
लोकनारायण सुबेदी
अमेरिकाको टेक्ससमा केहि दिन पहिला एउटा प्राथमिक बिद्यालय भित्र भएको गोली काण्डमा मानिसहरू मारिए पछि अहिले अमेरिकामा कुन कुरामा बहस चलिरहेको छ भने बन्दूको उपयोग सम्वन्धि कस्तो नीति हुनु पर्दछ । यो नीतिको बहस शुरु हुनुभन्दा पहिला आवश्यकता यस बहसको छ कि स्कूल भित्र यस्ता गोली काण्डहरु किन बढ्दै गइरहेका छन् । यस सम्वन्धमा यदि अमेरिकालाई नै एउटा उदाहरणको रुपमा लिने हो भने यस बर्ष मात्रै यस्ता बिद्यालय भित्र हुने गरेका गोली काण्डका २७ वटा घटना घटिसकेका छन् । यसभन्दा पहिला र यसै साल भएका यस्ता गोलीकाण्डका घटनाहरु हमलाकारीले स्कूलभित्र किन घटाए ? के तिनले यस्ता घटना घटाउनु पर्ने कुनै बिशेष कारण थियो ? प्रश्नहरु एक पछि अर्को खडा हुन्छन् ।
वास्तवमा यसरी बिद्यालय भित्र गोलीकाण्ड मच्चिनु र शिक्षण संस्थाहरुमा यस्ता हमला बढ्दै जानु दुबै नै ठूलो चिन्ताको बिषय हुन् । आज बिश्वका बेग्ला बेग्लै देशहरुमा यस प्रकारका घटनाहरु घटिरहेका छन् । यदि हामीले २०२० मा तयार पारिएको ‘एजुकेशन अण्डर एट्याक’ प्रतिबेदनलाई हेर्यौ र केलायौ. भने सन् २०१५ देखि २०१९ चार बर्षका बीचमा बिश्वका ९३ देशमा यस्ता ११००० हमलामा २२००० बिद्यार्थी, शिक्षक र शिक्षासँग सम्वन्धित मानिसहरुको ज्यान गएको देखिन्छ । यस्ता घटनाहरु अफगानिस्तान, केमरुन, पेलेस्टाइन, फिलिपिन्स, कंगो, यमन, सीरिया जस्ता देशहरुमा घटेका पाइन्छन् । बितेको एक बर्षमा मात्रै म्यानमार र यूक्रेनमा पनि बिद्यालयका बिद्यार्थी र शिक्षकहरु यस्ता हमलाको शिकार भएका छन् । यसरी मारिनेहरु कुनै पनि देशका नागरिक किन नहुन् यस्ता दुर्दान्त घटनाहरु बिश्वब्यापी स्तरमा नै ठूलो चिन्ताको बिषय बन्दछन् र बन्नु पनि पर्दछ ।
यदि यस्ता घटनाहरुलाई राम्ररी नियालेर हेर्ने हो भने के कुरा बुझ्न पर्ने देखिन्छ भने बिद्यालयमा यस प्रकारका बढ्दो हिंसाका घटनाहरुका पछाडि शिक्षालाई लिएर कुनै प्रतिशोधको भावना बढिरहेको प्रतीत हुन्छ या शिक्षाको आफ्नो भूमिका जुन एक शान्तिपूर्ण समाज बनाउने मानिन्छ त्यो कमजोर भइरहेको देखिन्छ । यस्तो किन भइरहेको छ ? गम्भीर प्रश्न खडा हुन्छ । के शिक्षाबाट शान्ति हासिल गर्ने अपेक्षा नै बास्तविकताबाट टाढा हुँदै गएको हो, अथवा शिक्षाभन्दा बढी प्रभावशाली सञ्चामाध्यम भिडियो गेम भएको छ, जसको प्रभाव यूवाहरुको जीवन शैलीमा परिरहेको छ ? के यस्ता शिक्षा परिसरमा, बिद्यार्थी शिक्षक कुनै गहिरो दबाबमा परेका या रहेकाछन्, जसका कारणले एउटा तप्का यस्तो छ जसमा उग्रता, तनाव र अबशाद यत्तिका गहिरो बनेको छ कि उनीहरुलाई आफ्ना कृत्यहरुमा सही गलत के हो भन्ने बोध नै हुन छाडेको छ । अनि हिंसाको छाया मनोरञ्जन कार्यक्रमहरुमा बढदोरुपमा देखिदै गएको छ । यस्तो स्थितिमा यूवा समुदाय यसबाट प्रभावित हुने कुरा अस्वाभाविक हुँदैन । डब्लुडब्लुडब्लु होस् कि फूटबल या क्रिकेट खेल होस्, पब्जी कल अफ ड्यूटी जस्ता भिडियो गेम हुन् अथवा र्याप गायन होस् या यस्तै संगीतका अरु कुनै कार्यक्रमहरु हुन् दर्शक/समर्थकहरुलाई रोमाञ्चकारी बनाउन, उत्तेजना फैलाउन,प्रतिशोध या युद्धका शब्दावलीको प्रयोग गर्न एउटा सफल सुत्र बन्न पुगेको छ । संगीतकै पनि युद्ध र महायुद्ध हुन थालेको छ । जसमा एकभन्दा अर्को योद्धा सामेल हुने गरेको देखिन्छ । हि«ंसक घटनाहरु या युद्धको लाइभ प्रसारणले किशोर बयका यूवाहरुको मन मस्तिष्कमा के कस्तो प्रभाव पर्ला ? कतिपय यूवाहरुले बन्दूक, रिभल्वर लिएर खिचेको फोटो सामाजिक सञ्जालमा राखेर आफुलाई शक्तिशाली देखाउने गर्दा उनीहरुलाई सन्तुष्टी पनि मिल्दो होला । यदि तिनलाई सही दिशा र दशा प्राप्त भएन भने तिनको प्रसिद्धीको ललक र हतियारको सहारामा आफ्नो धाक जमाउने बिचारले उनीहरुलाई हिंस्रक घटनातर्फ धकेल्न प्रेरित गर्न सक्छ ।

यो आश्चर्यको कुरा हो कि बिश्वको एक सर्बाधिक बिकसित मानिएको देश अमेरिकामा एकजना अठार बर्षको बिद्यार्थीले नर्सरी किण्डरगार्टेनका बिद्यार्थीहरुमाथि अन्धाधुन्ध गोली चलाएर २१ जनाको इहलिला समाप्त पारिदिन्छ । त्यस दुर्दान्त स्थितिमा अमेरिकामा पुन: एउटा चर्चा बन्दूक किन्ने–राख्ने नीति बदल्ने बारेको मागमा आएर रोकिएको छ । जानकारहरु बताउँदछन् कि अमेरिकामा मानिसहरुसँग त्यहाँको जनसंख्या भन्दा बढी हतियार रहेका छन् । त्यस देशमा घातक स्वचालित हतियारलाई लिएर कुनै कडा कानुन पनि छैन । त्यहाँका नागरिकले घण्टा दुइ घण्टामा हतियार अर्थात राईफल किनिरहेका हुन्छन् र किन्न सक्दछन् । त्यसैले यसलाई नियन्त्रि गरिनु पर्दछ भन्ने अहिले पुन: चर्चा चल्न थालेको हो । तर के यस महत्वपूर्ण कुरामा बहस हुनु पर्ने होइन कि त्यो कुन बिकसित देश हो जसले हतियार उत्पादन र त्यसको ब्यवसाय गरिरहेको छ ? सन् २०१५ देखि २०१९ का बीच हतियारको बजारमा अमेरिकाको निर्यातको हिस्सेदारी ३५ प्रतिशत रहेको थियो । प्रष्ट छ, जब कुनै देश बिश्वमा अत्याधुनिक हतियारहरुको आधारमा आफ्नो बर्चश्व बनाउन चाहन्छ भने के त्यसको समाजमा कुनै प्रभाव नपरिरहन सक्छ र ?
निश्चय पनि अन्धाधुन्ध गोलीको शिकार बनेका बच्चाहरु गुमाएका माता पिताहरुलाई त्यो पीडाबाट मुक्त हुन अबश्य समय लाग्नेछ । तर त्यहाँ पीडित अभिभावकहरुले र अन्य नागरिककहरुले केवल एउटा देशमा हतियारका लागि कडा नियम बनाउने माग मात्रै गरेर पुग्दैन । त्यसका अतिरिक्त बिश्वमा हतियार उत्पादन र त्यसको आवश्यकतामाथि पनि प्रश्न उठाउनै पर्दछ । हतियारको उत्पादन र ब्यापार हिंसाको स्वीकार्यतासँग जोडिएको छ । यसको दर्शन के देखिन्छ भने हतियारको शक्तिको बलमा बर्चश्व कायम रहनेछ । यदि हतियारको उत्पादन र ब्यापार हुन्छ भने ती हतियारको प्रयोग पनि हुन्छ नै । अर्को एउटा मुद्दा के पनि छ भने यूवाहरुमा बढ्दो घृणा, तनाब र प्रतिशोध जस्ता महत्वपूर्ण र मूल कारणहरुको पनि खोजी गरिनु पर्दछ । किनभने बिद्यालयहरुमा सुरक्षा गार्डहरु राखेर र शिक्षकहरुलाई बन्दूक दिएर बिद्यार्थीको सुरक्षा गर्ने सुझाव पनि कुनै टिकाउ र दीर्घकालीन समाधान होइन भन्ने बिज्ञहरु औंल्याइरहेका छन् ।
निश्चय नै बिद्यालयको कक्षा कोठामा अहिंसाको पाठ पढाइन्छ भने कक्षा बाहिरको समाजमा पनि त्यस मूल्यलाई कदर गर्ने बातावरण हुुनु र त्यसको प्रासांगिकता स्वीकार गर्ने खालको बनाइनु पर्दछ । कक्षामा बिरोधाभासीपूर्ण मूल्यले शिक्षकलाई अप्रासांगिक र शिक्षा–प्रकृया उपयुक्त ठहरिन सक्छ । के स्मरण गरिनु पर्दछ भने हतियारको भूगोल जुनसुकै होस् हिंसाको समर्थनले हिंसा बढाउँदछ नै ।
यस स्थितिबाट मुक्त हुन बिश्वका बिकसित देशहरुले हतियार उत्पादन र ब्यापारलाई नियन्त्रित गरिनु यस तर्फको पहिलो कदम हुनेछ । बिद्यार्थीहरुको मन मस्तिष्कमा अहिंसात्मक बातावरण बनाउने दिशामा निरन्तर उन्मुख गराउने उपायहरुको खोजी गरिनु पर्दछ । अन्यथा जबसम्म कुनै पनि देश या समाजले आफुलाई हतियारको बलमा शक्तिशाली हुने कुरा महसुश गरिरहन्छ त्यसबेलासम्म बिद्यालय कक्षा भित्रको अहिंसाको पाठ प्रभावी हुने सम्भावना कमजोर हुन्छ र रहिरहन्छ । हतियार सम्वन्धि कानुन त बनाइन सक्छ तर त्यसलाई भूगोल नियन्त्रित गर्न सकिन्न । अबैध रुपमा हातहतियार एक देशबाट अर्को देशमा यात्रा गरिरहेका हुन्छन्, छन् । यसर्थ यसको सही समाधानका लागि समस्याको जडमा पुग्ने कुरामा ध्यान केन्द्रित गरिनु पर्ने देखिन्छ । बास्तवमा हतियार उत्पादन र ब्यापारका बिषयमा बहस बिचार बिमर्श गरिरहँदा त्यसको साथसाथै हाम्रो मन मस्तिष्कलाई पनि कसरी अहि«ंसक बनाउने भन्ने कुरा बिश्वले गम्भीर चिन्तन र चिन्ता गर्नु अत्याबश्यक छ । यसका लागि बिभेद, असमानता, गरीबी, अभाव र अशिक्षाका समस्याहरु प्नि सही किसिमले समाधान गर्नुपर्ने आधारभूत कुरामा ध्यान केन्द्रित हुनै पर्दछ । प्रष्ट छ समाजमा बर्गीय शोषण र सामाजिक उत्पीडन रहँदासम्म समस्याको सही समाधान हुन नसक्ने अबस्था रहिरहन्छ ।