आफुलाई ज्ञान, बिनयशीलता, अनुशासन र शिष्टता प्रदान गर्ने र अज्ञानताको अँध्यारोबाट बाहिर निकाल्ने गुरुजनको सम्मानमा आज देशभरी नै बिभिन्न कार्यक्रम गरी गुरु पूणिर्मा मनाइएको छ । तर यो दिन पनि एउटा जात्रा र पर्वजस्तै औपचारिकता पूरा गर्ने दिन जस्तै मात्रै हुँदै आएको छ । निश्चय पनि औपचारिकरुपमा गुरुहरुलाई सम्मान गर्ने बिभिन्न कार्यक्रमहरु पनि गरिनु आफैमा नराम्रो कुरा हुदैन र होइन । यद्यपि गुरुको जुन गम्भीर र गुढ अर्थ छ र गुरुको सम्मान र आराधनाको जुन महत्व छ त्यो हामीले कति बुझेका छौ यो यथार्थ आज गुरु चेला सबैले आत्म समीक्षा गर्ने बिषय बनेको छ । पुरानाे पूर्बीय दर्शनमा गुरुलाई इश्वरीय 'त्रयता' अर्थात त्रिगुणकोरुपमा मान्यता प्राप्त छ । अर्थात गुरुलाई ब्रह्मा, बिष्णु र महेश्वरको रुपमा सम्मान गर्ने पुरानो परम्परा रहेको छ । यो दिनलाई बेद ब्यासको जन्म दिनको रुपमा पनि मनाउने चलन छ । किनभने बेद ब्यासलाई चार बेद, महाभारत, भागवत गीता, अठार पुराण र उपपुराणहरु तथा बिष्णु सहस्र नामको रचयिता मानिन्छ । यस अर्थमा ब्यासलाई कुनै एउटा ब्यक्ति नएभर एउटा लामो परम्पराको सुत्रधार श्रृंखलाकाेरुपमा लिइएको देखिन्छ । पुरानो गुरु कुलीय परम्परादेखि नै गुरुको सम्मान गर्ने यो सँस्कृति शुरु भएको बिज्ञहरु उल्लेख गर्दछन् ।
सँस्कृतमा 'गु' काे अर्थ अध्यारो र 'रु'को अर्थ उज्यालो हुन्छ । यसैले अज्ञानताको अँध्यारोबाट ज्ञानको उज्यालोतिर लैजाने जुनसुकै ब्यक्ति, आमा, बाबु, परिवार, छिमेकका जेष्ठ अनुभवी मानिसहरु, बिद्यालय, क्याम्पस, बिश्व बिद्यालयका शिक्षक औपचारिक अनौपचारिक ज्ञान दिने जो पनि गुरुको पंक्तिमा पर्न सक्तछन् । यसलाई अझ बिस्तृतरुपमा भन्ने हो भने गुरु स्थानीय, क्षेत्रीय, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका हुन सक्तछन् । यहाँ ज्ञानका बिबिध प्रकार र बिशिष्ठताका बारेमा त झन कुरै गर्नु परेन । किनभने यो ज्ञान/बिज्ञान, अर्थ/राजनीति, कला/सँस्कृति ब्यापक र बृहत क्षेत्रमा फैलिएको हुन्छ र छ । त्यसैले गुरु पूणिर्माका दिन गुरुलाई सम्झने र सम्मान गर्ने बेलामा हामीले ज्ञानको यो अथाहा र अकल्पनीय भण्डारलाई पनि बुझनु र केलाउनु पर्ने हुन्छ ।

हामी आज जुन संसारमा बाँचि रहेका छौ त्यहाँ अशान्ति, कलह र सन्त्रास ब्याप्त छ । यद्यपि ज्ञान बिज्ञानको पनि अकल्पनीय बिकास भएको छ । तर मानिसहरुमा अझै पनि सन्तुष्टी छैन । प्रसन्नता छैन, खुशी छैन । बिश्व समाजमा अहिले पनि शोषण, अन्याय, थिचोमिचो, दमन र दबाव छ । मानिसहरुलाई मानिसको जस्तो ब्यवहार नगर्ने बिभेद र बैमस्यता कायमै छ । यो स्थितिलार्ई चिर्न आजभन्दा २५५५ बर्षअघि हाम्रै भूमि नेपालमा गौतम बुद्ध जन्मिए र उनले जातपात, कर्मकाण्ड, मूर्तपूजा अादिजस्ता अन्धबिश्वासका बिरुद्ध शान्तिका लागि जुुन महान उपदेश दिए त्यो नेपाली समाजलाई भयंकर डरलाग्दो अँध्यारोबाट उज्याले तिर लैजाने मात्रै होइन, बिश्व समाजलाई नै त्यो दिशामा डोर्याउने शान्तिको महाज्ञान बुद्धले दिएका हुन् । तर त्यसलाई हामीले कत्तिको ग्रहण र अनुसरण गर्न सक्यौ यो गम्भीर प्रश्न हाम्रा अगाडि उपस्थित छ । त्यति पुरानो बुद्धको सामाजिक अनुसन्धान र त्यसको निचोड बुद्धत्वलाई आज हामीले जसरी ग्रहण गरेका छौ त्यसलाई अन्धबिश्वास भनेमा पनि फरक पर्दैन । हामीले आफ्नो राष्ट्रियता बचाउन हिन्दू धर्मका अनुयायी राजा अंशु बर्माले आफ्नी छोरी भृकुटी भोटका तत्कालीन राजा स्रोङ्गचन गम्पोलाई बिवाह गरिदिएको कुराबाट के सही शिक्षा लिएका छौं ? के हामीले बाल बिवाह गरिनु हुन्न, बिधुवा बिवाह गरिनु पर्दछ भन्ने कुरा प्रचार गर्दा परित्यक्त भएकी बाल बिधुवा योगमायाले आफ्ना दर्जनौ अनुयायीका साथ जल समाधिस्थ भएको घटनाबाट शिक्षा लिएका छौं ? हामीले जातपात, अन्तबिश्वास, सामाजिक भेदभावका बिरुद्ध आफुलाई समर्पण गर्ने र सामाजिक तथा जातिय सद्भाव् फैलाउने लिम्बुआनका महागुरु फाल्गुणानन्दबाट के उचित शिक्षा लिएका छौ - यी प्रश्नै प्रश्न हाम्रा आगाडि छन् ।
यस सन्दर्भमा बिश्व समाज परिबर्तनकाे सही दिशाकाे कुरा गर्ने हाे भने बर्गीय शाेषण र सामाजिक उत्पीडनबाट मानब समाजनलाइ सदाका लागि अन्त्य गर्ने जुन बिश्व दर्शन र बिचार कार्ल मार्क्सले प्रतिपादन गरेर मानब समाजमा ब्याप्त बिषमता,बिभेद र बहिष्करणका बिरूध्द याे समाज खडा हुनु पर्ने महत्वपूर्ण कुरा दर्शाए त्याे जिम्मेवारीपूर्ण र मानबीय ज्ञानकाे सार्थकता अहिले पनि उत्तिकै छ ।
यस्ता धेरै शिक्षा लिनुपर्ने महान कार्य गर्ने गरुहरु हाम्रो राष्ट्रिय जीवनमा धेरै छन् र अन्तर्राष्ट्रिय स्तरमा त अझ असंख्य छन् । तर हामी केवल एउटा अन्धबिश्वासयुक्त औपचारिकतामा नै सीमित छौ । जसले गर्दा हाम्रो समाज अघि बढ्न र सकिरहेको छैन । गुरु पूर्णिमा मनाइरहँदा हामीले यी कुराहरुप्रति बिहंगम दृष्टि पुर्याउन सके यो दिन मनाएको केही न केही सार्थकता हुने थियो । गुरुपूर्णिमाका दिन सम्पूर्ण गुरुजन, ज्ञानका भण्डार श्रेष्ठजनहरुमा हार्दिक बन्दना !