मधेश प्रदेशबाट वैदेशिक रोजगारीको लागि ठूलो संख्यामा श्रमिकहरू विदेशीने गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले त्यस्तो देखाएको हो ।
राष्ट्र बैंकको आ.ब. २०७८।७९को अर्ध वार्षिक प्रतिवेदन अनुसार धनुषा जिल्ला मुलुककै सबभन्दा बढी वैदेशिक रोजगारीमा श्रमशक्ति पठाउने जिल्लाको रुपमा रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उल्लेख्य रहेतापनि अदक्ष कामदारको संख्या अधिक रहेकोले यसबाट राम्रो आम्दानी गर्न भने गर्न नसको अध्ययनले देखाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को पुस महिनासम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या ८४ हजार ८ सय ८ रहेको छ । यो संख्या वाह्य रोजगारीका लागि मुलुकभरिबाट श्रम स्वीकृति लिने संख्याको २८.५५ प्रतिशत हो । मधेश प्रदेशबाट वैदेशिक रोजगारीमा गएका कामदारहरू मध्ये सबै भन्दा बढी कामदार कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र मलेसियामा कार्यरत छन्।