शुक्रबार, कार्तिक ७ गते २०८३

किसानको जीवन धन्य धन्य छ !

आषाढ २४, २०७९ शुक्रबार
किसानको जीवन धन्य धन्य छ !
Indra.jpg
इन्द्रनारायण सुबेदी
(वंशस्थ छन्द)
==================================
रहन्छ निष्ठा मिहिनेत साथमा
लिएर औजार सदैव हातमा
मुछिन्छ माटो पसिना अनन्य छ
किसानको जीवन धन्य धन्य छ।१।
 
जो खट्छ रातोदिन कर्ममा अति
विषेश निष्ठा छ सधैँ धराप्रति
परन्तु मूल्याङ्कन त्यो नगण्य छ
किसानको जीवन धन्य धन्य छ।२।
 
छ पेलिएको र अझै तिरस्कृत
हलो कुटो हुन्न कतै पुरस्कृत
थिचोमिचो तीब्र अझै जघन्य छ
किसानको जीवन धन्य धन्य छ।३।
 
अनाज दाना फलफूल सुन्दर
मनुष्यमा प्राण दिने निरन्तर
झुलाउने कर्म सधैँ प्रणम्य छ
किसानको जीवन धन्य धन्य छ।४।
 
न छुद्र लिप्सा अनुराग वित्तमा
न दर्प कुण्ठा अभिमान चित्तमा
छ कर्म चोखो व्यवहारजन्य छ
किसानको जीवन धन्य धन्य छ।५।
 
=====================
समस्या साभार:प्रतिभा निकुञ्ज