आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद् बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपमा अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उक्त भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।
यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा जटान रहेका छन् ।