असार मसान्त नजिकिँदै जाँदा मर्जरका लागि बीमा कम्पनीहरु तातेका छन् । बीमा समितिले मर्जरको लागि निर्देशन दिएसँगै विभिन्न कम्पनीहरु एकापसमा मर्जर र एक्विजिसनमा जान लागेका हुन् ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एक आपसमा मर्ज हुने प्रारम्भिक समझदारी गरेका छन् । सगरमाथा र लुम्बिनी जनरलबीच १०ः८ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो ।
समझदारीमा सगरमाथा इन्स्योरेन्सका सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरलका सञ्चालक अरुण राज श्रेष्ठले बिहिबार हस्ताक्षर गरेका हुन् ।
अर्थात मर्जपछि लुम्बिनी जनरलको १०० कित्ता सेयर हुने सेयरधनीले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ तथा अध्यक्षको बारेमा भने निर्णय भइसकेको छैन ।
सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ हुनेछ ।