शुक्रबार, कार्तिक ७ गते २०८३

दर्शन/दृष्टिकोण, वर्ग, प्रेम र कला पारखी एवं बुद्धिजीवी शेक्सपियर !

श्रावण २, २०७९ सोमबार
दर्शन/दृष्टिकोण, वर्ग, प्रेम र कला पारखी एवं बुद्धिजीवी शेक्सपियर !
saraswatimohora.jpg
 
सरस्वती माेहाेरा
     
दर्शन, दृष्टिकोण वा सिद्धान्त र व्यवहारमा व्यावहारनै प्रमुख हुन्छ। त्यो किन भने दर्शन दृष्टिकोण र सिद्धान्त व्यवहारकै उपज हुन्छ र त्यसले व्यावहारकै सेवा गर्दछ।
 
त्यसो त व्यवहारदेखि अलग्ग र व्यवहारको सेवा नगर्ने अथवा मानव जीवन र व्यवहारमा काम नआउने र काम नलाग्ने दर्शन, दृष्टिकोण,बिचार, सिद्धान्त जतिनै सुन्दर भएतापनि त्यसको कुनै औचित्य रहँदैन र नहुने कुरा प्रष्ट छ।
     
विज्ञान र वैज्ञानिक प्रयोगका दृष्टिकोणले पनि व्यवहारलाई निषेध गर्ने सिद्धान्त र व्यवहारको सेवा नगर्ने ,व्यवहारमा उपयोगी नहुने कुनै पनि सिद्धान्त वैज्ञानिक अर्थमा त्यो सिद्धान्त हुँदैन। सो सिद्धान्त र व्यवहारको कुरा गर्दा सिद्धान्तत: व्यावहारनै प्रमुख हुने र व्यावहार नै प्रमुख हुन्छ भन्ने कुरा सिद्धान्तलेनै पनि पुष्टि गर्दछ।
 
तथापि मार्क्सवादी द्वन्दात्मक भौतिकवादी दृष्टिकोणका अनुसार सिद्धान्त र व्यवहारमा व्यावहार नै प्रमुख भए तापनि कतिपय परिस्थितिमा भने सिद्धान्त पनि विशेष र प्रमुख हुनसक्तछ। जस्तै संसारलाई बदल्ने कुरा मूख्य भएतापनि संसारलाई बदल्नका लागि संसार कस्तो हो त्यसलाई बुझ्ने कुरा मूख्य हुँदछ।सिद्धान्तले यस अर्थमा महत्व राख्दछ। यसकारण मार्क्सवादी दृष्टिकोणमा व्यावहार प्रमुख भए पनि यौटा विशेष परिस्थितिमा र व्यवहारको लागि सिद्धान्त ,बिचार र दृष्टिकोणको महत्वलाई पनि यसले स्वीकार्छ।
 
शेक्सपियर, उनको कला र बौद्धिकीको महत्व के मा हो भने उनका समकालीन कवि लेखकहरूमा उनले आफु बाचेको समाज र संसारलाई राम्ररी बुझेका थिए। आफु बाचेको समकालीन समाज र संसारबारेको ज्ञान,अनुभव भनौ अथवा समाज र संसार बारेको शेक्सपियरको दृष्टिकोण व्यावहारिक हुनुमा छ।
 
शेक्सपियरले वर्गसमाज भनेनन्। तथापि वर्ग समाज रहिञ्जेल शेक्सपियरले भनेझै ' प्रेममा, म तिमीलाई प्रेम गर्छु भन्नु मात्रै काफी हुँदैन !" भन्ने कुरा सही लाग्दछ। शेक्सपियरले वर्गसमाज भनेनन्। तर वर्गसमाजमा हरेक व्यक्ति वर्गको प्रतिनिधि हुने र हरेक चीज वर्गीय हुनेझै व्यैक्तिक प्रेम पनि वर्गीय हुने कुरा शेक्सपियरले आफ्नै ढंगले बुझे। त्यसो त प्रेम कस्तो हुन्छ भन्ने सवालमा प्रेम अन्तरविरोध रहित नहुने कुरा ' The course of true love never did run smooth " - (A Midnight Summer Night's Dream Act)- भने।
 
शेक्सपियरले वर्गसमाज भनेनन् । वर्गसमाजलाई तर आफ्नै ढंगले बुझे। वर्गहरूको बीचमा अन्तर्विरोध भएको समाजमा भौतिक श्रम र मानसिक श्रमका बीच अन्तरविरोध हुने, शब्द र कर्मका बीच अन्तर्विरोध हुने कुरालाई उनले बुझे। 
 
शब्दकलाका माहिर पारखी, शब्दकलाका सुन्दर शिल्पी जादुगर उनी तर शब्दभन्दा बढी कर्म र व्यवहारमा विश्वास गर्थे । त्यसो त प्रेमकै सवालमा उनले भने- ' I love you more than words can wield the matter, Dearer than eyesight, space and liberty ."( King Lear Act). शेक्सपियर प्रेमलाई शब्दभन्दा अधिक, दृष्टि, अन्तरिक्ष, स्वतन्त्नताभन्दा अधिक र आफुभन्दा अधिक प्रेम गर्छन्।
 
शेक्सपियर मार्क्सवादी थिएनन्। मार्क्स त्यतिबेला जन्मेका पनि थिएनन्। मार्क्सले नीजि सम्पत्तिको उत्पति भएपछि वर्गको उदय भएको र वर्गको उत्पत्ति भएदेखि त्यस यताको समाज वर्गीय समाज हो भन्ने कुरा गरे।
 
समाजमा वर्गको अस्तित्व थियो भन्ने कुरा मार्क्सभन्दा अघिका बुद्धिजीवी र खासगरी काल्पनिक समाजवादीहरूले पहिलेनै भनेका कुरा उनले गरे।   
 
शेक्सपियरले वर्गसमाजको कुरा गरेनन्। उनी मार्क्सवादी थिएनन्। मार्क्स जन्मिनुभन्दा अघि शेक्सपियर मार्क्सवादी बन्ने कुरा अकल्पनीयनै हो त्यो। तथापि आजको समयमा पनि अकल्पनीय जस्तो लाग्ने शेक्सपियरको प्रतिभा,क्षमता र कला बिशेषको महत्व के मा रहेको छ भने शेक्सपियरले आफ्नो ढंगमा जे जस्तो र जत्ति बुझे पनि उनले आफु बाँचेको वर्गसमाज र वर्गसमाजको अन्तरविरोधहरूलाई राम्ररी बुझेका थिए।
 
शेक्सपियरको यथार्थ कला वास्तवमा त्यसैको सुन्दर अभिव्यक्ति थियो र हो। उनी आफ्ना समकालीनहरू मध्ये बढी सम्मानित र विशेष हुनुमा पनि उनको कलासाहित्य बारेको यही दृष्टिकोण र बुझाई नै थियो।