कमरेड पुष्पलालले २०२५ साल पछि, पार्टी प्रतिबन्धित रहेको अवस्थामा, बनारसबाट नेपाली भाषामा 'नेपाल पत्र' र अंग्रेजीमा 'नेपाल ट्रिब्युन' प्रकाशित गर्न शुरु गर्नु भयो। नयाँ जनवादी आन्दोलनको बिकास र कम्युनिष्ट आन्दोलनको रक्षाको लागि, जनताकाबीचमा पार्टीको विचार पुर्याउन र पार्टी पंक्तिलाई प्रशिक्षित गर्नमा नेपालपत्रले अहम् भूमिका निभाएको छ। त्यसरी नै नेपाल ट्रिब्युनले अन्तर्राष्ट्रिय रुपमा पार्टीको दृष्टिकोण पुर्याउन मद्धत गरेको इतिहास रहेको छ। विडम्बना, आर्थिक अभावका कारण नेपाल पत्र ९ अंक सम्म निकाल्न सम्भव रह्यो भने नेपाल ट्रिब्युन एक अंकमै सीमित रह्यो ।
महान भ्लादिमिर ईल्विच लेनिनले निकाल्नु भएको रुसी कम्युनिष्ट पार्टीको नीति शिद्धान्त र कार्यक्रमलाई श्रमजीवि जनता र पार्टी सदस्य वीच पुर्याउन रुसी भाषामा ईस्क्रा (झिल्का) ले जुन एतिहाँसिक दायित्व पुरा गर्यो, सापेक्षतामा नेपाल पत्र र नेपाल ट्रिब्युनले पनि ऐतिहासिक भूमिका निभाएका छन् भन्दा अत्युक्ति नहोला। कमरेड पुष्पलालको देहावसान २०३५ साल साउन ७ गते भए पछि राष्ट्रिय जनमत संग्रहको समयमा तत्कालिन प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले, केन्द्रिय सदस्य कमरेड एकराज पाण्डेको सम्पादनमा सामयिक बुलेटिनको रुपमा दोश्रो पटक मुलुक भित्रैबाट निकालिएको थियो। तर यसलाई निरन्तरता दिन सकिएन।
ऐतिहासिक महत्व बोकेको यस 'नेपाल पत्र'लाई २०४६ सालको राजनीतिक परिवर्तन पछि तेश्रो पटक शुरु गर्ने फेरि जमर्को गरियो। यस पटक "साप्ताहिक नेपाल पत्र"को रुपमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा कमरेड लोक नारायण सुवेदीको सम्पादकत्वमा दर्ता गरेर २०४७ सालको बैशाखको पहिलो सातादेखि यसको यात्रा शुरु भयो। यसको प्रकाशनमा ईश्वर रिजाल, एकराज पाण्डे, बोधराज काफ्ले, धन प्रसाद मणी, बालकृष्ण शिवाकोटी, महेन्द्र मान "ब्यथित", मंजु चापागाई, रामदुलार महतो, लोक बहादुर खड्का र म लगायत थुप्रै युवा साथीहरुको संलग्नाता थियो। अत्यन्त आत्मीय, सहयोगी, माइल्दाई (क.पुस्पलाल)सँग निकट सम्वन्ध रहेका दयाराम विष्टको 'नविन प्रेस' छापाखानाबाट प्रकाशन शुरु गरियो। यस लेटर प्रेसको रुपमा जानिने यसका कम्पोजिटर मेशिन चालक न्य्हुक्षे महर्जनको पनि अनुकरणीय सहयोग रहेको थियो।
संसदको निर्वाचन लगतै नेकपा (एकीकृत मार्क्सवादी र लेनिनवादी – एमा र ले) मा हामीहरु रहिरहने स्थिति रहेन। एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई हामी नयाँ जनवादी पक्षधरहरुले एमालेका नेताहरु "वर्ग संघर्ष", "वर्ग सत्ता", "वर्गीय रुप", "वर्ग शत्रु" जस्ता वाक्यांश खुबै फलाके पनि आम पुँजीवादी बहुलवाद भन्दा तात्विक भिन्नता एमालेले अख्तियार गरेको सिद्धान्त, नीति र व्यवहारमा किञ्चित फरक पाउन सकेनौं। यसरी हाम्रो बाटो भिन्न हुनु स्वाभाविक बन्यो र प्रभु नारायण चौधरीलाई अध्यक्ष बनाएर नेकपा (मार्क्सवादी)को नाममा हामीहरु हिँड्ने कठोर निर्णय गरिसकेका थियौ। यिनीहरु हामीमाथि गद्धार र कांग्रेसका पुच्छर भनी जाइलागि रहन्थे । राधाकृष्ण मैनालीले झापा विद्रोहको आरोपमा लामो जेल जीवन बसेर बाहिर आए पछि निकै चर्चा पाएका थिए। पत्रपत्रिकामा उनको अन्तरवार्ता आई रहन्थ्यो। मार्क्सवादी र मालेको एकीकरण भएको भोलिपल्टै एक एक (१:१ )को अनुपातमा भएको एकता मालेलाई मान्य नभएको भनी दृष्टि साप्ताहिकमा असन्तोषको संदेश दिएर कार्यकर्तालाई उक्साउने शुरुवात उनले गरे। दृष्टि, छलफल आदि साप्ताहिक प्रकाशनबाट हाम्रा विरुद्ध विष वमन गरिरहन्थे। हामीले पनि बेला मौकामा भन्ने गर्थ्यौं " कम्युनिष्ट आन्दोलन सिध्याउन आएका सिआईएका एजेन्टहरु। " मदन भण्डारी स्वयं हाम्रा प्रकाशित नेपालपत्रका मुठाहरु उपत्यकाबाट सार्वजनिक बस मार्फत बाहिरदै गर्दा त्रिशुली नदीमा मिल्काएर जानकारी दिन निर्देशन दिने गर्थे।
माले, मार्क्सबादी एकीकरण पूर्णत गैर सैद्धान्तिक, गैर मार्क्सवादी र अवैज्ञानिक षड्यन्त्रमुलक ढंगले भएको थियो भन्ने कुरा समयले पुष्टि गरिसकेको छ। कमरेड पुष्पलाल छँदै हाम्रो पार्टीको साँस्कृतिक मोर्चाबाट "मुक्ति मोर्चा" नामक एउटा साहित्यिक पत्रिका निस्कन्थ्यो। यसको परिचालन गर्ने जिम्मेवारी लिएका कवि मोदनाथ प्रश्रित माथि सीमाहीन पोथी आशक्तिको आरोप लागि पार्टीले चारित्रिक कार्यवाही गरे पछि जीवराज आश्रित, मदन भण्डारी आदि आफ्ना मित्र मण्डली भएर- "पुष्पलालले क्रान्ति गर्दैन, संशोधनवादी, कांग्रेसको पुच्छर, मीठो खानु पर्ने, राँगोको मासु नभई नहुने, सुट टाई लगाउनु पर्ने जस्ता तुच्छ र निकृष्ट "पुष्पलालको १२ अपराध" भनी कथेर त्यहि पत्रिकामा प्रकाशित गरि "मुक्ति मोर्चा" समूह नामले झापाली आन्दोलनसंग जोडिन पुगेका थिए । यिनीहरुको यो आरोप जेल प्रशासनले पनि रमाइलो मानेर हामीलाई कारागार भित्र पछि सम्म पनि पढ्ने सामग्रीको रुपमा उपलब्ध गराई रहन्थ्यो । जसरी कमरेड मोहनविक्रम सिंहले छदम नाम आनन्द बहादुर क्षेत्री राखी प्रकाशित गरेको "गद्धार पुष्पलाल" भन्ने पुस्तकलाई गाउँ फर्क राष्ट्रिय अभियानले आफ्नो टेबलको ड्रअरबाट झिकी कम्युनिष्ट आन्दोलन विरुद्ध व्यापक वितरण सामग्री बनाएको थियो। झापा आन्दोलनमा मुक्ति मोर्चा समूह जोडिए पछि "संशोधनवादी पुष्पलालको किल्ला ध्वस्त बनाउनु पर्छ "भन्ने मालेको नारा बोकेर नेपाल कम्युनिष्ट पार्टीको मजबुत संगठन रहेको बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा छिर्न सहज बन्यो। यही मण्डलीले एमाले बनुन्ज्याल माले पार्टीमाथि पुरै कब्जा गरिसकेको थियो। यता हाम्रा पूर्व शीर्ष नेताहरु मनमोहन अधिकारी, सहाना प्रधान, बलराम उपाध्याय आदि एमालेको हुलमा आफ्ना सबै निष्ठा र आदर्शलाई सट्टापट्टि गरेर रमाउन पुगे। हामी कमरेड पुष्पलालका पाठशालाबाट दीक्षित, उहाँले छोडेर जानु भएको कम्युनिष्ट बिरासत थाम्न असक्षमभै किनारा लाग्ने अवस्था सिर्जना भयो।
यही समयमा नेपाली कांग्रेसको संसदमा बहुमत आए पछि यसका सभापति गिरीजा प्रसाद कोइराला पहिलो पटक प्रधान मन्त्रि बनेका थिए। प्रत्येक बिहिवार निस्कने नेपाल पत्रको आठौ पृष्ठमा "प्रसंगवस" शीर्षकको कोलममा मैले केहिन केहि लेख्नु पर्ने हुन्थ्यो। यही कालखण्डमा नेपालपत्रको वर्ष १ अंक १५मा प्रकाशित 'कन्फ्यूसियसको दाँत र गिरिजा बावु' शीर्षकको प्रसंगवशलाई सान्दर्भिक लागि प्रस्तुत गर्ने आँट गरे।
नेपाल पत्र, साप्ताहिक, वर्ष १ अंक १५ (प्रसंगवस ) २०४७ साउन २५ , बिहिवार।*
* " गएको साता सदन सडक दुवै तात्यो । सत्ता र प्रतिपक्षबीच आरोप प्रत्यारोपको जुहारी चल्यो। पंचशैलीमा एकअर्का माथि लागाईएका आरोप कम धारिला थिएनन् । काँग्रेस-कम्युनिष्ट, कुनै कालखण्डको कांग्रसी र गोरखे नबनुन्, यो पनि शुभेक्षा थिँदै थियो ।
७० दिन भित्र काँग्रेसी सरकारलाई गिराइदिने हुङ्कार नेकपा (एमारले)का महासचिव मदनकुमार भण्डारीले बुटवालको आमसभाबाट निकाले । सार्वजनिक भवन, गाडी कति एमारलेका कार्यकर्ताहरुले ध्वस्त बनाइदिए। रत्नपार्कका सडकपेटिका सबै रेलिङ्ग तोडिए। गिरीजाबावुले आफु प्रधानमन्त्री हुँदासाथ एक बर्षसम्मको समय माग्नु भयो, हडताल आदि नगरिदिन हात जोड्नु भयो । कर्मचारीहरुको आन्दोलन गर्ने अल्टिमेटमप्रति उहाँ स्पष्ट लक्षित हुनु हुन्थ्यो । माले-मसाले-मण्डले एकै ड्याङ्गका मूला हुन् भन्न नहिच्किचाउने उहाँको बानीमा सबैले केही सुधार भएको हो कि भन्ने अनुमान गर्न थाले । उहाँले सबैको सहयोगको अपेक्ष राख्नु भयो ।
कर्मचारीहरुले पनि आफ्ना हाकिमको निवेदनलाई सुन्नु पर्थ्यो तर सुनेनन् । आन्दोलनमा उत्रिए। गिरीजा बावुले पनि फेरि एक पटक पुनः नमस्कार गरी विनम्रता देखाउनु पर्थ्यो, तर उहाँले त्यसो गर्न फ्नो प्रतिष्ठामा ठेश लाग्ने सम्झनु भयो । उहाँ टुट्न सुक्नु हुन्छ तर झुक्न जान्नु हुन्न,यो उहाँको स्वभावमा परिवर्तन भएन ।
प्रजातन्त्रको पुनर्बहालीको घोषणा पछि नेपाली काँग्रेस र संयुक्त वाम मोर्चाको संयुक्त आयोजनामा शहीद मञ्चमा भएको आमसभामा - " यो जीत हाम्रो हो, यो जीत पंचको पनि हो । राजाको पनि … " भन्दा कम्युनिष्टहरुले हुटिङ्ग गरे । उहाँले आफ्नो कुरालई पूरा गर्न झण्डै तेह्र महिना प्रतीक्षा गर्नुपर्यो । २०४७ साल जेठ १२ गते नेपाल अधिराज्यको प्रधान मन्त्री भएर संसदलाई सम्वोधन गर्ने अवसरमा आएर मात्र उहाँले पूरा गर्नु भयो - "यो जीत राजाको पनि हो।"
बिचरा कर्मचारीहरु ३० वर्षदेखि धैर्य लिँदै र ठगिँदै आएका । प्रजातन्त्र आएपछि धैर्यको बाँध फुट्यो, आन्दोलनले सबैको आकाँक्षा बढाइदिएकै थियो । उक्साउने खेल पनि थिँदै थियो। पंचायती व्यवस्थामा राष्ट्रिय पंचायत सदस्यहरुले आफ्नो कार्यकालको समाप्ति पछि पेन्सनको व्यवस्था गरेका थिए। गिरिजा बाबुले यो सुविधा हटाइदिए । तर भोलिका दिनमा पंचायती संस्कार र कार्य शैली आत्मासात गर्दै गरेका कांग्रेसी एमारले सांसदहरुले आफ्ना सुविधा र भत्ता बढाउने सन्दर्भमा पक्ष प्रतिपक्ष भुलि एक लयमा ताली नवजाउलान भन्न सकिँदैन । यी कुरा सबैले हेरिरहेका छन्। छोटै समयमा शासन-प्रशासनसँग टिँसिएर बसेको कर्मचारी तन्त्रले यो कमजोरी बुझिसक्यो। बहुदलवादीहरुको लालच र लोभको बोझले सगरमाथा कुप्रो पर्ने छ, त्यसमा आश्चर्य मान्नु पर्ने छैन केवल लाजले हाम्रो शीर निहुरिने छ।
जनमत संग्रह ताकाको कुरा हो तत्कालीन प्रधानमन्त्री सूर्य बहादुर थापाले देशव्यापी रुपमा हेलिकोप्टर टुर लगाएका थिए । यही सिलसिलामा मेरो गृह जिल्ला पर्वतको सदर मुकाम कुश्मा बजारमा पनि उनि उत्रिए । हाम्रा भू.पू. सैनिकहरुलाई केहीलाई सार्वजनिक स्थलमा नै अँगालो हालिदिए र वरिपरिका खुइला डाँडाहरु माथि नजर लगाए, भएको यत्ति हो । तर भोलि पल्टदेखि हामी बहुदलीयाहरुले हाम्रा सहोदर वन्धुहरु जो भू.पू. सैनिक थिए, उनीहरुलाई भेट्न सकेनौं । उनीहरुको टाउकामा बाँधेको पहेलो टालो, निर्दल प्रतिको प्रेम रंग-निशानी नफाटुनज्याल रहिरहयो। हाम्रो अनुनयविनय र बहसको कुनै अर्थ रहेन । व्यक्तिको स्वभावको यत्रो महत्व हुँदो रहेछ, गिरिजा बावुमा अन्तर्निहित हृदयमा नवजात प्रजातन्त्रको लागि र आफ्ना दुःखी निमुखा जनताको लागि जति माया र प्रतिवद्ध भए पनि खस्रो व्यवहार बानीलाई कसले मसिनो भनि अनुभूत गर्ने ? उहाँको मुखबाट शब्द कम निस्कन्छन, निस्के पछि सुन्दा सबैलाई टर्रो लाग्छ।
गिरीजाबाबुले पढिसक्नु भएको पनि हुन सक्तछ । भुलेको भए पनि एमालेका साँसद हिरण्यलाल श्रेष्ठले संसद भित्रै सम्झाई दिनु भयो चीनियाँ महान दार्शनिक कन्फ्युसियसको कुरा। एक पटक एक जिज्ञाशुले कन्फ्युसियससंग "बुढो हुँदासम्म पनि जिब्रो नझर्ने तर दाँत बैंशमा नै पनि झर्ने र भान्च्चिनुको रहस्य के होला ? "
कन्फ्युसियसले पनि आफ्नो जिभ्रो देखाउदै भनेछन -" जिभ्रो नरम र लचिलो भएकोले छदै छ तर दाँत कडा हुँदा पहिले ने झरे, भाँचिए।” हामी जान्दछौ गिरीजाबावु मनमा कुरा लुकाउन जान्नु हुन्न, राजनीतिमा स्टेट फरवार्ड र सोझो भाषामा पेटमा पाप नभएको तर कन्फ्युसियसका दाँत सरह हुनु भयो भने घाटा कसलाई ?"
उपरोक्त नेपालपत्रमा छापिएको मेरो पुरानो टिपोट हेरे पछि मलाई लाग्यो - लगभग बोली नै नझर्ने, कम शब्द भण्डारका धनी गिरिजा बाबुलाई त कति दु:ख झेल्नु परेको थियो बोलीले गर्दा। अहिलेका धुरन्धर पुराणवाचकलाई त्यसै सुताउने, शास्त्रास्त्रमा पछि नपर्ने, हरदम मुखमा छुरा झुन्ड्याई हिँड्ने, खड्गप्रसाद ओलीको बोलीले गर्दा बिचरा कन्फ्युसियसलाई अबका दिनमा कति सम्झनु पर्ने हो। ईति:
लुँखु, माझघर, महाशिला-५ ,पर्वत
cpnsharan@gmail.com