निर्वाचन आयोग, नेपालले नेपाल कम्युनिष्ट पार्टीलाई अद्यावधिक गरेको जानकारी दिएको छ । आयोगले लोक नारायण सुवेदी अध्यक्ष रहेको नेकपाको ५५ सदस्यीय केन्द्रीय समितिको विवरण अद्यावधिक गरी अभिलेखिकरण गरेको जनाएको हो ।
२०७९ असार १२ गते पार्टीले उपलब्ध गराएकाे विवरण अद्याविधक गरी आयोगमा दर्ता गरेको जानकारी पत्र असार २७ गते प्राप्त भएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
पार्टीलाइ प्राप्त पत्र अनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरू इश्र्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन समशेर जबराको उपस्थितिमा असार १२ गते बसेको आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी लोक नारायण सुवेदी अध्यक्ष सहित ५५ जना केन्द्रीय सदस्य रहेको केन्द्रिय समितिको विवरण राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ बमोजिम अद्यावधिक गरी अभिलेखिकरण गर्ने र सो को जानकारी सम्बन्धित दललाइ दिने निर्णय गरेको हो ।
जनकपुरमा २०७८ पौष १७—१९ गते आयोजित पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन आयोजना भएकोमा तत्कालिन संयोजक ऋषिराम कट्टेल लगायतका केहि व्यक्तिले सम्मेलनलाई सफल हुन नदिने गतिविधि गरेपछि २०७८ चैत्रको दोश्रो सातासम्ममा पूर्णता दिने गरी स्थगित गरेको तर निज कट्टेलले सम्मेलनले आफूलाई अध्यक्षमा चयन गरेको भन्दै प्रचारबाजी गरेका थिए ।
त्यसपछि पार्टीको बहुमतले ले कट्टेललाई पार्टीबाट निष्काशन गरी स्थगित राष्ट्रिय सम्मेलन चैत्रको ११–१२ गते जनकपुरमै सम्पन्न गरेको थियो । सम्मेलनले विधान संशोधन, राजनीतिक प्रतिवेदन तथा राष्ट्रिय अन्तराष्ट्रिय महत्वपूर्ण प्रस्तावहरु वैधानिक रुपमा पारित गर्दै ५५ सदस्यीय केन्द्रिय समितिको निर्वाचिन गरेको थियो । सोही केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता प्रदान गर्दै अद्यावधिक गरेको अध्यक्ष सुवेदीले बताए ।
पार्टीले निर्वाचन आयोगमा आधिकारिकता पाएको घडीमा सिद्धान्तनिष्ठ रूपमा दत्तचित्त भएर जनतालाइ नयाँ जनवादी क्रान्तिको बाटोमा जागृत गर्ने कार्यमा समर्पित हुन पार्टीका नेता, कार्यकता एवं जनवर्गीय संगठनका सदस्यहरु अध्यक्ष सुवेदीले आव्हान गरेका छन् ।