शनिबार, आश्विन १७ गते २०८३

साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको बिरुद्ध बृहत जनप्रदर्शन गर्ने

श्रावण १३, २०७९ शुक्रबार
साउन १८ गते नागरिकता विधेयक र भ्रष्टशासनको बिरुद्ध बृहत जनप्रदर्शन गर्ने


संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आगामी साउन १८ गते  नागरिकता विधेयक र भ्रष्टशासनको बिरुद्ध बृहत जनप्रदर्शन गर्ने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले १८ गते १२ः ३० बजे माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो । मोर्चाले वैदेशिक रोजगारीको क्रममा ८० लाख नागरिकमाथि भएको श्रम शोषणको अन्त्य गरी तत्काल राज्यको पहलमा क्षपिपुर्ती दिने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

मोर्चाले न्याय क्षेत्रमा हुने भ्रष्ट्रचार, अनियमितता माथी छानविन गरी न्यायालयसंग सम्बन्धीत व्यक्तिहरुको सम्पती छानविन गरी आवश्यक कार्वाही गर्न समेत माघ अघि सारेको छ । तत्कालीन सेना समायोजनको क्रममा अबौं रुपैयाँ रकम घोटाला भएको प्रकरणमा छानविन अगाडी बढाई दोषीलाई कारवाही गर्न र तत्कालीन जनमुक्ति सेनाहरुलाई रोजगार र सुरक्षाको व्यवस्था गर्नुपर्ने मोर्चाले जनाएको छ। सयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको बारेमा धारणा राख्दै कृष्ण प्रसाद अधिकारीले बहुदलिय सरकार भ्रष्टाचारमा लुप्त रहेको र यो सिस्टमबाट आशा गर्ने ठाउँ नभएको बताए । 
उनले भने,‘देशमा अस्तव्यस्त भएका उद्योगधन्दाहरु, स्रोत साधनको वेचविखन सकाएर अहिले नागरिकता बेच्न पुगेको छन् ।’ उनले ०४७ को संविधानदेखि ०७२ को संविधानसम्म बहुदलिय नेताहरुले राज गरिरहेको बताए । उनले नेपाल प्रति सदासय राख्ने नेपाली तथा विदेशीहरुले छिटो भन्दा छिटो बहुदलिय गणतन्त्र व्यवस्था खारेज गरेर नयाँ व्यवस्था लागु गर्नुपर्ने टिप्पणी गरे । उनले भने,‘मंसिरमा चुनाव भएपछि  ६०१ जना साशक आउँछन् त्यो भन्दा पहिला नै लोकतन्त्र खारेज गर्नुपर्छ ।’यसैगरी, दिनेश स्थापितले सरकारले विदेशीलाई बोलाएर नागरिकता दिएर देश बिगार्न लागेको लागेकोमा आपत्ति जनाए । देशका जनतामाथि अन्याय भइरहेको उनको भनाई थियो । 

उनले गाउँका सोझा मानिसहरुलाई विदेश पठाएर धेरैका आमा बुवा रुवाउने राज्य नै भएको समेत दाबी गरे । युवाहरुलाई रोजगार दिएर स्वदेशमा व्यवस्थापन गर्नुपर्ने उनले धारणा राखे । परिवारको सदस्य छुटाएर राज्यले नै अपराध गरिरहेको उनले आरोप लगाए । ‘खाडी मुलुकमा युवाहरु पठाएर दुनियाँको परिवारलाई रुवाएको छ । गरिब किसान परिवारको बिचल्ली भएको छ ।’ उनले भने,‘नेताहरु गाउँबाट काठमाडौं आएर घर बनाएर मोजमस्तीमा लागे, जनतालाई बिर्सिए ।’

त्यस्तै, साहित्यकार भोला बरालले कवितामार्फत सरकारप्रति व्यग गरेका थिए । उनले ठु्ला नेताहरुलाई विदेशीको दलालको संज्ञा दिए । उनले कार्यक्रममा मजदुरको बारेमा कविता वाचन गरेर सुनाए । उनले बजारमा महंगीले सिमा नाघेको टिप्पणी गरे । जनताले एक छाक मासु र भातमा भोट हाल्ने प्रवृत्ति अझै नगएकोमा दुख पोखे । उनले भने,‘अब मुक्ति पाउनको लागि जनताले भ्रष्टाचारीहरुलाई संसदमा छिर्न दिनु हुँदैन् । अबको आन्दोलनमा देशप्रेमीहरु एक गर्नुपर्छ ।’ 
मोर्चाको अवधारणा राख्दै सह महामन्त्री नव पन्तले मोर्चा स्थापना नेपाली इतिहासमा देश निर्माणको लागि भएको बताए । धमिराले काठलाई खाए झै नेताहरुले देश खाएको उनले टिप्पणी गरे । अब पनि जनता नजागेमा श्रीलंकाको जस्तो नेपालको हालत हुने उनको भनाई थियो । पन्तले मजदुर नै यो देशको निर्माता हुन् भन्दै देश बनेकै तीनै मजदुरको सम्मान राष्ट्रले गर्न नसकेको बताए । देशका होनाहार युवा मजदुरहरु खाडीमा पुगेको भन्दै उनले विदेशमा उनीहरुको हालत चौपट भएको उल्लेख गरे । उनले भने,‘रुनु र हास्नुको दोषाधमा मजदुरहरु रहेका छन्, श्रीमान र श्रीमतीलाई छुट्टाएर धेरैको घर बेघरबार गराएको छ र यसको दोष राज्यले लिनुपर्छ ।’सत्तारुढ पाँच दलबीचको भएको गठबन्धनलाई उने अपराध गठबन्धनको संज्ञा दिए । पुर्खाको देश बेच्नलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई अधिकार नभएको समेत टिप्पणी गरे । अझै पनि चेत नखेलेर देशको हित विपरित काम गरे देउवा निवास बुढानिलकण्ठमा आगो लगाइदिन नपरोस भन्दै उनले आक्रोस पोखे । उनले युवाहरु मजदुरहरु विदेशमा अनाधिकृत रुपमा बेचिएको भन्दै उनले मजदुरहरुको सहयोगमा आन्दोलन गर्ने पनि जानकारी दिए । पन्तले आगामी साउन १८ गते माइतीघर मण्डलामा नागरिकता विधेयक र भ्रष्टशासनको बिरुद्ध १२ः ३० बजे जनप्रदर्शन कार्यक्रम रहेको उल्लेख गर्दै देशप्रेमीहरुलाई उपस्थितीको आग्रह गरे ।

यसैगरी, सम्राट सिंह सिटौलाले सरकारले श्रम दिवस मनाउँदै गर्दा विदेशमा आफ्ना मजदुरहरु हेपिएको नदेखेको आरोप लगाए । मजदुरको समस्या र सवालमा राजदुतावासले कुनै चासो नदिएको उनले बताए । नेपालमा विदेशी दलाल हावी भएको भन्दै सिटौलाले झुटो बोल्ने मेनपावरलाई सरकारले कारवाही गर्न नसकेको टिप्पणी गरे । युवाहरु विदेशिने क्रम बढ्दै जाँदा नेपालीको पहिचान पनि लुप्त हुने अवस्था सृजना हुने उनको भनाई थियो । विदेशमा भएका ८० लाख भन्दा बढी नेपाली रहेको भन्दै राजदुतावासलाई ती मजदुरको अवस्थाबारे कुनै जानकारी नभएको समेत दाबी गरे । त्यस्तै, इन्द्रलाल गोलेले कामको वहानामा विदेश गएका महिला बेचिने, युवाहरु शौचालयमा थुनिने लगायतका थुपै्र समस्या रहेको सुनाए । विदेशमा गएका युवाहरुको रेमिट्यान्सले नेपाल धानिएकोमा सरकारलाई लाज हुनुपर्ने उनको भनाई थियो ।  उनले भने,‘यहाँ एउटा तलब कुरा हुन्छ र उता गएर त्यो तलब दिँइदैन,मेनपावरहरुले सधै झुटो बोलेर मजदुर पठाउने गर्छन् ।’गोलेले मेनपावर व्यवसायीहरुले वैदेशिक रोजगार विभागलाई हातमा लिएको मजदुरहरुलाई ठगी गरेको आरोप लगाए । 

विदेशमा अलपत्र परेका मजदुरहरुलाई उद्दार नगर्ने वैदेशिक रोजगार विभागलाई सरकारले कारवाही गर्न नसकेको बताए । सबै भन्दा धेरै दुवै र साउदी अरबमा युवाहरु धेरै अलपत्र परेको उल्लेख गरे । मोर्चाका वैदेशिक रोजगार विभागका प्रमुख श्यामबहादुर सापकोटाले कतिपय देशमा श्रम सम्झौता नगरी एकछापे श्रम स्वीकृती दिएर मजदुर पठाउने नेपाल सरकारको सबैभन्दा ठुलो कमजोरी रहेको बताए । उनले २४ घण्टाभित्र अलपलत्र परेका नेपालीलाई उद्दार गर्ने सकिने अवस्था हुँदा हुँदै सरकारले नगरेको उनको भनाई थियो । उनले विदेशमा आपतमा परेका नेपालीहरु मोर्चामा सम्पर्क गर्न आग्रह गरे । उनले भने,‘देश भरका सबै निकायले साथ दिए २४ देखि ४८ घण्टाभित्र नेपालीहरुलाई उद्धार गर्न सकिन्छ । यदि गर्न सकिएन भने मलाई फासी दिन सक्नुहुन्छ ।’वैदेशिक रोजगारीमा कामदार पठाउदा प्रत्येक दिनको ८ घण्टाको न्यूनतम १५० अमेरिकी डलर वा सो बराबर पठाउने व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरे । उक्त माग सम्बोधन नभएमा वैदेशिक रोजगारीमा नागरिक पठाउने कार्य बन्द गर्नुपर्ने उनले धारणा राखे ।