत्यता शहीदका रगतले जनताको स्मृतिमा लेखियो । रगतको मसी साह्रै गाढा हुन्छ । यो सत्य अब लेखियो, र यो मेटिनसक्नु भयो । आन्दोलन सम्झौतामा टुङ्गियो र सम्झौताले महाविवाद जन्मायो । भन्नैका लागि भन्ने हो भने यसो पनि भन्न सकिएला– सम्झौतामा धोका भो, त्यसैले पुष्पलालमाथिको फत्तुर अझै सदर छ । तर खाएको विष पो लाग्छ, नखाएको विष किन लाग्ने ? संयुक्त जनआन्दोलनका विचार–शिल्पी पुष्पलाल थिए । त्यसैले यसको जस उनलाई जाला । सम्झौताको टेबुलमा पुष्पलाल थिएनन् । त्यसैले, सम्झौताको खोटको अपजस उनलाई कसरी जाला र ?
आखिर पुष्पलालका सपनाले साकार रूप लियो– संयुक्त जनआन्दोलन भएरै छाड्यो । आन्दोलनको चिम्टाको एक खुट्टो पुष्पलाल थिए, अर्का थिए गणेशमान । गणेशमान जीवित छन्, त्यसैले होला, उनको स्तुति अस्ति नै सुरु भइसक्यो । पुष्पलाल यस धर्तीमा छैनन्, त्यसैले होला उनलाई सम्झने फुर्सद कसैलाई छैन ।
विचरा पुष्पलाललाई ‘गद्दार’को पगरी लगाइयो । तर, जनआन्दोलनमा उनै ‘गद्दार’को पछि लाग्न ‘गद्दार’का स्रष्टालाई कर लाग्यो । आन्दोलनले आफ्नै हैसियतअनुसारको फल जनतालाई दिएर गयो । पशुबाट अर्ध मान्छेमा फेरिँदाको सुख केही नेपालीलाई प्राप्त भयो । जे पाइयो, पाउनेले त्यसको भोगचलन गरिरहेकै छन् । तर, पुष्पलाललाई सम्झने फुुर्सद भने कसैलाई छैन ।
नेताहरू आ–आफ्नै लुते धन्दामा व्यस्त छन् । दलहरू आ–आफ्नै स्वार्थको सिकार खेल्नमा मस्त छन् । व्यवहारको जाँचमा पुष्पलालको विचार जीवनको सत्य ठहरियो । तर, उनका थाप्लाको गद्दारीको पगरी झिकिदिने फुर्सद कसैलाई छैन ।
साभार -शिलापत्र
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९, २०:३१:४५