नयाँ आर्थिक वर्षको थालनीसँगै अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई सरकारले निकाला गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत हजारौं कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा बर्खास्त गर्न थालेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै एमालेले आज एक प्रेस विज्ञप्ति निकालेर विराेध जनाएकाे हाे ।
देशको स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासन स्वच्छ, निष्पक्ष, जनउत्तरदायी र मर्यादित हुनुपर्छ भन्ने पार्टीको मान्यता भएको विज्ञप्तिमा जनाइएको छ ।
गठबन्धन सरकार स्थायी कर्मचारीहरूको यो संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको आरोप पार्टीको छ ।
विज्ञप्तिमा भनिएकाे छः 'निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भत्र्सना गर्छ ।'
बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा सुनिश्चित गर्न एमालेले सरकारसँग माग गरेको छ ।
