बुधबार, भाद्र ३ गते २०८३

आर्थिक बृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन

श्रावण १८, २०७९ बुधबार
आर्थिक बृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन


काठमाडौं । आर्थिक बृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेश प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्यो । संघको अध्यक्ष विरेन्द्र संघाई रहेका थिए । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार भएको बताए । उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाई छ । उद्योगहरुको स्थापना देखी संचालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले विरंगंजमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराए ।  प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे । “सबै भन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ ।

यहाँका युवाहरुलाई उचित तालिमको ब्यवस्था गरि स्वदेश मै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह गर्छ” उनले भने ।सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए । त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने  भन्दै उनले अन्य प्रदेशका विद्युत उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

यस्तै परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजिकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए । “उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन् । पूर्वाधार विकासको महत्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहदै आएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरको लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ” उनले भने, “सिमराको विशेष आर्थिक क्षेत्र पीपीपी मोडलबाट सञ्चालनमा ल्याउन खोज्नु प्रशंसनीय छ ।”