अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा होर्डिङ्ग बोर्ड राख्न नपाइने भएको छ । विज्ञापन बोर्डद्वारा प्रकाशित सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंता अनुसार दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउन सक्ने भन्दै होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको हो ।
आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने भनिएको छ ।
त्यसैगरी सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ ।
आचारसहिंतामा विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने, विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैङ्गिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरण पालना गर्नुपर्ने, विज्ञापनमा महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न नहुने उल्लेख छ ।
संवेदनशील अङ्ग प्रदर्शन गर्ने, महिलालाई पुरुषका तुलनामा कमजोर पात्रका रुपमा पस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रशारण गर्न नहुने उल्लेख छ ।
विज्ञापनमा दलित, आदीवासी, जनजाती, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ । बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरुलाई होच्याउने र आत्मसम्मानमा चोट पु¥याउने विज्ञापन उत्पादन र प्रशारण गर्न नहुने भनिएको छ ।
सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ । सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ । अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ ।
आजबाट लागू भएको सो आचारसहिंतामा १३ परिच्छेद रहेका छन् । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू गरिएको हो ।